जनता टाइम्स

७ असार २०७७, आईतवार ०७:०६

यसरी गर्न सकिन्छ कोरोना संक्रमणजन्य चिन्ताको न्यूनीकरण : यी हुन कोरोनालाई जित्ने अचुक औषधी


विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) का कारण मनोसामाजिक समस्या देखा पर्दैछन । लामो समयको लकडाउन, लकडाउनको कारण सिर्जित आर्थिक नोक्सानी, बेरोजगारी, क्यारियरको अनिश्चितता, एकांकी जीवन तथा नयाँ परिवेशसँग घुलमिल हुन भएको अप्ठ्यारोका कारण मानसिक चिन्ता, तनाव तथा असुरक्षा बोध बढेको छ ।

दैनिक सुन्नुपर्ने संक्रमित तथा मृतकको संख्याले पनि हाम्रो अवचेतन मनमा चिन्ताको स्तर घनिभूत भइरहेको छ । कोभिड– १९ को प्रभावकारी औषधि तथा खोप पत्ता नलागेको तथा यो रोग कहिलेसम्म जाने हो भन्ने यकिन नभएको हुँदा मनोसामाजिक असर बढिरहेको छ । धेरै व्यक्तिले लाखौं भाडा तिरेर, करोडौंको सामान राखेर, दर्जनौं स्टाफ राखेर तथा बैंकबाट लोन लिएर व्यवसाय गरेका छन । हजारौं व्यक्तिले लोन लिएर वा आफ्नो सम्पत्ति बेचेर सेयरमा लगानी गरेका छन । ठूलो ऋणमा उद्योग तथा कलकारखाना चलेका छन । पर्यटन क्षेत्रमा खर्बौं लगानी छ । यातायातको क्षेत्रमा पनि अर्बौं लगानी छ ।

एजुकेसन कन्सल्टेन्सी, म्यानपावर, भाषा कक्षा, चलचित्रदेखि हरेक क्षेत्र जोखिममा परेको छ । लामो समयको लकडाउन, जनतामा घटेको क्रयशक्ति तथा असुरक्षाबोधका कारण धेरै व्यवसाय पूर्ववत चल्न असम्भवप्रायः छ । सीमित आम्दानीका कारण जनताले खर्च गर्ने क्षेत्र खाद्य र औषधिमा सीमित हुने देखिएको छ ।
व्यवसाय सञ्चालन गर्न सामाजिक दुरी, मास्क, सरसफाई आदिको लागि अतिरिक्त खर्च हुनेछ । सबै क्षेत्र दैनिक पटक–पटक संक्रमणरहित बनाउनु पर्ने झन्झट छ । एक व्यक्तिले अर्को व्यक्तिलाई विश्वास गर्ने वातावरण बन्न धेरै समय लाग्नेछ । डर, त्रास र असुरक्षा बोकेर हिँड्ने नागरिकले रेष्टुरेन्ट, बजार तथा विलासी जीवनशैली अपनाउन धेरै समय लाग्नेछ ।
लकडाउन खुकुलो भएपछि पनि खर्च धान्ने गरी व्यवसाय चल्न कठिन हुनेछ, त्यसले झनै निरास बनाउनेछ । संक्रमितको संख्या आगामी ३ महिना बढ्दो गतिमा हुनेछ । नागरिक थप शतर्क हुनेछन् । स्कूल, कलेज, सिनेमाघर, होटेल लगायतका व्यवसाय खोल्न धेरै समय लाग्नेछ । यसले गर्दा बालबालिकादेखि हरेक उमेरका व्यक्तिलाई प्रभाव पार्नेछ ।

यी तमाम अवस्थालाई स्वीकार्नु, त्यसलाई आत्मसात गर्नु तथा घाटा न्यूनीकरणका लागि योजना बनाउनुपर्ने अवस्था छ ।

