जनता टाइम्स

१ बैशाख २०७७, सोमबार १९:३३

कोरोना संक्रमण रोक्न यस्ता छन स्वास्थ्यमन्त्रीका ६ सुत्र


शरद शर्मा, काठमाडौं  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छ वटा रणनीति सार्वजनिक गर्नुभएको छ । नयाँ वर्षको अवसरमा दिनुभएको शुभकामना सन्देशमार्फत स्वास्थ्यमन्त्री ढकालले छ ‘टी’को सूत्रबाट बन्ने आफ्नो रणनीति सार्वजनिक गर्नुभएको हो । यसअनुसार ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, ट्रेसिङ ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति रहेका छन् ।

उहाँले सारेको पहिलो रणनीतिमा ट्राभल रेष्ट्रिक्शन रहेको छ । उहाँका अनुसार उक्त रणनीतिका अनुसार यसका लागि आवतजावत बन्द गर्ने नै हो । यसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन । चैत ११ गतेदेखि गरिएको लकडाउन एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस भन्नाका लागि गरिएको उहाँले स्पष्ट पार्नुभयो । “हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि साबित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई सङ्क्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु”, स्वास्थ्यमन्त्री ढकालले भन्नुभयो ।

यसैगरी मन्त्री ढकालले सार्वजनिक गर्नुभएको दोस्रो टेष्टिङ रणनीति हो । यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि आवश्यकताअनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा आधारमा आफूहरुले कार्यविधि बनाई व्यवस्थित गरेको जानकारी गराउनुभयो । उहाँले मन्त्रालयको हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरैभन्दा धेरै व्यक्तिलाई सो दायरामा ल्याई परीक्षण गर्नु रहेको बताउनुभयो ।

तेस्रो रणनीतिमा टे«सिङ रहेको छ । ट्रेसिङमा संक्रमित व्यक्तिका परिवार नजीकका व्यक्तिहरु जोसँग ती सङ्क्रमित नजीकको सम्पर्कमा आएका व्यक्तिलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । मन्त्री ढकालले धेरैजसो सङ्क्रमितहरुको ट्रेसिङ कार्य पूरा गरिसकेका भन्दै पछिल्लो समयमा पहिचान भएका सङ्क्रमितको ट्रेसिङ कार्य भइरहेको जानकारी दिनुभयो ।

यसैगरी मन्त्रीले सार्वजनिक गर्नुभएको चौथो रणनीति ट्र्याकिङ हो । यसमा सम्भावित संक्रमित र सङ्क्रमित व्यक्तिको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत भएमा सो कुराको यकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्र्याकिङ कार्य हो । उहाँका अनुसार यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेबसाइटमार्फत ट्याकिङ कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे/नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । मन्त्री ढकालले यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको तथा स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु तथा सुरक्षाकर्मीहरु खटिएका छन् ।

यसैगरी मन्त्री ढकालले पाँचौं रणनीतिमा ट्रिटमेन्टलाई लिनुभएको छ । यसअनुसार संक्रमित १४ जनाको उपचार भइरहेको छ । उहाँले सम्भावित संक्रमणको संख्या आङ्कलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन मन्त्रालयले आफ्नो रणनीति तय गरेको जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको उपचारका लागि काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पताललाई तोकिएको भन्दै कोरोना सङ्क्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निःशुल्क गर्ने प्रबन्ध गरिएको बताउनुभयो । “कोरोना सङ्क्रमणबाहेकका आकस्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामी थप समस्यामा नपरून् र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेका छौं,” मन्त्री ढकालले भन्नुभयो ।

स्वास्थ्यमन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न अन्तिम रणनीतिका रुपमा टुगेदरलाई लिनुभएको छ । कोरोना सङ्क्रमणको यो सम्भावित महामारी रोक्न मन्त्रालय मात्र होइन, सिङ्गो देश नै लागिपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति, जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । उहाँले कोभिड–१९ को थप सङ्क्रमणबाट मुलुकलाई मुक्त राख्न सबैको सहकार्यले सफलता प्राप्त हुने बताउनुभयो । सङ्क्रमणको विकासक्रमसँगै यसलाई रोकथाम र नियन्त्रण गर्न आफूले पनि रणनीतिलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिनुभयो ।

सन्देशमा उहाँले सामानहरु प्राप्तिका लागि र रोगबाट बच्नका लागि विश्वस्तरमा राष्ट्रहरुले गर्दै आएका प्रयत्नलाई आफूले नजीकबाट नियालिरहेको भन्दै देशमा आफूसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेको बताउनुभयो । यस चुनौतीको सामना हामी सबै एकजुट भई काम गरेरमात्र सम्भव छ रहेको उल्लेख गर्दै भन्नुभयो, “देशलाई महामारीबाट बचाऊँ । बाँकी बहस पछि गरौँला । महामारीको यो लडाइँमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ ।”

उहाँले कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा अग्रमोर्चामा नेतृत्व गरिरहनुभएका चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति गराउनु राज्यको पहिलो प्राथमिकता रहेकाले चिकित्सक र स्वास्थ्यकर्मीका बारेमा अत्यन्त सचेत रहेको बताउनुभयो । उहाँले उपचारका क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामग्री यथेष्ट मात्रामा पुर्याउन लागिपरेको उल्लेख गर्नभयो ।

नागरिकले आफ्नो पूरै जीवनकालमा देशलाई गर्ने योगदान भनेको अहिले घरभित्र क्वारेन्टाइनमा रहेर सहयोग गर्नु भएकाले यसलाई पालना गर्न आग्रह गर्नुभयो । “तपाईं हाम्रो यो सहयोगले सिङ्गो देशलाई कोरोना सङ्क्रमणको महामारीबाट बचाउन मद्दत पुग्छ । आजको परिस्थिति मानव जातिको रक्षाका लागि योगदान गर्ने अवस्था हो”, उहाँले भन्नुभएको छ, “यस्तो कठिन एवं असाधारण परिस्थितिमा राज्यले अवलम्बन गरेको लकडाउन र अन्य व्यवस्थालाई आत्मसात् गरी तपाईंहरुले गर्नुभएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दछु ।”