सम्पादकज्यू, तपाईको अनलाइनमा नेपाल रेडक्रस सोसाइटीको बदमासीबारे यथार्थपरक समाचारहरु पढदै आएको छु । त्यसैले यो पत्र लेखेको छु । नेपाल रेडक्रसभित्र भइरहेको बदमासी र कोरोना महामारीमा समेत रेडक्रस मौन जस्तै बसेपछि केही तथ्यसहित आम रेडक्रसकर्मीलाई जानकारी दिन र आम नागरिकलाई सुसुचत गराउन तयार पारिएको पत्र प्रकाशन गरिदिनु हुनेछ भन्ने बिश्वास छ ।
नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय स्तरको ठुलो संजाल भएको मानवीय संस्था हो । यसका ७७ वटै जिल्लामा शाखाहरु छन् । प्रत्येक जिल्लामा कम्तिमा ११ देखि ४० वटासम्म उपशाखाहरु रहेका छन । विभिन्न विषयमा तालिम प्राप्त स्वयंसेवकहरु पनि छन । यिनै शाखा उपशाखाको माध्यमबाट रेडक्रसले आफ्ना स्वयंसेवकहरु परिचालन गर्दछ । आपत, विपतको समयमा मानवीय सहायताको काम गर्दछ । सरकारको भरपर्दाे सहयोगीको रुपमा आफ्ना कामहरु गर्दछ । तर विडम्वना विगत एक दशकदेखि एउटा स्वार्थी समुहको कमाइ खाने भाँडो बनेको छ नेपाल रेडक्रस । जसको कारण रेडक्रसको अन्तराष्ट्रियदेखि राष्ट्रिय छवि समेत विग्रिएको छ ।
रेडक्रसको सन्दर्भमा विगत वर्षदेखि श्रंखलाबद्ध रुपमा संस्थामा भएको भ्रष्टाचार, अनियमितता, नातावाद, क्रिपावाद तथा चरम राजनितिकरणको सन्दर्भमा सवै मिडियाले उजागर गर्दै आएका छन । संस्थामा भएका गतिविधिहरुको सन्दर्भमा रेडक्रसको अन्तराष्टिय समिति आइएफआरसीदेखि लिएर सरकारका आधिकारिक निकाय अख्तियार, समाज कल्याण परिषद साथै जिल्ला प्रशासन कार्यालय समेतले छानविन गरिरहेका छन भने केही छानविनबाट संस्थाका पदाधिकारीसहित कार्यकारी निर्देशकलाई समेत कार्वाहीको सिफारिस गरिएको छ ।
संस्था कमजोर हुनु र एकपछि अर्को विवादमा पर्दै जानुमा अध्यक्ष संजीव थापा तथा पदाधिकारीहरु मात्र नभएर संस्थाका कार्यकारी निर्देशक उमेश ढकाल पनि एक रहेको रेडक्रसकै सदस्यहरु बताउँछन । कार्यकारी निर्देशक ढकालले थापालाई घुमाई घुमाई आफ्नो स्वार्थ पुर्ती गरिरहेका उनीहरुको भनाई छ । ती सदस्यका अनुसार भूकम्प प्रतिकार्य कार्यक्रम सकिएपछि ढकालले संस्थाको कार्यकारी निर्देशकको रुपमा हाजिर गर्नुभयो । त्यसपछि फेरी तीन महिना विदा लिएर अफगानिस्तानमा आइएफआरसिको प्रतिनिधिको रुपमा काम गर्न जानुभयो । त्यहीबाट अन्य देश जाने प्रयास गरेपनि उहाँ सफल हुनुभएन । जस्को कारण चार महिनापछि पुनः नेपाल आएर कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभयो । अहिले उहाँको दिनचर्या संस्था बनाउने र संस्थागत काम गर्ने भन्दा पनि कसरी कोभिड १९ को सोसाइटि वाट सञ्चालन हुने कार्यक्रमको कार्यक्रम प्रमुख भएर मोटो रकम तलवबापत खाने भन्नेमा केन्द्रित रहेको संस्थाका एक कर्मचारी बताउँछन ।
