जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार १५:५४

सरकारको नियम पालना गरौं कि सहकारी संस्थाको ?


लकडाउन डायरी

लकडाउनको समय कही जानु हुँदैन । वाहिर त झन जानु नै भएन । त्यसैले जमुना घरमै छिन्, लकडाउनको पालना गर्दै । विहानको समय थियो । करिब ९ बजे जमुनाको मोबाइलको घन्टी बज्यो । यसो मोबाइल हातमा लिएर हेरी उनले । ल्याण्डलाइनको नम्बर थियो । कसको होला भनी मनमनै सोच्दै थिईन उनी । फोन उठाईन । फोनमा जम्मा केही सेकेन्ड कुराकानी भयो । फोन राखिसकेपछि जमुना एकदम निराश भइन् । निराश हुनुको कारण के थियो भन्दा, उनलाई कुनै साथीको वा नातेदारको फोन आएको थिएन । उसले यही वर्ष घर बनाउनको लागि लिएको लोनको बिषयमा सहकारीबाट आएको फोन थियो । त्यसको व्याज तिर्न आउनुस भनेर सहकारी संस्थाबाट कल आएको रहेछ । लकडाउनको समय, आमाबुबासहितल पाँचै जनाको घरको सबै परिवारका सदस्यहरु बेरोजगार । कमाउने एकमात्र थिइन जमुना । उनी काठमाडौंमा काम गर्थिन । लकडाउन भएदेखि कहीँबाट कुनै आम्दानी छैन । अलिअलि भएको पैसा खाद्यान्न किनेर सकियो । दैनिक गुजारा चलाउनै धौधौ । दैनिक गुजारा चलाउनै कहीकतैबाट राहत मिले हुन्थ्यो भने आशा ।

खेतमा कमाएर खाउँ भन्नलाई खेत पनि छैन । भएको एउटा जग्गामा घर बनाउन सुरु गरेको थियो । दशा नै लागे छ नि । बाउबाजेले दिएको सम्पत्ति बेचेर घर बनाउन सुरु गरेको भए एउटा कुरा । त्यही नभएकै कारणले २०७२ सालको भूकम्पले भत्काएको घरमा बस्न नै बाध्य थिए । अहिले समयसमयमा धेरै भूकम्पले धक्का दिन थालेपछि आट गरेकी थिइन घर बनाउन । हातमा सिप छदै छ, कमाएर पैसा तिरौला भनेर सानो एकतले घर बनाउन सुरु मात्र गरेको थियो उनको परिवारले ।

जमुना कल आएदेखि, उसले आफूसँग भएको अलि पैसा लिएर सहकारी पुग्छे । सहकारीमा पैसा लिएको पनि करिब ६ महिना हुन लागेछ । सहकारीको नियमअनुसार ६ महिनाको एकचोटी साँवा पनि तिर्नुपर्ने नियम छ ।

सहकारीकी कर्मचारीले सोध्यो : सावाँ पनि तिर्ने हो ?
जमुनाले नरम आवाजमा : होइन , व्याज मात्र तिर्न आको ।
कर्मचारी : तपाईको त साँवा पनि तिर्ने बेला भएछ । पख्नुस है, म सरलाई सोध्छु । त्यति नै बेला कल गरेर उनी सरलाई सोध्छे । फोनमा के भने छ, थाहा भएन । अहिलेलाई व्याज मात्र तिरेर जानु न पछि साँवा पनि तिर्न आउनुस् है ।
जमुना नरम तर रिसमा : खै व्याज त अर्को पाली तिर्न आउन सकिएला जस्तो छैन । साँवाको कुरा गर्नुहुन्छ । अब के गर्ने लकडाउन छ । कमाउने म एकजना मात्र । फेरि म काम गर्छु काठमाडौंमा । लकडाउन भएदेखि केही काम छैन । पैसा काहाँबाट आउने खै ? बरु सरहरुसंग कुरा गर्नुपरे गरौला । मसंग त अहिले पैसा छैन ।
लामो सास फेर्दै : अनि चैतको व्याज त मिनाहा रे हैन ।
कर्मचारी : बैशाखमै तिर्न आएको भए अलि छुट हुन्थ्यो । अहिले तपाई ढिलो तिर्न आउनुभयो । त्यसैले छैन ।

