जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार १३:२१

मानव समाजको लागि अभिष्ट हुनसक्छ चीन–अमेरिका कटुता, भारतले खेल्नुपर्छ मध्यस्थताको भुमिका


चीन र अमेरिकाको कटुता मानव समाजको लागि अभिष्ट हुन सक्दछ । संसार द्विपक्षीय सम्बन्धबाट बहुपक्षीय सम्बन्धतर्फ बढी सक्रिय भइरहेको छ । समग्रमा कोरोनाको सन्त्रासबाट बच्न भारत, चीन र अमेरिकाको सहकार्य र सहयात्राको टड्कारो आवश्यकता छ 

विपिन देव

भू–मण्डलीकरण्को प्रभावबाट कुटनीति र अर्थनीतिमा सबभन्दा बढी देखिन्छ । भू–मण्डलीकरणले सबभन्दा मानवको अन्तर–सम्बन्धलाई प्रभावित गरेको छ । भ–मण्डलीकरणको गर्भबाट नै खुला अर्थव्यवस्थाको जन्म भएको हो । खुला अर्थव्यवस्था पूँजीवादको नै सन्तान हो । तर पूँजीवादबाट उत्पति भएका उदार र खुला अर्थव्यवस्थाको पालनपोषण साम्यवादबाट नै भएको छ । अर्थात असीको दशकमा चीनले खुला–अर्थव्यवस्थालाई अवलम्बन गरेर विश्व बजारमा आफ्नो पहुँच बढाएर आर्थिक महाशक्ति बन्न सफल भएको कुरा पुष्टि भइसकेको छ । सन् १९५० मा चीनको जी.डी.पी. संसारको जी.डी.पी को २.५ प्रतिशत मात्र थियो । सन् १९८० ताका भारत र चीनको प्रतिव्यक्ति आय एकनासको नै थियो । साम्यवाद र पूँजीवाद वास्तवमा खुला अर्थव्यवस्थालाई मलजल नै गर्यो ।

मानव जीवनलाई यान्त्रिकीकरण गर्न खुला अर्थव्यवस्थाले वातावरण निर्माण गर्यो । तदनुरूप मानव समाज पूर्णरुपमा भौतिकवादी संस्कृति र संस्कार अनुरुप आफ्नो स्वभाव र आचरणलाई परिमार्जित गर्दै विलास र लोलुपताको शिकार बन्यो । अर्को शब्दमा भन्ने हो भने जसरी एउटा पर्खालको इँट झिक्दा त्यो पर्खालको अर्को इँटलाई कुनै पीडा हुँदैन, त्यस्तै एउटा मानवको पीडाले अरु मानवलाई मर्माहित गर्दैन । समग्रमा के भन्न सकिन्छ भने भौतिकवादी संस्कृतिले मानवलाई वस्तुमा रुपान्तरित गर्यो । कोरोनाले भू–मण्डलीकरणको हावालाई प्रयोग गर्दै सम्पूर्ण मानव जातिलाई प्रभावित गरेको छ । कोरोनाले विश्व भू–राजनीतिलाई सबभन्दा बढी प्रभावित गरेको देखिन्छ । यही परिवेशमा भारत–चीन र अमेरिकाको अन्तर सम्बन्ध र कुटनीतिलाई विश्लेषण गर्दा वर्तमान भू–राजनीति बुझ्न सहज हुन सक्छ ।

कोरोनाबाट वर्तमान परिवेशमा संसारको सबभन्दा बढी सुविधा सम्पन्न मुलुक अमेरिका बढी आक्रान्त देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिँदै आफ्नो आक्रोश पोखेका छन । चीनप्रतिको नकारात्मक दृष्टिकोण अमेरिकी मानसिकतामा रहेको कुरा विभिन्न अध्ययनले पुष्टि गर्दछ । रिपब्लिकन र डेमोक्रयाट दुई वटै मुर्धन्य अमेरिकी राजनैतिक दलहरुले आफ्नो राजनैतिक दस्तावेजमा नै चीनप्रतिको नकारात्मकतालाई सार्वजनिक गर्दै आएको देखिन्छ । अमेरिकी जनमानसको भावनालाई पुजिकृत आगामी राष्ट्रपतीय चुनावमा गर्नको निमित्त अमेरिकी राष्ट्रपति ट्रम्पले चीनप्रतिको कटुतालाई ध्वनित गरेर आफ्नो राजनीतिक अस्त्र प्रयोग गरेको कुरालाई इन्कार गर्न सकिदैन । यस सन्दर्भमा सिंगापुरका लियक्याउन विश्वविद्यालयका प्राध्यापक किशोर मेह्बुबानीले चीन र अमेरिकाको सम्बन्धलाई बडो गहनताका साथ विश्लेषण गरेका छन् ।