रेडक्रसको भ्रष्ट्राचार र अनियमितताको पर्दाफास हुँदै गएपछि भूकम्प प्रतिकार्य कार्यक्रम संचालन अन्त्यतिर आउदा केही दाताहरु व्रिटिस रेडक्रस, जापानिज रेडक्रसलगायतले भ्रष्ट्राचार रोक्ने प्रयास प्राविधिक रुपमा गरे । हाल कोरोना (कोभिड १९) को महामारी छ । यसको रोकथाम, नियन्त्रण तथा जनचेतना जगाउनको लागि रेडक्रसबाट प्रशस्तै काम गर्न सकिन्छ । तर अहिले रेडक्रस सुतेर बसेको छ । रेडक्रसमा राम्रो कामको छवि बनाएका नेपाल रेडक्रस सोसाइटी मोरगंका पूर्वसभापती मनोज उपाध्याय भन्नुहुन्छ, ‘हामीले बुझेको रेडक्रस र अहिलेको रेडक्रस फरक रहेछ । हाम्रो पालामा स्वयंसेवी भावनाका साथ आपत विपतमा धेरै काम हुन्थ्यो, तर अहिले हुनै छोडेछ । अहिले रकम नभई काम हुनै छोडेछ । दाताले रकम सहयोग गर्दा मात्र स्वयंसेवा हुन थालेछ । रेडक्रस स्वयंले केही कार्ययोजना वनाएर काम गर्न छोडेछन । त्यसैले लाग्छ रेडक्रस केन्द्रदेखि जिल्लासम्म गैर स्वयंसेवीहरुको प्रवेश भएछ ।’
अन्तराष्ट्रिय समाचारहरु हेर्दा संम्वन्धित देशका रेडक्रसले केही न केही गरेको देखिन्छ । नेपालमा रेडक्रसको गतिविधि केही देखिदैन । जिल्ला सभापतिहरुको भनाईले पनि यस्को पुष्टि गर्छ । झापा जिल्ला सभापति लोकराज ढकाल भन्नुहुन्छ, ‘हामीले जिल्लास्तरमा सकेको समन्वय गरेको छौं, राम्रो गर्ने कोशिस गरेको छौं, रेडक्रस एक्लैले गर्ने केही छैन, सरकारी तथा गैरसरकारी तालमेल राम्रो छ तसर्थ हाम्रो रेडक्रसको यो महामारीमा गर्नु पर्ने सहयोग र योगदानमा कमी छैन । हाम्रो सबै ठाँउमा उपस्थिति रहेको छ ।
धनकुटाका सभापति हरि राई र सिन्धुलिका सभापती अशोक श्रेष्ठ पनि उहाँकै जस्तो धारणा राख्नुहुन्छ । यता केन्द्रीय कार्यालयको गतिविधि देखिने खालको केही छैन । अन्तराष्ट्रिय महासँध आइएफआरसिले केही रकम सहयोग गरेको छ स्वयंसेवक परिचालनको लागि । तर रेडक्रसमा हुनुपर्ने खरीदको कामको लागि एक रुपैया समेत दिएको छैन । नेरेसो, स्वास्थ्य सेवा विभागका एक कर्मचारी भन्छन, ‘एउटा सेनिटाइज सम्म खरीद गर्न नदिनु र नपत्याउनु भनेको संस्थाको नेतृत्व अध्यक्ष लगायतका पदाधिकारी मात्र नभएर कमचारी नेतृत्वप्रतिको पनि चरम अविश्वास हो । तर जति जे गरे पनि आफ्नो स्वविवेकीय व्याख्या गर्ने स्वाइच्छाचारी नेतृत्व रहुन्जेल संस्थाले दुःख मात्र पाउने रहेछ ।’
स्मरण रहोस नेपाल रेडक्रसको भष्ट्राचार र अनियमितताको छानविनको लागि अन्तराष्ट्रिय महासँध आइएफआरसिले दुई वटा समिति, नेपालमा समाज कल्याण परिषदले तीन वटा अनुगमन समिति बनाएर छानविन गरेको छ भने दाताहरुले आफ्ना कार्यक्रमहरु घटाएका छन । पर्ख र हेरको स्थितिमा दाताहरु रहेको भन्दै रेडक्रसका पूर्वनिर्देशक ऋषिरमन खनाल भन्नुहुन्छ, ‘जस्तो रवैया संस्थामा देखिएको छ, वेलैमा समाधान नभए संस्थाको भविष्य सैकटमा पर्नेछ ।’
– रेडक्रसका एक अनुयायी
प्रतिक्रिया दिनुहोस्