जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार ०८:०८

तातोपानी नाका आउदो साताबाट खुल्ने : रेलमा चिनले दीर्घकालिन रुपमा सहयोग गर्ने


काठमाडौं ।

भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिनुभएको हो ।

यो नाका अहिले कार्गो ओसारपसारका लागि मात्र खुला गरिने बताउँदै तत्कालका लागि यसबाट मानव अवतजावत खुला नगरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सन् २०१५ को विनाशकारी भूकम्पबाट त्यहाँका भौतिक संरचनामा नराम्रो क्षति भएको थियो ती संरचना अझै पूर्ण रुपमा पुनःनिर्माण गर्न सकिएको छैन । त्यसैले त्यहाँ मानव आवतजावतका लागि अझै खतरा छ । ” उहाँले सो क्षेत्रमा आवश्यक पूर्वाधारको पुनःनिर्माणमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेपालका तर्फबाट पनि पूर्वाधारको सुधारमा प्रयास हुनुपर्ने बताउनुभयो ।

चीनमा हालै आयोजित दोस्रो बेल्ट एन्ड रोड फोरममा राष्ट्रपति विद्यादेवी भण्डारीे सहभागी हुनु र प्रमुख वक्ताका रुपमा मन्तव्य राख्नुले बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालको पूर्ण समर्थन रहेको स्पष्ट भएको बताउनुभयो । कतिपय मुलुकले बीआरआईलाई ‘डेब्ट ट्रयाप’ (ऋणको पासो) भन्ने गरेको र यस मार्फत चीनले केही मुलुकमा ऋण थप्दै लगेर पासोमा पार्छ भन्ने आरोपमा कुनै सत्यता नरहेको बताउनुभयो । राजदूत हाउ बीआरआई सहयोग मुख्य खेलाडीका रुपमा रहेका व्यवसायीले स्वाभाविक रुपमा वजारको कानुन अनुसार नै काम गर्ने हुँदा उनीहरू पैसा गुमाएर समाप्त नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ धेरै जस्तो विकासशील मुलुकको विकासका लागि पैसा र लगानी चाहिको छ । चीनले पनि अन्य अन्तर्राष्ट्रिय वित्तीय निकायले गरे जस्तै गरी बराबर हैसियतमा छलफल गरी कुनै राजनीतिक सर्त बिना नै रकम उपलब्ध गराउँछ ।” उहाँले बीआरआई खुला, समावेशी र परदर्शी रहेको पनि स्पष्ट पार्नुभयो ।

पत्रकारहरूले नेपाल चीनबीच रेल सम्पर्कका विस्तार गर्ने विषयमा राखेको प्रश्नको जवाफमा उहाँले यो विषय आज राजनीतिक निर्णय गरेर भोलि नै कार्यान्वयनमा जाने खालको नभएको र दीर्घकालीन क्षेत्र भएको बताउनुभयो । तर यस विषयमा दुवै देशका सम्बन्धित निकायहरूले काम गरिरहेको र सो जारी रहने बाताउनुभयो ।

राजदूत हाउले भन्नुभयो, “यो परियोजना दुई देशबीचको सम्बन्धका लागि निकै महत्वपूर्ण भए पनि विद्यमान भौगोलिक जटिलता आदिले गर्दा यो त्यति सजिलो काम छैन । यसका लागि वैज्ञानिक अध्ययन हुनुपर्छ । यस्ता परियोजना निर्माणका लागि चार चरण पार गर्नु पर्छ जसमा पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन, डिजाइन र निर्माण पर्छन् ।”

उहाँले अगाडि भन्नुभयो, “यसमा हामीले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेका छौँ । दोस्रो चरण सम्भाव्यता अध्ययन हो र यो निकै खर्चिलो र निकै लामो काम हो यसमा धेरै लगानी आवश्यक पर्छ । यस विषयमा दुवै देशबीच समझदारी भइसकेको र यसलाई सम्बन्धित निकायहरूले जारी राख्ने छन् ।’’

त्यस्तै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावनाबारे राखिएको जिज्ञासमा राजदूत हाउले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई नेपालको भ्रमण गर्ने निम्तो दिनु भएको र उपयुक्त समयमा उहाँले नेपालको भ्रमण गर्ने बताउनुभयो ।