जनता टाइम्स

८ माघ २०७६, बुधबार १८:०३

तथ्यसहित बहशमा अर्थमन्त्री खतिवडा : अर्थतन्त्र सोलिड, सुदृढ, सबल र स्थायी मार्गमा अघि बढेको छ


अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनपछि अर्थतन्त्रको क्षेत्रमा भएको सुधारको बिषयमा तथ्यांक बंग्याउनेहरुलाई कडा जवाफ दिनुभएको छ । अर्थमन्त्री खतिवडाले कृषि विकास बैंकको ५३औं वार्षिकोत्सवका अवसरमा मंगलवार कुप्रचार गर्नेहरुलाई एक एक जवाफ दिनुभएको हो । केही बिचौलिया र माफियाहरुले आफ्नो कडा अडानकै कारण राजस्व छल्न नपाएपछि चलाइरहेको अवफाहलाई नियालीरहनुभएका अर्थमन्त्री खतिवडाले कृषि बिकाश बैंकको बार्षिकोत्सवको मञ्चबाट कडा जवाफ दिनुभयो ।

यस्तो छ अर्थमन्त्री खतिवडाको सम्बोधनको पूर्णपाठ :

आज पश्चिमतर्फ स्टेज फर्काउनुभयो । मलाई अनौठो लागिरहेको थियो । किन भनेर विचार गरेको त स्टेजबाट अगाडि सेतो भवन (सेनाको मुख्यालयभित्रको नवनिर्मित भवन) देखिने रहेछ । यसले पुनर्निर्माणले गति लिएको संकेत गर्छ । भूकम्पपछिको पुनर्निर्माणको ज्वलन्त उदाहरण हो भनेर मलाई देखाउनुभयो भन्ने मैले बुझेको छु । राम्रो बनिसक्यो । त्यसले ‘बिल्ड ब्याक बेटर’ भन्ने हाम्रो अवधारणा सफल भएको सम्झाएको छ । योभन्दा अग्लो धरहराको पुनर्निर्माण पाँच वर्षमै सम्पन्न हुनेछ । दरबार हाइस्कुल पहिलेभन्दा राम्रो बनिसक्यो । रानीपोखरी झनै राम्रो हुने क्रममा छ । यी सबै यहाँबाट पश्चिम छन । त्यसैले यहाँहरूले स्टेजलाई पश्चिम फर्काएको हुनुपर्छ । सायद मलाई प्रगतिको सूचक देखाउँदै हुनुहुन्छ । स्टेज म्यानेज गर्ने साथीहरूलाई धन्यवाद ।

हिजोआज चर्चा गरिन्छ कि विश्व अर्थतन्त्र ओरालो लाग्यो । को कता ओरालो लाग्यो ? कुरा खुब चल्छ । साथीहरूले पनि कलम चलाउनै पर्यो, केही पाना त भर्नैपर्छ । अर्थतन्त्र उकाली–ओराली नै हो, कहिल्यै सजिलो बाटोमा हिँडदैन । सरल बाटो, तेर्सो बाटोमा हिँडदैन । कहिले उकालो लाग्छ, कहिले ओरालो । अनि फेरि उकालो लाग्छ । हाम्रो भुगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ । त्यसो हुनाले अलिकति उकालो चढ्दै स्वाँ.. स्वाँ.. हुने र ओरालो लाग्दै लडिहालिन्छ कि भन्ने डर हुनु आवश्यक छैन । अर्थतन्त्र सोलिड, सुदृढ, सबल र स्थायी मार्गमा अघि बढेको छ ।

बैंक तथा वित्तीय क्षेत्र र अर्थतन्त्रका सबै साथीहरू ढुक्क भएर व्यवसाय गर्नुस । कहिलेकाहीं सरकारले भनेको कुरा तपाईंहरूलाई विश्वास गर्न गाह्रो भयो भने नेपालको अर्थतन्त्रको निगरानी गर्न अन्तर्राष्ट्रिय निकायका प्रतिवेदन हेर्नुस । अन्तर्राष्ट्रिय मुद्रा कोषको हेर्नुस, विश्व बैंकको हेर्नुस । यिनीहरूले स्वतन्त्र रूपले अध्ययन गरी प्रतिवेदन तयार पार्छन । कोषको आर्टिकल आईभीको प्रतिवेदनको प्रतिवेदनमा नेपालको अर्थतन्त्र ‘रिमार्केबल पाथ’मा अघि बढेको उल्लेख गरिएको छ । विश्व बैंक र एसियाली विकास बैंकको इकोनोमिक अपडेटले पनि हामी राम्रो बाटोमा रहेको संकेत गर्छ ।

