जनता टाइम्स

२२ असार २०८२, आईतवार ०९:३८

पिपुल्स पावरको हकप्रद सेयर आजदेखि बिक्रीमा


काठमाडौं, २२ असार । पिपुल्स पावर लिमिटेडले आजदेखि ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ बराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा १०० रुपैयाँ अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो ।

कम्पनीले आफ्नो ऋण भुक्तानीका लागि हकप्रद बिक्री खोलेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

गत असार २ गते एकदिनका लागि कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनाका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार १ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस हकप्रदका लागि आवेदन दिने अन्तिम मिति साउन ११ गते निर्धारण गरिएको छ ।