काठमाडौं, माघ १९ । विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाको अध्ययनमा नेपाल प्रहरी निकै माथि उक्लिएको पाइएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले अघि बढाएको योजनाका आधारमा प्रहरी विभिन्न विधामा सन् २०१८ को तुलनामा माथि उक्लिएको प्रतिवेदन सार्वजनिक भएका हुन । आइजीपी खनालको कार्यकालमा नेपाल प्रहरीको अन्तर्राष्ट्रिय छवि पहिलेको भन्दा निकै सुधार आएको ती विवरणको परिणामले खुलाएको हो ।
शान्ति सुरक्षा, कानुनी शासनका सम्बन्धमा अध्ययन, मुल्यांकनका हिसाबमा विश्वका सय भन्दा बढी मुलुकको तुलनामा नेपाल निक्कै माथि उक्लिएको हो । अस्ट्रेलियास्थित ‘इन्सिट्च्युट फर इकोनोमी एन्ड पिस’ ले विश्वको कुल जनसंख्याको ९७ प्रतिशत समेटिने गरी एक सय ६३ वटा मुलुकमा गरेको अध्ययन प्रतिवेदन ‘ग्लोबल पिस इन्डेक्स २०१९’ मा नेपाल प्रहरीको स्थान ७६औं स्थानमा रहेको छ । आईजी खनालले नेतृत्व सम्हालेपछि नेपाल प्रहरी १२ स्थान माथि उक्लिएको हो । २०१८ को प्रतिवेदनमा नेपाल प्रहरी ८८ औं स्थानमा रहेको थियो ।
यस्तै दक्षिण एसियाको हकमा पनि यही प्रतिवेदनका आधारमा नेपाल प्रहरीको कार्यकौशलताका कारण तेस्रो स्थानमा रहेको छ । दक्षिण एसियामा भुटान पहिलो र दोस्रोमा श्रीलंका रहेको छ । संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डिसीस्थित ‘वर्ल्ड जस्टिस प्रोजेक्ट’ले गरेको शोध ‘रुल अफ ल इन्डेक्स २०१९’ मा पनि नेपाल प्रहरीको स्थान सुधार भएको देखिएको छ । ५९ औं स्थानमा रहेको प्रहरी अघिल्लो बर्षको तुलनामा २ स्थान माथि उक्लिएको हो । अघिल्लो अध्ययन प्रतिवेदनमा नेपाल प्रहरी ६१ औं स्थानमा रहेको थियो ।दक्षिण एसीयामा भने नेपाल भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानभन्दा माथि रहेको छ ।
‘हरेक बर्ष हुने यस्ता अध्ययनले नेपाल प्रहरीको कामको नतिजा मापन हुन्छ । यो श्रेय स्वतन्त्र हिसाबले नै प्रहरीको नेतृत्व गर्ने प्रमुखलाई जान्छ,’ गृह मन्त्रालयका एक अधिकारीले जनताटाइम्सँग भने, ‘नेपाल प्रहरी अब्बल छ भन्ने परिणाम हो यो । अझ सुधार गर्न सकिन्छ । तर त्यसका लागि सबल र संगठन चलाउन सक्ने कुशल नेतृत्व चाहिन्छ । आइजीपी खनालले गरेको कामको परिणामले नै यसरी प्रतिवेदनमा सुधार हासिल भएको हो ।
आईजी खनालको नेतृत्वको कार्यकालमा यति मात्र सुधार भएका छैनन् । एसियन डेभलपमेन्ट बैंकले सन २०१९ मा गरेको अध्ययनअनुसार नेपालमा महिला तथा बालबालिकाविरुद्ध हुने अपराधहरूको उजुरी ३६ प्रतिशतले बृद्धि भएको छ । कतिपयले यसलाई अपराध बढ्यो भन्ने होइन, प्रहरीमा जाँदा न्यायको बाटो समात्न सकिन्छ भन्ने आत्मविश्वास बढेको आधारमा व्याख्या गरिएको छ ।
‘नेपाल प्रहरीको कामका कारण ६४ प्रतिशत मानिसहरू निर्धक्क थाना, चौकी जाने गरेका छन् । ६५ प्रतिशत मानिसले प्रहरीको काममा सन्तुष्टि व्यक्त गरेका छन,’ प्रहरी अधिकारीहरू भन्छन् । प्रतिवेदनमा भनिएको छ । यसलाई आइजीपी खनाल कार्यकालको उपलब्धी र प्रहरीमाथि बढेको विश्वासको आधारका रुपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्