कोरोनाजन्य नयाँ युगमा हामी पुरानो शैलीले चल्न असम्भव छ । तसर्थ हाम्रा पेशा, व्यापार, सोच र जीवनशैली परिवर्तन गर्नु जरुरी छ । उत्पादन, त्यसको बजारीकरण, होम डेलिभरी तथा आयात विस्थापन गर्ने व्यवसायमा लाग्नु फाइदाजनक हुनेछ । त्यस्तै डिजिटल व्यापार, प्रविधिको अधिकतम प्रयोग तथा आइटी क्षेत्रमा फड्को मार्नु जरुरी छ । महंगो भाडा, ठूलो लगानी तथा लोनलाई घटाएर आफूलाई तनावरहित बनाउने प्रयास गर्नुपर्दछ ।

यो महामारीमा बाँच्नु सबैभन्दा ठूलो कुरा हो । अबका २–३ वर्ष हामीलाई बाँच्न पुग्ने व्यवस्था गर्नु ठूलो उपलब्धि मान्नुपर्ने छ । नाफा गर्ने, कमाउने तथा लगानी गर्ने महत्वाकांक्षा २–३ वर्ष स्थगित गर्नु नै सुखी जीवनको सूत्र हुनेछ ।

विदेश घुम्न जाने, रेस्टुरेन्टमा खाना खाने, भोजभतेर गर्ने, जमघट गर्ने तथा उल्लासमय वातावरणमा चाडपर्व मनाउने गतिविधि ओझेलमा पर्नेछन । बैठक, साधारणसभालगायतका कार्यक्रम जुम वा अन्य प्रविधिमार्फत सञ्चालन हुनेछन् । यो ‘न्यु नर्मल’ अवस्थासँग हामी अभ्यस्त हुनुको विकल्प छैन ।

हामीले नयाँ युगको सिस्टमलाई आत्मसात गर्न सक्यौं भने मानसिक तनाव हुनेछैन । अन्यथा हामीलाई चिन्ता, तनाव, डिप्रेसन लगायतका मानसिक समस्या देखा पर्नेछन् । हरेक प्राकृतिक विपत्ति र महामारीले अवसरसँगै चुनौती पनि खडा गर्छन । ती चुनौतीसँग जुध्नका लागि हाम्रो मानसिक स्वास्थ्य बलियो हुनु जरुरी छ । यसको लागि तलका केही उपाय अवलम्बन गर्नु र यी उपायलाई जीवनमार्ग बनाउनु श्रेयष्कर हुनेछ ।

– स्वस्थ आहारको सेवन गर्ने तथा पर्याप्त सुत्नाले मस्तिष्कको क्रियाकलापलाई पोषित गर्दछ । प्रशोधन गरिएको तथा चिनीको मात्रा बढी भएको खानाले मस्तिष्कमा रक्तप्रवाहलाई कम गर्दछ ।

– तनाव हुने कारण घटाउने प्रयास गर्नु आवश्यक छ । आफ्नो आवश्यकता र क्षमताको विश्लेषण गर्ने, धेरै महत्वाकांक्षी नहुने, आफ्नो साधनस्रोत तथा क्षमताप्रति सन्तुष्ट हुने, आफ्ना प्राथमिक आवश्यकतामा ध्यान दिने तथा आफ्नो हातमा नभएको कुरामा चिन्ता नलिनेजस्ता बानीको विकास गर्नुपर्दछ ।

– नियमित व्यायाम गर्ने तथा नाँच्ने गर्नाले इन्डोर्सफिफन नामक हर्मोन उत्पन्न हुन्छ, जसले आनन्द महशुस हुन्छ । सकारात्मक सोच वृद्धि गर्दछ एवं शरीरको स्टामिना बढ्दछ ।

– मनोरञ्जनात्मक क्रियाकलाप गर्नाले तनाव र चिन्तालाई न्यून गर्न सकिन्छ ।

– आफ्नो वास्तविक धरातल बुझेर त्यही अनुसारको अपेक्षा गर्ने र सानातिना प्राप्ति वा सफलतामा सन्तुष्ट हुने बानीको विकास गर्नुपर्दछ । हामीलाई थाहा छ, तृष्णा नै दुःखको जननी हो । आफ्नो प्राप्तिमा सन्तुष्ट हुने तथा त्यसलाई अधिकतम सदुपयोग गर्ने बानीले निश्चिन्त बनाउँछ ।

