जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १०:३१

किन एक्कासी प्रतिकिलो ५० रुपैयाँको गोलभेडा १६० पुग्यो ?


काठमाडौं ।

गोलभेंडाको भाउ ५ वर्ष यताकै सबैभन्दा उच्च भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोलभेंडाको मूल्यका विषयमा अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो देखाएको हो। जनवरीदेखि अप्रिलसम्म गोलभेंडा आयात पनि बढेको छ।

विभागले सन् २०१४ को मार्चदेखि २०१९ को अप्रिलसम्मको बजार अवस्थाबारे गरेको अध्ययनमा ५ वर्षको अवधिमा गोलभेंडाको मूल्य हाल सबैभन्दामाथि पुगेको निष्कर्ष निकालिएको छ। विभागले सरकारी स्वामित्वको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समिति र भन्सार विभागको प्रतिवेदनका आधारमा अध्ययन गरी प्रतिवेदन तयार पारेको छ। प्रतिवेदन विभागका महानिर्देशक योगेन्द्र गौचनलाई बुझाइसकिएको छ। मूल्य वृद्धिको कारण भने खुलाइएको छैन।

विभागका तथ्यांक अधिकृत मोहनकुमार पुडासैनीका अनुसार पछिल्लो ५ वर्षमा कुन समयमा कति माथिसम्म मूल्य पुगेको विषयमा मात्रै अध्ययन गरिएको हो। प्रतिवेदनअनुसार ५ वर्षको अवधिमा तीनपटक गोलभेंडाको मूल्य एक सय रुपैयाँभन्दा माथि पुगेको भेटिन्छ। प्रतिवेदनले असोजदेखि मंसिर १४ सम्ममा गोलभेंडाको मूल्य एक सय रुपैयाँभन्दा माथि पुगेको औंल्याएको छ। ५ वर्षमा चैतदेखि जेठ १ सम्ममा गोलभेंडाको मूल्य प्रतिकिलो ४० देखि ८०को बीचमा रहे पनि यो वर्षको जेठ पहिलो सातादेखि नै मूल्य उच्च विन्दुमा पुगेको अध्ययनमा खटिएका तथ्यांक अधिकृत पुडासैनीले जानकारी दिए।

व्यवसायीले भने मागअनुसार आन्तरिक र बाह्य क्षेत्रबाट आपूर्ति नहुँदा गोलभेंडा महँगिएको जानकारी दिएका छन्। व्यवसायी तथा तरकारी उत्पादक किसानका अनुसार वैशाखको सुरुदेखिनै असिनासहित ठूलो वर्षा भएका कारण तरकारीको बोट नष्ट भइ आन्तरिक उत्पादन कम भएको छ। यहीबेला भारतमा विधानसभाको निर्वाचन भएकाले उताबाट पनि पर्याप्त परिमाणमा गोलभेंडा आयात नहुँदा स्वदेशी बजारमा मूल्य उच्च स्थानमा पुगेको उनीहरूको दाबी छ। गत वर्ष जेठ ५ गते गोलभेंडाको मूल्य ५० रुपैयाँ प्रतिकिलो कालिमाटी बजारमा खुद्रा मूल्य कायम थियो। अहिले कालिमाटी बजारमै खुद्रा मूल्य प्रतिकिलो एक सय ३० रुपैयाँ पुगेको छ। बाहिरी बजारमा यही गोलभेंडा एक सय ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

