जनता टाइम्स

१६ जेष्ठ २०७७, शुक्रबार ११:०७

विश्व स्वास्थ्य संगठनको घेराबन्दीमा चीन


भारतको अध्यक्षतामा भएको यस शिखर सम्मेलनले चीनको वुहानमा कोरोनाका कारण, यसको संक्रमणका स्वरूप, यसमा चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीले गरेको प्रतिबद्धता र कार्यान्वयनको बारेमा व्यापक छानबिन होस भन्ने प्रस्ताव बडो दृढताका साथ अगाडि बढाएको देखिन्छ । विश्व स्वास्थ्य संगठनको शिखर सम्मेलनमा युरोपेली युनियनलगायत, अस्ट्रेलिया र अफ्रिकाका विभिन्न मुलुकहरु पनि कोरोनाको लागि चीनको रवैयालाई जिम्मेवार र दोषी ठहर गरेको देखिन्छ 

विश्व राजनीति वर्तमान परिवेशमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्रियाकलापलाई समिक्षा गर्न सक्रियता देखाईरहेको अवस्था छ । विश्व स्वास्थ्य संगठनको बृहत सम्मेलन भर्खरै मई १८ र मई १९ मा सम्पन्न भएको छ । संसारका १९४ देशको सहभागिता रहेको यो मुर्धन्य संस्थाको कार्यक्षेत्र, अभिभारा र जिम्मेवारी बडो व्यापक छ । सन् १९४७ मा स्थापना भएको यस संस्थाले विभिन्न आरोह र अवरोहलाई बडो जिम्मेवारीका साथ पूरा गरेको इतिहास छ । सन् १९८४ मा स्पेनिस फ्लु भाइरस फैलिरहेको संकटपूर्ण अवस्थामा विश्व स्वास्थ्य संगठनले निर्वाह गरेको भूमिकालाई नकार्न सकिदैन । इतिहासमा पहिलो पटक विश्व स्वास्थ्य संगठन विवादमा आएको देखिन्छ । यस संस्थाको सम्पूर्ण वित्तीय खर्चको १४ प्रतिशत अमेरिकाले मात्र वहन गरिरहेको छ । कोरोनाको कहरले गर्दा अमेरिका सबभन्दा आक्रान्त रहेको अवस्था छ । यस विषम अवस्थामा विश्व स्वास्थ्य संगठनलाई दिईरहेको वित्तीय सहयोगलाई कटौती गर्ने अमेरिकाले चेतावनी दिएको छ । अर्थात विश्व स्वास्थ्य संगठनले चीनको कठपुतली भएर काम गरिरहेको अमेरिकाको आरोप रहेको छ । भर्खरै विश्व स्वास्थ्य संगठनको ७३ शिखर सम्मेलनले यी विभिन्न मुद्दाहरुको चिरफार गरेको देखिन्छ ।

यस वर्ष विश्व स्वास्थ्य संगठनको अध्यक्षता भारतले गरेको छ । १९४ मुलुकहरुको सहभागिता रहेको यस शिखर सम्मेलनमा अस्ट्रेलियाको अगुवाइमा चीनलाई व्यापक घेराबन्दी गर्ने काम भएको छ । भारतीय नेतृत्व, अस्ट्रेलियाको सक्रियता र प्रजातान्त्रिक मुलुकहरुको गठबन्धनले चीनको कोरोना सम्बन्धी विभिन्न नीति र रणनीतिलाई प्रश्नको घेरामा ल्याएको छ । शिखर सम्मेलनमा प्रमुख मुद्दाहरुमध्ये चीनले कोरोना सम्बन्धी नीतिमा पारदर्शिता न अपनाएर सम्पूर्ण मानव जातिलाई नै संकटको भुमरीमा धकेलेको आरोप रहेको छ । अर्थात विश्व स्वास्थ्य संगठनले कोरोनाको प्रकोप र महामारीको गाम्भीर्यतालाई विश्व जनमतलाई समयमा जानकारी नदिएर वर्तमान संकटपूर्ण अवस्थाको सृजना भएको सहभागी राष्ट्रहरुको आरोप रहेको छ । वर्तमान परिवेशमा अस्ट्रेलियाद्वारा राखेको प्रस्तावले चीनको गोपनीयतालाई चिर्न विश्व स्वास्थ्य संगठनको गतिविधि चीनलगायत विश्वका सम्पूर्ण देशहरुमा फैलियोस भन्ने चाहना रहेको छ । समिक्षकहरु विश्व स्वास्थ्य संगठनलाई विश्वको स्वास्थ्य सम्बन्धी संसद्को रुपमा व्याख्या गर्दछन् । विश्वका स्वास्थ्यमन्त्रीहरु यस मुर्धन्य संस्थामार्फत विश्व स्वास्थ्य नीतिको तर्जुमा गर्दछन् । यसले आत्मनिरीक्षणद्वारा विभिन्न नीतिहरुको सकारात्मक र नकारात्मक पक्षहरुको बारेमा पनि नीति निर्माण गर्दछन् ।

