तपाईंहरु कोही नभ्याउने निहुँ झिकेर भाग्न पाउनु हुन्न अब । सक्नुहुन्छ नयाँ नेतृत्व दोस्रो पुस्तालाई दिनुस, सक्नु हुन्न आफै बन्नुस प्रधानमन्त्री ओलीले नउठ्ने कुरा गरिसक्नु भएकै छ । पार्टीभित्र गुम्सेर होइन, विचारमा बहस गरेर कार्यकर्तालाई आफ्नो बनाएर, रिझाएर चुनाव जित्नुस । तर यो वा त्यो बहाना बनाएर महाधिवेशन छल्न पाउनु हुन्न झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ कमरेडहरु । बिधिको कुरा गर्ने ? महाधिवेशनमा जानै नचाहने ? महाधिवेशनबाट निर्वाचित अध्यक्षले छाडनु पर्ने, हारेकालाई अध्यक्ष दिनुपर्ने पनि बिधि नै हो र ? यस्ता बकवास बन्द गर्नाेस । महाधिवेशन होस, ककस्लाई केपी ओली समाप्त पार्नु छ, महाधिवेशनको हलबाटै कार्यकर्ताको मतबाट पार्नुस । अव जोरजबर्जस्ती चल्दैन, विधान त्यही भन्छ
नेत्रप्रसाद नेपाल
तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकता भई नेकपा गठन हुँदा तीन महिनाभित्र सवै तहको एकीकरण सक्ने, पार्टीको महाधिवेशन दुई बर्षभित्रमा गरिसक्ने कार्यसूची तय भयो । नेकपाका दुवै अध्यक्षले यही घोषणाका साथ दुवै पार्टी भङ्ग गरेर नयाँ पार्टी जन्माउनु भएको हो । एकीकरण गर्दा, पार्टीको केन्द्रीय कमिटी गठन गर्दा वा स्थायी कमिटी र सचिवालय बनाउँदा अरु सबै मुकदर्शक जस्तै हुनुभयो । अहिले जतिसुकै फुले पनि जेसुकै भनेपनि यी सबै काम दुई अध्यक्षले मात्रै गरेका हुन । साँक्षीका रुपमा बिष्णु पौडेल र जनार्दन शर्माले सहीछाप गर्नुभएको छ ।
पार्टी एकताअघि एकले अर्कोथरीलाई समाप्त पार्न सक्छन, अल्पमत र बहुमतको आधारमा निर्णय हुनसक्छ र जेसुकै पनि हुन सक्ने बुझेर कमरेड पुष्पकमल दाहाल, प्रचण्डको जोडबलमा पार्टीको निर्णय दुई अध्यक्षको सहमतिमा मात्रै गर्ने, सहमतिकै आधारमा जाने, पार्टीको विभिन्न कमिटीले गरेको निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर पछि मात्रै निर्णय भएको मानिने र तल्लो कमिटीमा निर्णय पठाउने गरी अलग्गै दस्तावेजमा हस्ताक्षर समेत गरेर विधानमा समेत यही कुरा लेखिएको छ । यो काम एकले अर्कोलाई तेस्रो पक्षसँग मिलेर बहुमतको आधारमा अप्रिय निर्णय नगरुन भनेर गरेको हुनुपर्छ भन्ने मेरो ठम्याइ हो । विधानमा भएको व्यवस्था अनुसार पार्टी सन्चालन हुनुनै पार्टी विधी पद्धति, नियमावली, प्रक्रिया सँगत ढङ्गले चलेको छ भनेर बुझ्नुपर्ने हो । अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधानमा भएको व्यावस्था अनुसार नै काम गरीरहनु भएको छ ।