सन् २०१४ को वर्षभर गोलभेंडाको मूल्य ५० रुपैयाँ थियो भने त्यो वर्षको पहिलो ५ महिनामा ४५ रुपैयाँ प्रतिकिलो थियो। यस्तै सन् २०१५ मा ५७ रुपैयाँ ९४ पैसा मूल्य हुँदा पहिलो ५ महिनामा गोलभेंडको मूल्य साढे ५१ रुपैयाँ हाराहारीमा थियो। यस्तै २०१६ मा वर्षभर ५९ रुपैयाँ मूल्य कायम रहँदा पहिलो ५ महिनाको अवधिमा ५२ रुपैयाँको हाराहारीमा मूल्य कायम थियो। सन् २०१७ को वर्षभरि ५० रुपैयाँ हुँदा पहिलो ५ महिनामा भने ४० रुपैयाँ मूल्य थियो। सन् २०१८ मा ५३ रुपैयाँ ६० पैसा मूल्य कायम रहँदा त्यही वर्षको पहिलो ५ महिनामा ५० को हाराहारीमा मूल्य कायम रहेको थियो। अहिलेको पहिलो ५ महिनाको अवधीमा गोलभेंडाको औसत मूल्य ७३ रुपैयाँ ४२ पैसा रहेको विभागले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वागवानी अनुसन्धान महाशाखाका वैज्ञानिक डा।सुरेन्द्र श्रेष्ठले तराईमा अत्यधिक चर्को तापक्रमका कारण गोलभेंडाको उत्पादन नभएको र उपत्यका वरिपरिका स्थानमा गत फागुनमा असिना पानीले नष्ट गरेको जानकारी दिए। बोटको फूल नै नष्ट हुँदा स्वदेशी उत्पादन बजारमा आउन नपाएको जानकारी दिए। उनका अनुसार टनेलभित्र र टनेलबाहिर बाँचेका बोटबाट जेठको अन्तिम सातादेखि उत्पादन हुने गोलभेंडा बजारमा आउने र मूल्य घट्न सक्ने संकेत दिए। उनले भने, ‘यहीबेला भारतमा निर्वाचन परेको र निर्वाचनका कारण भारतमै उच्च मूल्य पुग्दा मागअनुसार नेपालमा आपूर्ति नहुँदा मूल्य वृद्धि भएको हो।’

आयात बढ्यो अभाव उस्तै

सरकार, किसान, व्यवसायी र कृषि वैज्ञानिकले पछिल्लो समयमा भारतबाट थोरै परिमाणमा गोलभेंडा आयात हुँदा माग र आपूर्तिबीच तालमेल नमिल्दा मूल्य अत्यधिक वृद्धि भएको बताइरहँदा विभागकै प्रतिवेदनले अहिलेको चार महिनामा सबैभन्दा बढी आयात भएको पुष्टि गरेको छ।

विभागको प्रतिवेदनले अनौठो तथ्यांकलाई उजागर गरेको छ। ४ वर्षको तुलनामा यो वर्षको पहिलो ४ महिनामा अत्यधिक परिमाणमा गोलभेंडा आयात भएको तथ्यांकले देखाएको छ। २०१९ को जनवरीदेखि अप्रिलसम्ममा झण्डै ५७ हजार मेट्रिक टन गोलभेंडा आयात भएको छ। यो परिमाण भनेको सन् २०१८ मा वर्षभर आयात भएको गोलभेंडाको परिमाणभन्दा झण्डै ३८ प्रतिशतले बढी अहिलेको चार महिनाको अवधिमै आयात भइसकेको छ।

सन् २०१८ को वर्षभरमा करिब ४२ हजार मेट्रिक टन, सन् २०१७ मा करिब १५ हजार मेट्रिक टन, २०१६ मा साढे २२ हजार, २०१५ मा साढे ११ हजार र सन् २०१४ को वर्षभरमा करिब १८ हजार मेट्रिक टन गोलभेंडा आयात भएको विभागको प्रतिवेदनले उल्लेख गरेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रघुनाथ महतले गोलभेंडा मूल्य नियन्त्रण गर्न सोमबारदेखि बजारमा अनुगमन टोली परिचालन गर्ने जानकारी दिए। उनले आन्तरिक उत्पादनमा जोड नदिइएका कारण आम उपभोक्ताले उच्च मूल्य तिरेर गोलभेंडा उपभोग गर्नुपर्ने अवस्था आएको जानकारी दिए। (अन्नपूर्ण पोष्ट)