आफ्ना कालजयी कृति ‘हाजचाइना बन’ –के चीन विजित भएको छ ?) र ‘हाज वेस्ट लोस्ट –के पश्चिम पराजित भएको छ ?) भन्ने पुस्तकहरुको माध्यमबाट चीन र अमेरिकाको कटुतालाई सुक्ष्म विश्लेषण गरेको छ । हेनरी किसिनजरको भनाइलाई उधृृत गर्दै मेह्बुबानीले प्रष्ट भनेका छन कि अमेरिकाले चीनलाई प्रधान शत्रुको रुपमा चित्रित गर्नु अमेरिकी नीतिको कमजोरी हो । चीनसँग सहकार्य गर्नु नै अमेरिकाको हितमा हुन्छ भने मेह्बुबानीको बुझाइ रहेको छ । मेह्बुबानी आफ्नो तर्कलाई पुष्टि गर्न आफ्नो कृतिमा अमेरिकी चिन्तक र रणनीतिकार जर्ज क्याननको भनाइलाई पनि उधृत गरेका छन । जर्ज क्याननले अमेरिका र सोभियत संघको कटुताको बेला अमेरिकालाई आफ्नो सहयोगी, गठबन्धन र सहयात्री राष्ट्रहरुको संख्या बढाउन उनले सुझाव दिएकाथिए । यही परिदृश्यमा किशोर मेह्बुबानीले के भनेका छन् कि चीन र सोभियत संघमा तात्विक अन्तर छ । सोभियत संघ आफ्नो विचारधारा (कम्युनिष्ट सिद्धान्त) संसारमा बढाउन उद्वेलित थिए भने चीनले आफ्ना उत्पादन र पूँजीलाई बढाउन मात्र उत्प्रेरित छ ।

चीनलाई आफ्नो विचारसँग कुनै सम्बन्ध छैन । अर्थात चीनको दवदवालाई प्रतिकार गर्न अमेरिकाले आफ्ना सहयोगीसँग निकटता बढाएर बजारको माध्यमबाट नै चिनिया प्रभावलाई सन्तुलन गर्नुपर्दछ । अमेरिकी सामरिक र कुटनीतिमाथि कटाक्ष गर्दै मेह्बुबानीले अमेरिकालाई सुझाव दिदैँ के भनेका छन् कि अमेरिकाले आफ्नो प्रभाव बढाउन तुरुन्तै आफुले नाकाबन्दी र आर्थिक कारोबार गरेका मुलुकहरुसँग सुमधुर सम्बन्ध अगाडी बढाउँदै बजारमैत्री सम्बन्ध बढाउनु पर्दछ । कोरोनाको सन्त्रासको बेलामा अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई उपलब्ध गराइरहेको धनराशीमा कटौती गर्नु अमेरिकी नीतिको कमजोरी हो । हाल सम्ममा पनि विश्व स्वास्थ्य संगठनको १४ प्रतिशत आर्थिक भार अमेरिकाले बहन गरेको छ । अमेरिकाको सक्रियताबिना कुनै पनि अन्तर्राष्ट्रिय संघ–संस्थाहरु आफ्नो कार्यक्षमता बढाउन सक्दैन । अमेरिका र चीनको सहकार्यले नै इबोला र सार्स जस्ता महामारीबाट मानव समाज मुक्ति पाएको कुरा इतिहासले पुष्टि गरेको अवस्थामा चीन र अमेरिकाको शत्रुताको मुल्य सम्पूर्ण मानव जातिलाई नै चुकाउनु परिरहेको छ ।