आफू अनुकूल भएन भनेर विधी पद्धतिको कुरा निकालेर निहुँ खोज्ने काम कत्तिको जायज छ त ? विधानमा लेखेको भन्दा विपरीत अहिले पार्टीका नेताहरुले बहुमतले अध्यक्ष र प्रधानमन्त्री हटाउने कुरा गर्नु हुन्छ । के यो सम्भव छ ? तपाईं नेताहरु त्यसो गर्न सक्नुहुन्छ ? विधानमा सहमतिमा निर्णय गर्ने दुई अध्यक्षले हस्ताक्षर गरेपछि मात्रै निर्णय मानिने कुरा पढ्न बिर्सेको हो या विधी अरुका निम्ति मात्रै हो ? आफ्ना लागि महाधिवेशनमा जाँदै नजाने, बीचैमा सत्ता हत्याउने चाँहि बिधि हो ? हामीले यस्तो मान्न पर्दैन भन्ने सोचेर राजिनामा माग्नु भएको हो ? सरकार गठन भएको छ महिनादेखि सरकारविरुद्व अघोषित रुपमा हाम्रो पार्टीका सिनियर नेताहरुबाट आक्रमण भइरहेको छ । प्रधानमन्त्रीलाई कामै गर्न नदिने तर सरकारले काम गरेन, जनताको काम भए, जनताले केही पाएनन् भनेर सरकारलाई असफल पार्न अनेकौं कु प्रचारप्रसार भएकै छ। प्रतिपक्ष चुपचाप बस्दा उसलाई समेत बिउँझाउने गरी कोलाहल मच्चाउने काम भएको छ ।
हाम्रो पार्टीको नेताहरु किन यस्तो अढभङ्ग्याहा हुनु भएको हो ? सरकारले केही गरेन भनेर चिच्याउँदै गर्दा तपाईंहरु प्रधानमन्त्री भएको बेला के के काम भयो ? कुनकुन काम गर्नु भयो औंला गनेर देखाउन सक्नुपर्छ नि होइन र ? कमसेकम ३० महिनामा सक्ने भनेर थालेको पेट्रोलियम पाइपलाइन १५ महिनामा सकेको, विराटनगरमा रहेको भारतीय बाणिज्य कार्यालय हटाएको, चीनसँग कसैले नगरेको गर्न नसकेको पारवहन सन्धि गरेको, सुरुङ मार्गको काम अगाडि बढाएको, विदेशी कुटनैतिक निकायका व्यक्तिलाई मन्त्रीहरु भेट्न परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने व्यवस्था गरेको, केरुङ काठमाडौं, काठमाडौं पोखरा, पोखरा लुम्बिनी र पुर्व पश्चिम रेलमार्गको बिसतृत परियोजना प्रतिवेदन तयार बनाएको तथ्य होइन र ? देशमा झण्डै विगत भन्दा तिसौं गुना बढी बाटो कालोपत्र गरेको, पुर्वपश्चिम राजमार्ग चार लेन बनाउन थालेको, एरपोर्टहरु बुटिक बनाउने र नयाँ बनाउने काम गरेको आर्थिक ससुचकाङ्क राम्रो भएकोदेखि कयौं काम ओली सरकारले गरेको छ। यो सरकारले गरेको कामको प्रचारप्रसार पार्टीले गर्नु पर्दैन ?
सरकारले काम गरेन भनेर प्रचारप्रसार गर्दा अर्को पटक जनताले तपाईंहरूलाई मत दिन्छन् ? जनताको नजरमा सरकार गिराउँदा, काम नगरेको हल्ला पिटाउँदा जनताले मत दिन्छन् त ? कि चुनाव लड्ने यत्तिनै हो भनेर अहिल्यै सरकार विरुद्ध ज्यान फालेर लागेको हो ? चुनाव अब कहिल्यै आउँदैन ? पार्टीभित्र अहिले यस्तो गाईजात्रा केको लागि हो ? यो सैद्धान्तिक, वैचारिक छ ? अहं बिल्कुलै छैन । छ त केवल देशका लागि काम गरिरहेको केपी ओलीलाई असफल पारेर आफुहरु सत्तारोहण गर्ने कुत्सित मनसाय ।आफ्नो स्वार्थ होइन ? संसार कोरोनासँग जुध्दै छ, नेपाल अझ त्यो माथि प्राकृतिक विपत्तिसँग पनि जुध्नुपरेको छ । लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउनुपर्ने छ । भारतले नेपाललाई चेपेको छ, केपी ओलीविरुद्ध जेहाद छेडेको छ । यस्तो बेला जनतालाई राहात दिनुपर्ने बेलामा रोग प्राकृतिक प्रकोपसँग लड्नु पर्ने, राष्ट्रिय स्वाभिमान जोगाउन सबै एकहुनुपर्ने बेलामा भारत पट्टीको मागसँग ठ्याक्कै मिल्दोजुल्दो माग हाम्रो नेताहरुले किन गर्नु भएको हो ? जनता बुझ्न चाहान्छन, कार्यकर्ता जान्न चाहान्छन।
