जनता टाइम्स

२९ बैशाख २०७७, सोमबार १२:५१

पृथ्वीबाट सबैभन्दा नजिकै ब्लाक होल भेटियो, अन्धकार क्षेत्रमा रहेकाले खोज्न कठिन


काठमाडौं, बैशाख २९

खगोलशास्त्रीहरूले पृथ्वीसँग सबैभन्दा नजिक रहेको एउटा सम्भावित ब्ल्याक होल (कृष्णविवर) पत्ता लगाएका छन् । त्यो झन्डै १,००० प्रकाशवर्ष टाढा ‘टेलिस्कोपीअम’ नामक नक्षत्रमण्डलमा छ । अर्थात् पृथ्वीबाट झन्डै ९,५०० खर्ब किलोमिटर पर रहेको छ ।

हामीलाई यो दूरी एकदमै धेरै हो जस्तो लाग्न सक्छ । तर ब्रह्माण्डको विशालतामा त्यो ठाउँ पल्लो घरजस्तै हो । दुइटा तारासँग गरेको अन्तर्क्रियाको शैलीका आधारमा उक्त ब्ल्याक होल पत्ता लागेको हो । ती तारामध्ये एउटाले ब्ल्याक होलको परिक्रमा गर्छ भने अर्कोले भित्री भागको ।

प्रायः ग्यास र धूलोको मण्डलसँग हुने बलशाली अन्तर्क्रियाका आधारमा ब्ल्याक होल पत्ता लगाइन्छ । तिनले त्यस्ता पदार्थ छर्दा ठूलो परिमाणमा एक्स–रे उत्सर्जित हुन्छ । उच्च मात्रामा ऊर्जा हुने त्यस्तो सङ्केतलाई दूरबिनले पत्ता लगाउँछ, सोझै ब्ल्याक होललाई हैन ।

कसरी पत्ता लाग्यो ?

तसर्थ यो अस्वाभाविक उपलब्धि हो । संयुक्त रूपमा एचआर ६८१९ (HR 6819) भनिने ताराहरूको चालले उक्त ब्ल्याक होल पत्ता लगाउन सम्भव भएको हो । ‘तपाईँ यसलाई डार्क ब्ल्याक होल भन्न सक्नुहुन्छ । यो वास्तवमै कालो छ’, जर्मनीस्थित युरोपियन सदर्न अब्जर्भेटरी (ईएसओ) सँग सम्बद्ध खगोलविद् डीट्रिश बाडेले भने ।

‘हामीलाई यो तरिकाले ब्ल्याक होल पत्ता लगाइएको यो पहिलो चोटि हो जस्तो लाग्छ । त्यति मात्र हैन – यो सबैभन्दा नजिकै पत्ता लागेको ब्ल्याक होल पनि हो’, उनले बीबीसी न्यूजलाई बताए । अझ चाखलाग्दो कुरा के हो भने HR 6819 नाङ्गो आँखाले हेर्दा पनि देखिन सक्छ । दूरबिन वा अन्य कुनै उपकरण आवश्यक पर्दैन । तर त्यसका लागि दक्षिणी आकाश देखिनुपर्छ ।

यद्यपि उक्त तारामण्डल सूर्यभन्दा पछाडिबाट आउने भएकाले अहिले त्यो हेर्न त्यति सहज छैन । वैज्ञानिकहरूले HR 6819 को अध्ययन धेरै वर्षअघि थालेका थिए । तर विविध कारणले पूरा हुन सकेको थिएन ।

कति ब्ल्याक होल छन् ?

चिलीस्थित एउटा वेधशालामा भएको २.२ मिटर लामो दूरबिन प्रयोग गरी भएका अध्ययनहरूमा देखिने दुइटामध्ये भित्री ताराले कुनै अदृश्य वस्तुलाई प्रत्येक ४० दिनमा परिक्रमा गरेको पत्ता लागेको थियो । ब्ल्याक होल भएको मानिएको उक्त खगोलीय पिण्डको द्रव्यमान हाम्रो सूर्यको चारगुनाजति हुनसक्छ ।

‘मिल्की वे’ भनिने हाम्रो आकाशगङ्गामा खगोलशास्त्रीहरूले दुई दर्जनवटा ब्ल्याक होल पत्ता लगाएका छन् । तर तथ्याङ्कशास्त्रका आधारमा विचार गर्दा अनगिन्ती ब्ल्याक होल भएको अनुमान छ । आकाशगङ्गामा झन्डै १० करोडवटा ब्ल्याक होल छन् भन्ने अनुमान छ। त्यसैले अरू केही योभन्दा (पृथ्वीको) नजिक हुनसक्छन्, ईएसओमा अनुसन्धान गरिरहेकी मारिएन हेइडाले भनिन् । (बिबिसी)