यस पटकको शिखर सम्मेलन कोरोना सम्बन्धी सम्पूर्ण राष्ट्रहरु आफ्नो सूचना आदान प्रदान गर्न इमान्दारी अपनाउनु पर्दछ भन्ने अपिल गरेको छ । भारतको अध्यक्षतामा भएको यस शिखर सम्मेलनले चीनको वुहानमा कोरोनाका कारण, यसको संक्रमणका स्वरूप, यसमा चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीले गरेको प्रतिबद्धता र कार्यान्वयनको बारेमा व्यापक छानबिन होस भन्ने प्रस्ताव बडो दृढताका साथ अगाडि बढाएको देखिन्छ । विश्व स्वास्थ्य संगठनको शिखर सम्मेलनमा युरोपेली युनियनलगायत, अस्ट्रेलिया र अफ्रिकाका विभिन्न मुलुकहरु पनि कोरोनाको लागि चीनको रवैयालाई जिम्मेवार र दोषी ठहर गरेको देखिन्छ ।

चीनविरुद्ध घेराबन्दीमा अमेरिका, स्पेन, जर्मन र फ्रान्स पनि अगाडि रहेको देखिन्छ । यस शिखर सम्मेलनले बढी उर्जा आरोप र प्रत्यारोपमा समय व्यतित गरेको देखिन्छ । विभिन्न सहभागी मुलुकहरुले आफ्नो अनुभव र अनुभुतिलाई पनि विश्व समक्ष मुखरित गरेको देखिन्छ । साउथ कोरियाले प्रजातान्त्रिक पद्दतिको माध्यमबाट कोरोनालाई नियन्त्रण गरेको अनुभवलाई पनि विश्व रङ्गमञ्चमा सार्वजनिक गरेको देखिन्छ । संसारमा कोरोनाको कहर हुँदाहुँदै पनि साउथ कोरियाले चुनाव सम्पन्न गरेर एउटा नयाँ इतिहासको रचना गरेको देखिन्छ । त्यस्तै ताइवानले पनि कोरोनाको संक्रमणबाट आफ्नो जनतालाई जोगाउन व्यापक रुपमा सफल रहेको कुरा यस शिखर सम्मेलनबाट प्रष्ट भएको छ ।