नेकपाको अहिले उत्पन्न गराइएको नेताहरुको इच्छामा सृजित सबै समस्याको एकमात्र समाधान मङ्सिरमै पार्टीको एकता महाधिवेशन हो । महाधिवेशन भन्दा बाहिर गएर खोजिने सवै समाधान कवल अस्थायी हुन । महाधिवेशन गरौं, स्थायी समाधान खोजौं । बकबक गरेर सिंगो नेकपाबिरुद्ध आफूलाई खडा नगरौं
यस्तो चरम सङ्कटको बेला सरकारलाई पार्टीको गुटबन्दीसँग लड्न विवश किन बनाईँदै छ कमरेडहरु ? अब यस्तो हर्कत बन्द गर्नुस, यी सब बकवास बन्द गर्नुस, एकीकरणको बाँकी रहेको काम पन्ध्र दिन या महिना दिनमा सक्नुस । संगठन विभाग प्रमुखले कति सदस्य नविकरण गर्नु भएको छ ? सङ्गठन कसरी सञ्चालन गर्नु भएको छ त्यो उहाँको कामले बताउने नै छ । अब तुरुन्तै सङ्गठित सदस्य फैसला गर्नुस । पूर्वमाओवादीका कति जना छन् रेकर्ड त छैन पनि होला, जति भए पनि भनेकै भरमा भए पनि सदस्य शुल्क असोजसम्म उठाइ सक्नुस । साथसाथै कात्तिक महिनाभित्र गाउँ नगर जिल्ला र प्रदेश अधिवेशन सक्नुस । अनि केन्द्रीय महाधिवेशन मङ्सिरमा गर्नुस । अध्यक्ष को हुने हो ? कसलाई चाहिएको छ ? सके सर्वसम्मतिमा नसके जनताको बहुदलीय जनवादको आलोकमा उभिएर निर्वाचनद्वारा नेतृत्व चुन्नुस। एकल अध्यक्ष बन्नुस । यो नै होइन र हाम्रो सबैभन्दा सर्वोत्तम लोकतान्त्रिक विधी हो ।
तपाईंहरु कोही नभ्याउने निहुँ झिकेर भाग्न पाउनु हुन्न अब । सक्नुहुन्छ नयाँ नेतृत्व दोस्रो पुस्तालाई दिनुस, सक्नु हुन्न आफै बन्नुस प्रधानमन्त्री ओलीले नउठ्ने कुरा गरिसक्नु भएकै छ । पार्टीभित्र गुम्सेर होइन, विचारमा बहस गरेर कार्यकर्तालाई आफ्नो बनाएर, रिझाएर चुनाव जित्नुस । तर यो वा त्यो बहाना बनाएर महाधिवेशन छल्न पाउनु हुन्न झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ कमरेडहरु । बिधिको कुरा गर्ने ? महाधिवेशनमा जानै नचाहने ? महाधिवेशनबाट निर्वाचित अध्यक्षले छाडनु पर्ने, हारेकालाई अध्यक्ष दिनुपर्ने पनि बिधि नै हो र ? यस्ता बकवास बन्द गर्नाेस । महाधिवेशन होस, ककस्लाई केपी ओली समाप्त पार्नु छ, महाधिवेशनको हलबाटै कार्यकर्ताको मतबाट पार्नुस । अव जोरजबर्जस्ती चल्दैन, विधान त्यही भन्छ।
तसर्थ अहिले सरकारलाई आफ्नो पाँच बर्षे अवधीसम्म राम्रोसँग काम गर्न दिनुस । दायाँबायाँ मानिस नभाँडियुन । पार्टीको नेतृत्व एकल हुनुपर्छ । एकल नेतृत्वले मात्रै पार्टी हाँक्न सक्छ । चुनाव फेरि आउँछ, तपाईहरुको कारणले पार्टी समाप्त नहोस । तसर्थ नेकपाको अहिले उत्पन्न गराइएको नेताहरुको इच्छामा सृजित सबै समस्याको एकमात्र समाधान मङ्सिरमै पार्टीको एकता महाधिवेशन हो । महाधिवेशन भन्दा बाहिर गएर खोजिने सवै समाधान कवल अस्थायी हुन । महाधिवेशन गरौं, स्थायी समाधान खोजौं । बकबक गरेर सिंगो नेकपाबिरुद्ध आफूलाई खडा नगरौं ।
प्रतिक्रिया दिनुहोस्