– आफूले अन्य व्यक्तिको महत्वाकांक्षा पूरा गर्न नसक्ने अवस्थामा ‘सक्दिनँ’ अर्थात ‘नो’ भन्न सक्नुपर्छ । हुन्छ, हेरौंला जस्ता दोहोरो अर्थ लाग्ने सान्त्वना दिँदा सम्बन्धमा नकारात्मक असर पर्न सक्दछ ।

– धुम्रपान, मध्यपान तथा सुर्ती सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता घट्दछ । अल्कोहल र निकोटिनले कुनै अर्थमा पनि फाइदा गर्दैन ।

– अत्यास लागेमा अनुलोमविलोम गर्ने, ध्यान तथा योग गर्ने, व्यायाम गर्ने, सकारात्मक कल्पना गर्ने, गीत सुन्ने, नाच हेर्ने, आर्ट गर्ने तथा अन्य सिर्जनशील गतिविधि गर्दा तनावलाई विषयान्तर गर्न सकिन्छ ।

– सामान्य तरिकाले तनावको कारणलाई स्वीकार गर्ने तथा स्वागत गर्ने, उक्त तनावको सामना गर्न आफूलाई उत्साहित गर्ने एवं आफ्ना भावनालाई माया गर्दै चुनौतीलाई अवसरमा बदल्न सक्नेछु भनेर आत्मविश्वास दह्रो बनाउन सकिन्छ ।

– चिन्ता, तनाव तथा अधैर्य हुँदा विश्वासिलो र सकारात्मक सोचले भरपुर साथी वा आफन्तसँग कुराकानी गर्ने, समस्या शेयर गर्ने, समाधानको छलफल गर्ने तथा आफूलाई सहयोग प्राप्त हुने वातावरण सिर्जना गर्नुपर्दछ ।

– चिन्तालाई आफ्नो मनको अभिन्न अंगको रूपमा साधारीकरण गर्नु जरुरी छ । फोक्सो तथा श्वासमार्गमा बाहिरी पदार्थ पुगेमा शरीरले खोकीको माध्यमबाट त्यसलाई निकाल्ने प्रयत्न गर्दछ । त्यस्तै मनमा कुनै कुरा बिझाएमा मनले त्यसलाई समाधान गर्न चिन्ता उत्पन्न हुन्छ । चिन्ताले चिन्तन हुँदै समाधानको बाटो निकाल्न सहयोग गर्छ ।

– सञ्चार माध्यममा दैनिक देखिने विभत्स दृश्य तथा सनसनीपूर्ण समाचारले हाम्रो मनमस्तिष्कमा गहिरो छाप पारेका छन् । ती दुःख र वियोगका समाचार हेर्दा र सुन्दा हामी दुःखी भइरहेका छौं, तसर्थ डिजिटल दूरी कायम गर्ने, मिडियाको व्रत लिने तथा मिडियालाई थोरै समय दिने गर्यौं भने कोरोना संक्रमणको मानसिक प्रभावबाट हामी बच्नेछौं ।

– आफ्नो परिवारजन, आफन्त तथा मित्रहरूलाई अप्ठ्यारो समयमा साथ तथा सान्त्वना दिने बानीले आफू स्वयंलाई सकारात्मक प्रभाव पर्दछ । दुःख परेको व्यक्तिलाई सहयोग गर्दा प्राप्त हुने आनन्द अपरिमेय हुन्छ ।

– सरसफाई तथा ड्रेसअप राम्रो गरेर टिपटप भएर बस्दा आत्मबल बढ्दछ । मास्कको सही प्रयोग, भौतिक दुरी तथा हात धोइरहने बानीलाई जीवनशैलीमा परिणत गर्नुपर्दछ ।

– आफूलाई लक्षण देखिएमा कहाँ जाँच गर्ने ? आवश्यक परे कुन एम्बुलेन्सलाई सम्पर्क गर्ने ? कुन चिकित्सकसँग परामर्श गर्ने ? कुन अस्पतालमा भर्ना हुने ? लगायतको योजना बनाउनु राम्रो हुन्छ । योजनाले व्यक्ति तथा परिवारलाई विकल्प दिन्छ, तनाव कम गर्दछ ।