आर्थिक वृद्धि कुनैबेला २–३ प्रतिशतको बहस हुन्थ्यो, ४ प्रतिशत धेरै हुन्थ्यो । पछिल्लो २० वर्षको औसत आर्थिक वृद्धि पनि ४ प्रतिशत नै हो । अहिलेको बहस ६ कि ८ प्रतिशतको छ । बहसको स्तरै माथि पुगिसक्यो । त्यही बसहको ब्यान्ड नै बढेकाले बुझ्नुहुन्छ कि हामी अर्थतन्त्रको माथिल्लो विन्दुमा उक्लिएको छौं । कुनै बेला मूल्यवृद्धि २२ प्रतिशत हुँदा पनि आकाश छोयो भनिँदैन थियो । अहिले ६ प्रतिशत हुँदा ‘चरम मूल्यवृद्धि’ ‘आकासियो’ जस्ता शब्दावली प्रयोग गरिन्छ । २० वर्षमा नेपालको औसत मूल्यवृद्धिदर भने २० प्रतिशतभन्दा माथि थियो, हेक्का रहोस ।

यसैले हाम्रो बहस योभन्दा राम्रो गर्नुपर्छ भन्ने भएको छ र हामी राम्रै गरिररहेका छौं । राम्रो गर्ने अझै ठाउँ छ । व्यापार घाटा बढेको कथा लामै वर्णन गर्यौं । बढेको छ, बढेको छ । अहिले घट्न थालेको छ । वैदेशिक रोजगारीमा जानेको संख्याले मुलुक रित्तिने भो भन्थे, बुढाहरू मात्र बाँकी हुने भए भन्थे । वृद्धाश्रम मात्रै हुने भो पनि भने । तर, वैदेशिक रोजगारीमा जानेको संख्यामा स्थायित्व आयो । केही समय घट्यो पनि । हामी पनि वैदिशक रोजगारीमा जानेको संख्या असिमित मात्रामा बढाउन चाहन्नौं ।

कहिलेकाहीं सरकारले भनेको कुरा तपाईंहरूलाई विश्वास गर्न गाह्रो भयो भने नेपालको अर्थतन्त्रको निगरानी गर्न अन्तर्राष्ट्रिय निकायका प्रतिवेदन हेर्नुस । अन्तर्राष्ट्रिय मुद्रा कोषको हेर्नुस, विश्व बैंकको हेर्नुस । यिनीहरूले स्वतन्त्र रूपले अध्ययन गरी प्रतिवेदन तयार पार्छन । कोषको आर्टिकल आईभीको प्रतिवेदनको प्रतिवेदनमा नेपालको अर्थतन्त्र ‘रिमार्केबल पाथ’मा अघि बढेको उल्लेख गरिएको छ । विश्व बैंक र एसियाली विकास बैंकको इकोनोमिक अपडेटले पनि हामी राम्रो बाटोमा रहेको संकेत गर्छ

‘रेमिट्यान्स पनि दोब्बर चाहियो, वैदेशिक रोजगारीमा जानेको संख्या पनि घटाऊ ।’

‘व्यापार घाटामा पनि एकदमै कम गर, राजस्व झ्याप्पै बढाइहाल ।’

‘निक्षेपको ब्याजदर भन्दा कर्जाको ब्याजदर सस्तो बनाऊ ।’

यस्ता कुराले हामी कहिल्यै लजिकल टुंगामा पुग्दैनौं । हामी सबैले विवेकजन्य ढंगले अर्थतन्त्रको विश्लेषण गर्नुपर्छ । अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गर्यो भने सकारात्मक बाटोमा अघि बढ्न सकिन्छ । यो किन भन्न चाहेको हो भने बैंकहरूले पनि अर्थतन्त्रलाई अघि बढाउन काम गर्नुपर्छ । व्यवसायी जगतमा विश्वास दिलाउन तथा अनुकूलता सिर्जना तपाईंहरू पनि खर्बौंखर्ब रुपैयाँ लगानी गर्न होस्टेमा हैंसे गर्नाेस ।

