जनता टाइम्स

१३ असार २०७७, शनिबार ०६:५२

चीन–भारत द्वन्दको भू–राजनीतिक असर


कोरोनाको कहरले गर्दा सम्पूर्ण मानव समाज आक्रान्त भएको अवस्थामा विश्वका उदीयमान शक्तिहरु आपसी समझदारी र सहयोगलाई परित्याग गर्दै भिडन्त र द्वन्दतर्फ उन्मुख भइरहेको छ । यसका पछाडि बृहत राजनीतिक आयामहरू छन् । कोरोनाको कारणले गर्दा राजनेताहरुको व्यक्तित्व र कृतित्वमा प्रश्नवाचक चिन्ह लागेको छ । राज्यको प्रमुख दायित्व नै मानव जीवन रक्षा गर्नु हो । कोरोनाको कहरबाट पीडित जनताहरुको राहत र उपचारमा प्रत्येक राष्ट्रमा कमी नै भएको छ । जनतामा आक्रोश र असन्तुष्टि प्रचुर मात्रामा व्याप्त छ । ती असन्तुष्टि र आक्रोशलाई पन्छाउन चर्को राष्ट्रवाद नै अमोेध अश्त्र हो । चर्को राष्ट्रवादको क्षेप्यास्त्रबाट नेतृत्वले दिर्घायु पाउँछ । तानाशाही शासकले युद्धलाई निमन्त्रणा गर्नुको मौलिक कारण पनि यही हो । वर्तमान अवस्थामा चर्को राष्ट्रवादको शंखनार्ध गर्ने मुर्धन्य नेताहरु आफ्नो सौर्य र शक्तिमा गुणात्मक अभिवृद्धि गर्न उद्वेलित भएका छन् ।

भारत र चीनको भिडन्तलाई पनि यही परिवेशमा व्याख्या गर्न सकिन्छ । भारत र चीन दुईवटै प्राचीन सभ्यता र संस्कृतिका उत्तराधिकारीहरु हुन् । सन् १९८० ताका दुईवटै मुलुकका प्रतिव्यक्ति आयमा सामिप्यता नै थियो । चीनले भू–मण्डलीकरणको वातावरणलाई पूर्ण रुपमाउपयोग गर्दै अमेरिका र युरोपसँग व्यापारिक सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आफ्नो अर्थतन्त्रमा व्यापक कायापलट गरे । वर्तमान अवस्थामा भारत र चीनको आर्थिक क्षमतामा धेरै फरक छ । भारतको अर्थतन्त्र भन्दा चीनको अर्थतन्त्र झन्डै पाँच गुणा बढी देखिएको छ । तर आर्थिक विश्लेषकहरुको बुझाई फरक देखिन्छ । सन् १९१७ मा सोभियत रुस प्रगतिको पथमा अवतरित भए । अमेरिकाले २०० वर्षमा गरेको प्रगति सोभियत रुसले ७० वर्षमा नै गरे । तर नब्बेको दशकमा सोभियत रुसको अर्थतन्त्र तहसनहस भयो । अर्को शब्दमा भन्ने हो भने प्रजातान्त्रिक पथबाट भएको विकास यात्रा दिर्घायु र चिरन्जीवी हुन्छ भने साम्यवादी र तानाशाही बाटोबाट भएको विकासयात्रा क्षणभंगुर हुन्छ । अर्थात् साम्यवादी विकास यात्रा धेरै दिनसम्म टिक्दैन । चीन र भारतको विकास यात्रालाई अर्थशास्त्रीहरु यही चश्माबाट संश्लेषण गर्ने गर्दछ । चीन र भारतको भिडन्तलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ ।