विश्व स्वास्थ्य संगठनमा भारत आफ्नोे गतिविधिलाई चीनविरुद्ध प्रयोग नगरोस भनी भारतलाई दबाबमा ल्याउन चीनले आवश्यक रणनीतिको समेत प्रयोग गरेको देखिन्छ । तदनुरूप कोरोनाको कहरबाट छटपटाइरहेको बेला भारतको सीमा क्षेत्र सिक्किम र लद्दाखमा भारत र चीनबीचतनाव बढेको देखिन्छ । भारतको पुर्व राजदुत अशोक सजनहारले चीनको यस गतिविधिलाई कुटनीतिको चश्माबाट व्याख्या गरेका छन् । उनले के प्रष्ट भनेका छन् कि चीनले भारतको सक्रियतालाई सरलीकरण गर्न भारतको बोर्डर क्षेत्रमा समस्या सृजना गरेर दबाब सृजित गरेको छ । अर्को रणनीति अनुरुप चीन विश्व स्वास्थ्य संगठनसँग आबद्ध मुलुकहरुसँग दूरी राख्न चाहेको छैन । चीन आर्थिक महाशक्ति बन्नुको पछाडि चिनियाँ बजार र व्यावसायिक नीति रहेको देखिन्छ ।

चीनसँग अहिले चुनौतीको चाङ्ग भएता पनि चीनले यसलाई अवसरको रुपमा लिएको देखिन्छ । कोरोनाको कहरबाट विश्वका धेरै ठुल–ठुला कम्पनीहरु दिवालियापनको शिकार हुनपुगेको अवस्थमा त्यस्ता कम्पनीहरुलाई आफ्नो पहुँच र पकड बढाउनका लागि चीनले धमाधम आफ्नो लगानी बढाईरहेको अवस्था छ । चिनियाँ बैंक र कम्पनीहरुमा चीन सरकारको प्रभाव बढी छ । अर्को शब्दमा भन्ने हो भने भु–मण्डलीकरणको मर्मअनुसार चीन विश्व बजारमा आफ्नो सक्रियतालाई बढाईरहेको अवस्था छ । चीनको बजार सम्बन्धी नीतिबाट बच्न विश्वका धेरै मुलुकहरु निवेश सम्बन्धी नीतिमा व्यापक परिमार्जन गरिरहेको अवस्था छ । अमेरिका, भारत, अस्ट्रेलिया र युरोपेली युनियनका धेरै मुलुकहरु चीनको पुञ्जीलाई आफ्ना–आफ्ना मुलुकहरुमा न भित्रियाउन आवश्यक रणनीति लिईरहेको अवस्था छ ।

चीनले पनि अमेरिका, भारत, अस्ट्रेलिया, जापानलगायत विभिन्न प्रजातान्त्रिक देशहरुको गठबन्धनलाई निश्तेज गर्न आफ्नो सामथ्र्यअनुसार व्यापक रुपमा आफ्नो संशाधन र सामग्रीहरु विभिन्न मुलुकहरुमा निर्यात गरिरहेको अवस्था छ । पाकिस्तान, उत्तर कोरिया लगायत धेरै मुलुकहरु चीनको नेतृत्वलाई सहर्ष स्वीकार गरेको र भर्खरै सम्पन्न भएको शिखर सम्मेलनले आगामी दिनमा विश्व स्वास्थ्य संगठनको नेतृत्व भारतलाई सुम्पिएको छ । यो भारतको लागि अवसर र चुनौती दुईटै हो ।

अमेरिका र चीनको आरोप र प्रत्यारोपको बीचमा भारतले मध्यमार्गी नीति लिएको थियो । भारतीय आधिकारिक धारणा विश्व स्वास्थ्य संगठनलाई पुनः गरिमामयी बनाउनु हो । कोरोनाको कहरमा भारतले स्वास्थ्य सेवाको माध्यमबाट आफ्नो कुटनीतिलाई अगाडि बढाएको थियो । विश्वको १३० मुलुकहरुमा औषधी र स्वास्थ्य सम्बन्धी उपकरणहरु र मानव संसाधन बढाएर भारतले आफ्नो भूमिका विश्व समुदायमा निर्वाह गरेको थियो । भारतको स्वास्थ्यमन्त्री हर्ष वर्धनले आउने दिनमा विश्व स्वास्थ्य संगठनको नेतृत्वको जिम्मेवारीले भारतको सक्रियता र क्रियाशीलता विश्व राजनीति र कुटनीतिमा बढेको छ । सफलता र असफलता भविष्यको गर्भमा छ ।