नेपालको बैंकिङ प्रणाली दक्षिण एसियामै सुदृढ हो । निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल छ । राम्रोसँग निरीक्षण भएकाले हामीले पत्याएका छौं । त्यो स्वागतयोग्य हो । कहिलेकाँही धेरै राम्रो भयो भने पनि पत्याउन गाह्रो हुन्छ नि ! सोही सन्दर्भमा मैले भनेको हुँ । अहिले १२ अर्बभन्दा कम पुँजी भएको बैंक त पाउनै छाड्यो । कुनै बेला सम्पूर्ण बैंकिङ क्षेत्रको पुँजी जोडदा १२ अर्ब पुग्दैनथ्यो । म सुरुमा नेपाल राष्ट्र बैंकमा काम गर्दा सबै बैंकको अंक जोड्दा पनि १२ अर्ब पुग्दैनथ्यो ।

अब समस्या के भो भने १५ अर्बको बैंकले १५ प्रतिशत नै नाफा गर्दा पनि २ अर्ब नाघ्छ । बैंकको नाफा २ अर्ब नाघ्दा व्यवसायी साथीहरूको आँखा लाग्छ । पुँजी कति छ ? हिसाब नगर्दा ओहो कसरी ! नाफा त पुँजीको आधारमा पो हिसाब गर्नुपर्यो नि । यही प्लाजाको अर्को बैंक (राष्ट्रिय वाणिज्य बैंक) ले ५ अर्बको नाफा गरेको छ । २५ अर्बको पुँजीले २० प्रतिशत त नाफा गरेको हो । यो अस्वभाविक त फेरि होइन । त्यति पनि चाहिँदैन १२–१५ भए पनि चित्त बुझाउनु होला ।

रमाइलो के छ भने प्लाजामा पहिले–पहिले राम्रो काउली फल्थ्यो, अहिले बैंक वित्तीय संस्था पनि राम्रै फल्न फुल्न थालेछन । नभए यहाँका संस्थामा लगानी गर्ने राज्यले धेरै प्रतिफल लिन पाएको थिएन । अहिले बल्ल पाउन थालेको छ । पहिलोचोटि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट सरकारले आफ्नो लगानीको प्रतिफल पाएको छ । खुसीको कुरा हो । सरकारी बैंक निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गर्न थालेका छन । सरकारी बैंकको पनि निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा कम हुँदै छ । पहिले ६० प्रतिशतसम्म थियो ।

कर्मचारी संयन्त्र सुधार भएको छ । प्रविधिमा पहुँच हुन थालेको छ । कर्मचारी युनियनमा दर्ता हुन २५ प्रतिशत कर्मचारीको हस्ताक्षर हुनैपर्थ्यो । तैपनि एउटै बैंकमा ६ वटा युनियन दर्ता हुन्थे । गभर्नर हुँदा हिसाब म बुझ्दिनँ थिएँ । ६ वटै युनियन लाइन लागेर भाषण गर्थे, अर्थमन्त्री, गर्भनरलाई मुखभरी गाली गर्थे । ती दिन पनि गएछन । युनियनका साथीहरूको आजको बोली सुन्दा ती दिन गएको जस्तो लाग्यो । उहाँहरूले आफ्नो कर्तव्यबोध पनि गर्न थाल्नु भएछ । खुसी लाग्यो ।

तपाईंहरूले यसरी नै काम गर्दै जानुभयो भने सरकारी बैंकलाई सरकारले अरू बैंकभन्दा राम्रो गर्छ । अरूलाई भन्दा राम्रो व्यावसायिक वातावरण सरकारी बैंकलाई बनाउँछ । किनभने त्यसको लाभांश लिने त सरकार नै हो नि । त्यसो भएका कारण पनि सरकारको अलि बढी आँखा त्यता जानेछ । ट्रेड युनियनको आफ्नो व्यावसायिकता हुन्छ । आफ्नो र संस्थाको हकहितका लागि काम गर्ने हो । त्योभन्दा बाहिरको कुरा तपाईंहरूको निजी जीवनको हो । राजनीति गर्न पाइन्छ तर संस्था र कर्मचारीकै हकहितमा मात्र सीमित हुने गरी हो । यस विषयमा तपाईंहरू स्पष्ट हुँदै जानुभएको भन्ने मैले बुझेको छु ।