सिकागो विश्वविद्यालयको सामरिक बिज्ञ प्राध्यापक म्यागाले चीनको बढ्दो सामथ्र्यलाई फरक ढंगले विश्लेषण गरेको देखिन्छ । उनको भनाइअनुसार चीन “स्टेटसको” शक्ति होइन । अर्थात् चीनले वर्तमान भू–राजनीतिलाई आफ्नो अनुकुल परिवर्तन गर्न उद्धत भएको छ । “साउथ चाइना सी” मा नयाँ–नयाँ कृत्रिम टापुलाई रचना गरेर आफ्ना छिमेकी फिलिपिन्स, मलेसिया, इण्डोनेसिया, जापानलगायत अनेकौं मुलुकहरु आफ्नो शक्ति र सामथ्र्यद्वारा दबाब दिईरहेको छ । साउथ चाइना सी बाहेक “इष्ट चाइना सी”मा पनि आफ्नो पहुँच र दबदबालाई चीनले बढाइरहेको छ । यति मात्रै होइन कि चीनले आफ्नो बोर्डरमा पनि परिवर्तन गर्न आफ्नो सैन्य र सामरिक शक्तिद्वारा कदम अगाडि बढाइरहेको छ । लद्दाख, सिक्किम र अरुणाचल प्रदेशसँग जोडिएको बोर्डरमा चीनले आफ्नो रणनीति बढाइरहेको छ ।

त्यस्तै संसारको अत्यधिक दबाबको बाबजुद पनि चीनले हंगकंग र ताइवानको नीतिमा कुनै परिवर्तन गरेको छैन । सिकागो विश्वविद्यालयका विज्ञको तर्क एसियाको सामरिक जानकार सिंगापुरका मुर्धन्य विद्वानकिशोर मेह्बुबानीले असहमति जनाउँदै के भनेका छन् कि चीन र भारतको द्वन्द हुने बित्तिकै आउने दिनमा मानव सभ्यताको नेतृत्व एसियाले गर्न पाउने छैन । आफ्ना चर्चित पुस्तक “ह्याजचाइनावोन”मा मेह्बुबानीले के तर्क गरेका छन् कि चीन र भारतको बीच सामिप्यता र सहकार्य भएमा युरोप र अमेरिकाले आफ्नो वर्चश्व मानव सभ्यतामा कमजोर पाउने छ । उनले प्रष्ट भनेका छन् कि चीन आफ्नो आर्थिक महत्वाकांक्षालाई अगाडि बढाउने हो भने उनले आफ्नो संसारको सम्भावना सबभन्दा बढी जनसंख्या भएको भारतको बजारलाई परित्याग गर्न सक्दैन । भारतसँग भिडन्त गर्न बित्तिकै चीनले आफ्नो ठुलो व्यापार भारतबाट गुमाउने छ ।

वर्तमान अवस्थामा भारत र चीनको व्यापार १०० बिलियन अमेरिकी डलर रहेको छ । चीनमा भारतको ३० हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् । चीन आफ्नो व्यापारिक कारोबार हिन्द महासागरमा निर्भर छ । हिन्द महासागरमा भारतको प्रभुत्व र पकड बलियो रहेको अवस्थाले गर्दा भारतले चीनको व्यापारिक कारोबारमा अवरोध पुर्याउन सक्दछ । किशोर मेह्बुबानीका अनुसार भारतले चीनको आन्तरिक मामिलामा पनि प्रभाव पार्न सक्दछ । अर्थात् दलाई लामाको भारतमा उपस्थितिलगायत तिब्बती समुदायको भारतमा अधिक उपस्थितिले गर्दा चीनमा तनाव र दबाब भारतले सृजना गर्न सक्दछ । भारत र चीनको भिडन्तको फाइदा अमेरिकाले प्रचुर मात्रामा लिन सक्दछ भने मेह्बुबानीले आफ्ना पुस्तक “ह्याजदी वेष्ट लस्ट”मा उल्लेख गरेका छन् । मेह्बुबानले चीन र भारतको सामन्जस्यतामा जोड दिएका छन् ।

