जनता टाइम्स

२२ असार २०७७, सोमबार १७:४५

सूचना प्रविधि क्षेत्रमा सरकारको देखिने काम : दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सबै वडामा पुग्यो इन्टरनेट


काठमाडौं, असार २२ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट सेवा विस्तार गरिएको छ । कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता भए पनि फाइबर विस्तारको काममा सडक विभाग र विद्युत प्राधिकरणसँग समन्वय हुन नसक्दा काममा ढिलाइ भएको र पछिल्लो समय कोरोना, लकडाउन र केही परियोजनामा अदालती प्रक्रियाजस्ता कारणले मध्यपहाडी लोकमार्ग र अन्य क्षेत्रमा केही ढिला हुन गएको खनालले बताउनु भयो ।

दुरसञ्चार प्राधिकरणले कोषको रकम खर्चेर विभिन्न १८ वटा प्याकेजमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । सोअन्तर्गत ११ परियोजनाको काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । नेपाल टेलिकमले पनि इन्टरनेट बिस्तारलाई निकै प्राथमिकता दिउको छ । टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले पछिल्लो समय ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारमा उल्लेख्य प्रगति भइरहेको र टेलिकमले विभिन्न योजना बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।

‘विभिन्न तीन हजार ५ सय टावरमार्फत फोरजी विस्तार भइरहेको हुँदा यसले डिजिटल रूपान्तरणमा फड्को मारेको छ, पछिल्लो समय नेपाल टेलिकमले दूरसञ्चार कोषअन्तर्गतको परियोजनामा पनि प्राथमिकताको साथ काम गरिरहेको हुँदा अब इन्टरनेटको प्रोडक्टिभिटी र उपयोगितामा पनि जोड दिनुपर्ने छ,’ अधिकारीले भन्नुभयो । विभिन्न चरणमा प्रदेश, क्षेत्र र पूर्वपश्चिम मध्यपहाडी लोकमार्गमा फाइबर विस्तार गर्दै दुई वर्षसम्म स्थानीय निकाय, विद्यालय र स्वास्थ्य केन्द्रमा निःशुल्क इन्टरनेट प्रदान गर्ने काम सफलतापूर्वक अघि बढिरहेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको भनाई छ । कतिपय स्थानमा सडक विभाग र विद्युत प्राधिकरणका कारण काम अड्किएको जानकारी उहाँले दिनुभयो ।

दूरसञ्चार प्राधिकरणअन्तर्गत इन्फ्रास्ट्रक्चर डिभिजनका निर्देशक डा. सुरेन्द्र हाडाले ७०१ स्थानीय तहमा इन्टरनेट विस्तार भइसके पनि अझै उच्च गतिको मिनिङफुल इन्टरनेट विस्तारमा धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । पछिल्लो समय नेपालमा पनि इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई–कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ ।

दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको गत वैशाख २०७७ सम्मको तथ्याङ्क हेर्ने हो भने नेपालमा ७२ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् । लगभग ५४ प्रतिशत मानिसले मोबाइल डेटाकै प्रयोग गरेर इन्टरनेट चलाइरहेका छन् तर अझै पनि ग्रामीण र विकट क्षेत्रमा इन्टरनेटको पहुँच पुग्न सकेको छैन । सोही तथ्यलाई ध्यानमा राखेर कामलाई तीब्र बनाइएको हो ।