यस्तो पनि बेला थियो र अहिले पनि यही प्लाजामा एउटा संस्था छ, जसमा नयाँ कर्मचारी भर्ना हुनै पाउँदैनन । आउनै दिँदैनन । मुद्दा हाल्दिन्छन । हुँदा–हुँदा संस्था खिइएर कुपोषणको सिकार भएको बच्चा झैं भइसक्यो । नयाँ मान्छे आउन नदिएपछि त्यो संस्थालाई कुपोषण नभएर कसलाई हुन्छ ? त्यसलाई बुढ्यौली नलागेर कसलाई लाग्छ ? संस्थामा हामीले नयाँ प्रवेशी, नयाँ ज्ञान, सीप छिराएनौं भने संस्था के हुन्छ ? ५० प्रतिशत पनि कर्मचारी इन्ट्री लेभलमा हामी प्रवेश गराएनौं भने पछिल्लो चरणमा अनुभव बटुलेका मान्छेलाई कहाँ स्थान दिने ? संस्था कसरी गतिशील हुन्छ ? यसबारे पनि सोचौं । वृत्तिविकासबारे सोच्नुपर्छ । यसले संस्थामा नयाँ सोच र क्षमता विकास हुने कुरालाई अन्डरमाइन गर्नुहुँदैन । मैले यो कुरा भन्न कृषि विकास बैंकको स्टेज प्रयोग गरेको हुँ । सबै सरकारी संस्थानका साथीहरूलाई यो सन्देश छ ।

यस्ता कुराले हामी कहिल्यै लजिकल टुंगामा पुग्दैनौं । हामी सबैले विवेकजन्य ढंगले अर्थतन्त्रको विश्लेषण गर्नुपर्छ । अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गर्यो भने सकारात्मक बाटोमा अघि बढ्न सकिन्छ । यो किन भन्न चाहेको हो भने बैंकहरूले पनि अर्थतन्त्रलाई अघि बढाउन काम गर्नुपर्छ

अब अलिकति साना व्यवसायीको कुरा गरौं । कृषि विकास बैंक कृषि विकासका लागि खुलेको हो । अझ सहकारी प्रणालीलाई अघि बढाउन खुलेको हो, पछि कृषि र साना किसानका लागि छुट्टै एकाइ बनाइयो । हामीले अहिले स्वतन्त्र साना किसान वित्तीय संस्था बनायौं । त्यसमार्फत पनि धेरै कर्जा लगानी भइरहेका छन । कृषि विकास बैंकबाट भिन्न भएर स्वतन्त्र रूपमा चले पनि त्यो कृषि विकास बैंककै उपज हो । त्यसले पनि राम्रै काम गरेको छ । तर, त्यसले राम्रो काम गर्यो भनेर कृषि विकास बैंकले आफ्नो जग, विरासत, स्थापनाकालको उद्देश्यबाट विमुख हुन मिल्दैन । तपाईंहरू अहिले पनि साना किसानकै बैंक हो । म आज बिहानै सुन्दै थिएँ कि बैंकको ८० प्रतिशतभन्दा बढी ग्राहक १० लाखभन्दा कमका छन । म सूचनाको अभावमा भ्रममा रहेछु । मलाई १० लाखभन्दा कमको ऋण नै दिँदैन जस्तो लाग्थ्यो ।

कृषि विकास बैंकले मलाई यस्तो जानकारी दिएको छ, खुसी लाग्यो । यो भन्दै गर्दा लघुवित्तबाट ग्य्राजुएट गरेका र बैंकले नपत्याएका उपभोक्ता छन भन्ने सुनिन्छ । बैंकहरूले पनि हाम्रा ऋणीहरू ‘यति प्रतिशत ऋणी यति रेन्जका छन’ भनेर भनिदिए निकै राम्रो हुने थियो । नेपाललाई उकास्ने साना व्यवसाय नै हो । किनभने कृषि पृथकीकृत छ । हामी चक्लाबन्दी गरी खेती गर्दैनौं । बजार पृथकीकृत छ, जमिन पृथकीकृत छ, उत्पादन पृथकीकृत छ । यातायातको सुविधा छैन । बजारमा सीमितता छ ।

सबै कुराले गर्दा हाम्रो अर्थतन्त्र सानो तथा मझौला नै हो । हामीले यस्ता व्यवसायलाई लक्षित गरी ऋण लगानी गरेनौं भने रोजगार सिर्जना हुन्न । कृषिजन्य घरेलुजन्य व्यवसायको आधुनीकरण कहिले हुन्छ ? उच्च प्रविधिको प्रयोग कहिले हुन्छ ? हामी प्रतिस्पर्धी र सबल अर्थतन्त्र कहिले हुने ? त्यसो हुनाले साना मझौला व्यवसायमै जानेगरी जानुस । कृषिमा पनि उत्पादनदेखि प्रशोधन र बजारीकरणको श्रृंखलामा सहयोग गर्नुहोला । त्यसो गरे हामीले खोजेको आधुनिकीकृत अर्थतन्त्रमा कृषि विकास बैंकले थप भूमिका निर्वाह गर्न सक्छ । यो गर्न सरकारले सबै प्रकारको सहयोग गर्न तयार छ ।