चीनले कोरोनालाई अवसरको रुपमा लिँदै विश्व बजारमा आफ्नो पहुँचलाई अभिवृद्धि गरिरहेको छ । चीनको गोपनीयता, चिनियाँ कम्युनिष्ट पार्टीको शासकीय स्वरूप, चिनियाँ ग्लोबल टाइम्स र चिनियाँ समाज सम्प्रेषणको कमजोरीले गर्दा नै कोरोनाको पराकम्पन दिनप्रतिदिन फैलिरहेको कुरा जगजाहेर भइसकेको छ । चीन र भारतको कटुताको बीच भारतको नीति पनि विश्व कुटनीतिमा चर्चा गर्न लायक भएको छ ।

चीनलाई आफ्नो विचारसँग कुनै सम्बन्ध छैन । अर्थात चीनको दवदवालाई प्रतिकार गर्न अमेरिकाले आफ्ना सहयोगीसँग निकटता बढाएर बजारको माध्यमबाट नै चिनिया प्रभावलाई सन्तुलन गर्नुपर्दछ । अमेरिकी सामरिक र कुटनीतिमाथि कटाक्ष गर्दै मेह्बुबानीले अमेरिकालाई सुझाव दिदैँ के भनेका छन् कि अमेरिकाले आफ्नो प्रभाव बढाउन तुरुन्तै आफुले नाकाबन्दी र आर्थिक कारोबार गरेका मुलुकहरुसँग सुमधुर सम्बन्ध अगाडी बढाउँदै बजारमैत्री सम्बन्ध बढाउनु पर्दछ

भारतका प्रधानमन्त्री बी.जे.पी. को चुनावी दस्तावेजको आधारमा शासकीय बागडोर सम्हालेका छन् । बी.जे.पी. को दस्तावेज साम्यवाद र पूँजीवादबाट पृथक छन् । बी.जे.पी. को दस्तावेज ‘एकात्मक मानववाद’ हो । एकात्मक मानववाद साम्यवाद र पूँजीवादको प्रस्तावनालाई खारेज गर्दै मानवलाई नारायणको रुपमा वर्णित गर्दछ । साम्यवाद र पूँजीवादले मानवलाई भौतिक प्राणीको रुपमा रुपमा व्याख्या गर्दछ भने एकात्मक मानववादले मानवलाई अध्यात्मवादी प्राणी भनेर जिकिर गर्दछ । तदनुरूप कोरोनासँग संग्राम गर्न भारतले सार्क हुँदै, जी–ट्वेन्टी हुँदै इण्डोप्यासिफिक क्षेत्रमा पनि आफ्नो सहयोगलाई बढाएको छ । अर्थात ‘नाइवर हुड’ ‘एक्सटेन्डेड नाइवर हुड’ हुँदै भारतको प्रमुख जिम्मेवारी चीन र अमेरिकाको बीच सहजता स्थापना गराउनु हो । वर्तमान अवस्थमा भारतले कोरोनाको औषधी निर्यात गर्नमा अग्रणी भूमिका खेलेको छ ।

स्वास्थ्य कुटनीतिको माध्यमबाट विश्वका ३० वटा मुलुकहरुमा औषधी निर्यात गरेर आफ्नो सामथ्र्यलाई परिचय दिएको छ । भारत हरेक कुटनीति मञ्चमा सक्रिय रहेको छ । सार्क, जी–ट्वेन्टी, ब्रिक्स, इस्लामिक संगठनलगायत विभिन्न अन्तर्राष्ट्रिय गठबन्धनहरुमा भारत सक्रिय रहेको अवस्थामा चीन र अमेरिकाको बीचमा सेतु बनेर वर्तमान समस्याको समाधान र निराकरणको लागि कुटनीति परिचालन गर्नु भारतीय कुटनीतिबाट मानव समुदायको अपेक्षा रहेको छ । चीन र अमेरिकाको कटुता मानव समाजको लागि अभिष्ट हुन सक्दछ । संसार द्विपक्षीय सम्बन्धबाट बहुपक्षीय सम्बन्धतर्फ बढी सक्रिय भइरहेको छ । समग्रमा कोरोनाको सन्त्रासबाट बच्न भारत, चीन र अमेरिकाको सहकार्य र सहयात्राको टड्कारो आवश्यकता छ ।