मनमा कयौं कुरा खेलाउदै जमुना घर आएपुग्छे । ऊ आफैसँग प्रश्न गर्न थाल्छे । के लकडाउन मलाई मात्र लागेको हो ? मलाई काम गर्न मन नलागेर लकडाउन भनेर घरमा बसेको हो र ? कि मलाई मात्र कोरोना लाग्छ भनेर म घरमा बसेको छु ? बुझ्नै सकिएन बा । सहकारीको कर्मचारीले भनेको कुरा फेरि सम्झिन्छे । बैशाखमा तिर्न आएको भए अलि छुट हुन्थ्यो ।

उनी मन नलागी नलागी ओठमा मुस्कान ल्याउदै । समाचारमा, अनलाइनमा, सामाजिक संजालमा सबैमा घसमै बस्नु सुरक्षित हुनु भनेको देख्छु । बाहिर प्रहरीहरुले माइकिङ्ग गरेर बाहिर ननिस्किनु होला, घरमै बसेर हामीलाई सहयोग गरिदिनु होला भन्छन । अति आवश्यक भए मात्र बाहिर निस्कनुहोला भन्छन । अस्ति तरकारी किन्न गएको बेलामा त घरमा जे छ त्यही खानु दिनदनै पसल नआउनुस भन्छन । सहकारी संस्थाहरु चाँहि व्याज तिर्न आउनुस भनेर फोन गर्छन । कसको कुरा मान्ने अब ? हामी जनताले सरकारको कुरा सुन्ने कि सहकारीको ? तोकिएको समयमा व्याज तिर्न गएन भने छुट पनि नपाउने रहेछ । कोरोनासोरोना भाडमे जाए, पहिल व्याज तिर्न जानुपर्ने रहेछ । खान नपाए पनि मर्ने अवस्था भए पनि व्याज चाँहि समयमा तिर्नु जानुपर्ने रहेछ ।

भन्दाभन्दै लकडाउन भएको पनि २ महिना भइसक्यो । सबै चिज किनेर खानुपर्छ । अलिअलि बचत भएको पैसा घर बनाउनमा खर्च गरियो । अब त बचत त के, लोन मात्र छ । यस्तो अवस्थामा दिनहुँ खाना कसरी जुटाउने भएको बेलामा व्याज तिर्नुपर्ने भएको छ । तिर्न मन छैन भनेको होइन । यस्तो अवस्थामा त समस्या बुझिदिनुपर्छ नि सहकारी संस्थाहरुले । देशमा पुरै कामकाजहरु थप्प भएको बेलामा उनीहरुको काम रोकिएको छैन भन्दैमा सदस्यहरुलाई दुःख दिनु त भएन नि । सबैले भन्ने बेलामा चाँहि आपतकालिन, समस्या भएको अवस्थामा सबैले सबैको सहयोग गर्नुपर्छ भनिन्छ । यो भाषण र किताबमा मात्र सिमित रहेछ । व्यवहारिक रुपमा त कहाँ हुने रहेछ यस्तो । दुःखको बेला झन दुःख दिने काम मात्र गर्ने रहेछ । यो तितो सत्य हो । आफ्नो कुरा गर्दागर्दैै मलाई भारतले हाम्रो सिमाना मिचेको कुरा याद आयो । कोरोनाको फैलिएर दुःख अर्को भारतले हाम्रो देश मिचिएर दुःख ।

मलाई यो परिस्थितिमा आफूले आफैलाई म आफू चाँहि नेपाल देश सम्झे । भारत चाँहि सहकारी संस्था र म चाँहि नेपाल देश जस्तो लाग्यो । भन्न मात्र सक्ने गर्न चाँहि नसक्ने । नेपाली भूमि नेपालको हो मात्रै भन्न सक्ने तर फिर्ता लिन नसक्ने । जुन पनि समस्या हुने खानेलाई नभई हुँदा खाने गरिबलाई मात्रै हुनेरहेछ । कोरोना पनि हामी जस्तो गरिवलाई श्राप नै रहेछ । राहत देउ भनौं भने फुटपाटमा बस्नु परेको छैन । आर्थिक सहयोग मागौं भने के भनेर माग्ने ? धितो राख्ने केही छैन । यस्तो विपतको बेलामा पनि सहकारी संस्थालाई पनि यसरी नदेखिने पाराले दुःख दिएपछि के गरोस त । यस्तै लकडाउन भइराख्यो भने त लोनको व्याज तिर्न त के एक छाक खान पनि धौ धौ हुन्छ । यस्तो अवस्था रहयो भने देशमा कोरोनाले होइन, भोकभोकै खान नपाएर मर्नेको संख्या बढी हुनेछ ।