– भावना र कारण, शरीर र दिमाग, परिवार र काम, चिन्ता र धैर्यता आदिको सन्तुलन मिलाउनु जरुरी हुन्छ । शरीर र मनको सन्तुलन नभएमा भ्रम उत्पन्न हुन्छ । भ्रमले मानसिक अस्थिरता निम्त्याउँछ । अस्थिरताले संवेदनशील बनाउँछ, तसर्थ आफ्ना भावना र अनुभूतिलाई सन्तुलनमा राख्नुपर्दछ ।

– कोरोना संक्रमणलाई मैले जित्न सक्छु, मेरो इम्युनिटी पावरले जित्न सक्छ भनेर आफ्नो क्षमताप्रति विश्वास गर्नुपर्दछ । त्यस्तै आफूलाई जोखिमबाट बचाउन सुरक्षा विधि अपनाउने अभ्यासलाई संस्कारमा विकास गर्नुपर्दछ ।

– यदि तपाईंको मन मस्तिष्कमा कोरोना संक्रमणको डरले डेरा जमाएको छ भने आफ्नो ध्यान अन्यत्र मोड्ने कोशिश गर्नुपर्दछ । यसका लागि आधिकारिक सूचना लिने, भ्रम र हल्लालाई विश्वास नगर्ने, सामाजिक सञ्जाल तथा डरलाग्दा समाचारबाट पृथक रहने एवं यो विश्वव्यापी महामारीको अवस्थालाई आत्मसात गर्ने प्रयास गर्नुपर्दछ ।

– संक्रमित तथा मृतकको संख्या हेरेर चिन्ता लिनुपर्दैन । कोभिड– १९ बाट निको भएको संख्या हेर्ने तथा निको भएका व्यक्तिको अनुभव सुन्ने बानी गर्नाले आत्मबल बढ्दछ । कोभिड संक्रमणबाट मृत्यु हुने भन्दा निको हुनेको संख्या १० गुणाभन्दा धेरै छ । संक्रमित मध्ये ९८ प्रतिशत सामान्य अवस्थामा छन भने जम्मा २ प्रतिशत मात्र गम्भीर अवस्थामा छन् ।

– कोभिड– १९ बाट ८० वर्षभन्दा धेरै उमेरका व्यक्तिको मृत्युदर १४.८ प्रतिशत छ, ७०–७९ वर्षका संक्रमितको ८ प्रतिशत छ भने अन्य उमेरका व्यक्तिको मृत्युदर उत्तरोत्तर कम छ ।

– यो मृत्युदर आफैंमा धेरै हैन । त्यस्तै संक्रमितमध्ये मुटुका दीर्घरोगीको मृत्युदर १३.२ प्रतिशत छ, दीर्घ मधुमेहका बिरामी (अनियन्त्रित मधुमेह तथा मधुमेहले किड्नीमा समस्या भएका) को मृत्युदर ९.२ प्रतिशत छ, दीर्घ श्वासप्रश्वासका बिरामीको मृत्युदर ८ प्रतिशत छ, अनियन्त्रित उच्च रक्तचापका दीर्घरोगीको मृत्युदर ८.४ प्रतिशत छ भने क्यान्सरका दीर्घरोगीको मृत्युदर ७.६ प्रतिशत छ । अन्य दीर्घरोगीको मृत्युदर कम छ । संक्रमित महिलाको मृत्युदर पुरुषको भन्दा झन्डै आधा छ ।

– ध्यान, योग, प्राणायाम, प्रवचन, सत्संग, अध्ययन, लेखन, पेन्टिङ, संगीत, हास्य कार्यक्रम लगायत मनोविनोदमा आफूलाई अभ्यस्त राख्यौं भने सकारात्मक सोचको विकास हुन्छ ।

– हरेक जीवन, पदार्थ तथा महामारीको आयु हुन्छ । यो महामारी पनि आफ्नो आयु लिएर जन्मिएको छ । तसर्थ केही समयपछि हामीले यो समस्याबाट मुक्ति पाउनेछौं भनेर आशावादी हुनु जरुरी छ ।