विगत ६ वर्षमा मोदी र सी जिनपिङको १८ चोटी भएको भेटवार्तालाई उनले उच्च मुल्यांकन गरेका छन् । भारत र चीनको द्वन्दलाई विश्लेषण गर्दै अबजरभर रिसर्च फाउन्डेसनका विज्ञ समिर शरणफरक मतजाहेर गरेका छन् । उनले चिनियाँ नीतिलाई “न्यु कन्फ्युसियनवर्ल्ड” को संज्ञा दिएका छन् । अर्थात् कन्फ्युसियसको सिद्धान्तअनुसार चिनियाँ सामान र चिनियाँ संस्कृतिको संसारमाथि एकाधिकार राख्न चीन उद्वेलित भएका छन् । समिरका अनुसार “वीआर आइ” योजना यही सिद्धान्तबाट परिचालित भएका छन् । यस योजनाअन्तर्गत संसारका गरिब मुलुकहरु चिनियाँ गुरुयोजना अन्तर्गत “डेब्ट ट्रयाप” (ऋणको पासो) मा पर्नेछ । श्रीलंकालगायत अफ्रिकाका धेरै मुलुकहरु चीनको ऋणबाट चेपिएका छन् । अर्का तर्फ चीनले तानाशाही राज्य व्यवस्थालाई मलजल गर्न अथक प्रयास गर्नेछ । तदनुरूप पाकिस्तानदेखि उत्तर कोरियामा शासकीय बर्बरतालाई चीनले प्रोत्साहित गरेको देखिन्छ । चिनियाँ नीतिलाई समिरले “मध्यकालीन मानसिकता” को संज्ञा दिएका छन् ।

चीन र भारतको भिडन्तबाट सारा संसार ध्रुवीकृत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सेक्रेटरी अफ स्टेट माइकपोम्फीओ ले भारतीय सैनिकको सहादतप्रति संवेदना व्यक्त गर्दै चिनियाँ शैलीलाई निन्दा गर्दै भारतप्रति सहानुभूति प्रकट गरेका छन् । संसारका सारा गठबन्धन र गठजोड परिवर्तन भएता पनि भारत र रसियाको सम्बन्ध सन् १९१७ देखि हालसम्म एकनासकै रहेको अवस्था छ । रुसको सैनिक परेडको प्रमुख अतिथि भारतका रक्षामन्त्री राजनाथ सिंह हुनुको सामरिक सन्देश के हो भने रसिया भारतको सबभन्दा ठुलो “डिफेन्स पार्टनर” हो । अर्थात् रुसले भारतको बजारलाई त्याग गर्न चाहेको छैन । अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, युरोपियन युनियन र इजरायलको भारतले सहानुभूति र सद्भावपाएको अवस्थामा रुसबाट भारतले “न्युट्रल” हुने अपेक्षा रहेको छ । विगतका दिनमा रुसले क्रिमियाको नीतिले गर्दा अमेरिका लगायत र युरोपेली युनियन रुससँग रुष्ट रहेको अवस्थामा रुस र चीनको गठजोड बढेको छ । यी परिस्थितिमा रुसको “न्युट्रलिटी” को संकेत भारतको हितमा छ ।

कोरोनाको कहरबाट चीन अन्तर्राष्ट्रिय रङ्गमञ्चमा कमजोर भएको छ । यस अवस्थामा छिमेकीहरु सँगको सम्बन्धमा आवश्यक सुधार भएको खण्डमा नै चीनले आफ्नो सामथ्र्य बढाउन सक्छ । आर्थिक महाशक्तिको आधार नै विश्वबजार हो । चीनले भारतको १ अर्ब ३३ करोड जनसंख्याको बजारबाट च्युत हुनेबित्तिकै चीनले आफ्नो आर्थिक संकल्पलाई पुरा गर्न सक्दैन । तसर्थ चीन र भारतले अस्त्र र शास्त्र त्यागेर बन्धुत्व र भातृत्वको सिद्धान्तअनुसार व्यापारिक कारोबारलाई अगाडि बढाउनु पर्दछ ।