जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार १८:०५

पार्टी एकता बचाउने प्रस्तावमा दुई तिहाई बढी नेताको साथ : प्रचण्ड–माधवलाई नै घातक बन्यो त्यो षडयन्त्र


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई तिहाई भन्दा बढी नेता पार्टी एकताको पक्षमा देखिएका तथ्य खुलेको छ । अस्थिरताको पक्षमा उभिदै चुनावअगावै प्रधानमन्त्री र महाधिवेशनअगावै अध्यक्ष पद हत्याउने बरिष्ठ नेता माधवकुमार नेपालको खेलमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड परेर गुटबन्दी अघि बढाएको तथ्य खुलेपछि नेकपाका नेताहरु पूर्ववत बिचार समुह त्यागेर एकताको पक्षमा दृढतापुर्वक उभिएका हुन ।

नेकपाभित्र पार्टी एकता भएको केही समयदेखि नै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध बरिष्ठ नेता नेपालले अभियान सुरु गर्नुभएको थियो । पूर्वपार्टीको हैसियतअनुसार नेता झलनाथ खनालले आपत्ति जनाएपछि बरियतामा एक तह घटुवा भएसँगै नेपालले अध्यक्ष ओलीबिरुद्ध योजना बनाएरै सकेसम्म असहयोग र मौका परेको दिन अध्यक्ष र प्रधानमन्त्रीबाटै ‘कु’ खेलमा लाग्नुभयो । उहााको यस खेललाई प्रवक्ता नारायणकाजी श्रेष्ठले सुरुदेखि नै र बरिष्ठ नेता झलनाथ खनालले केही समय अघिदेखि साथ दिनुभयो । गत बर्षको मंसिर ४ गतको सचिवालय बैठकले दुई अध्यक्षको कार्यबिभाजन गरी सरकारको पूरा कार्यकाल अध्यक्ष ओलीले नेतृत्व गर्ने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मा प्रचण्डले लिने निर्णयसँगै सहज रुपमा अघि बढला भन्ने अपेक्षा पनि माधव–नारायणकाजी श्रेष्ठकै उक्साहटमा प्रचण्ड परेपछि अघि बढन नसकेको हो ।

‘कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी चलाउनु होला भनेर उत्साहित भएका थियौं तर उहाँले माधव नेपाल र झलनाथ खनाल समुहको नेता उक्साहटमा लागेर पार्टीको काम नै गर्नुभएन, जसरी पनि ओलीलाई फालेर आफू एकल अध्यक्ष बन्ने वा अध्यक्षसहित प्रधानमन्त्री बन्ने खेल खेल्नुभयो, त्यहीँबाट एकतामा दरार पैदा भयो,’ नेकपा स्थायी कमिटीका एक सदस्यले जनताटाइम्ससँग भने । ती नेताका अनुसार मंगलवारसम्म आइपुग्दा अध्यक्ष प्रचण्डसहित नेता नेपाल, खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहुमत देखाएर पार्टी नै बिभाजन गर्ने योजना अघि सारेपछि स्थायी कमिटीका सवै नेताहरु सतर्क बनेका हुन । पछिल्लो समय निरन्तर खुमलटार भेलामा रहनुभएका उपाध्यक्ष बामदेव गौतमले पनि पार्टी बिभाजनकै योजना देखेपछि आफ्नो ६ बुँदे धारणा सार्वजनिक गर्नुभएको खुलासा ती नेताले जनताटाइम्स डटकमलाई बताए ।

यो हो एकता जोगाउने उपाध्यक्ष बामदेवको प्रस्ताव

पार्टी विग्रह तत्काल रोक्नका लागि
दुवै अध्यक्ष समक्ष राखेको प्रस्ताव

१. कमरेड केपी शर्मा ओली एकता महाधिवेशसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने ।

२. कमरेड पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने ।

३. पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।

४. प्रधानमन्त्रीका दिनदिनैका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।

५. पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने ।

६. अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने ।

नेकपाका आम कार्यकर्ताको मन छुएको यो प्रस्तावमा आठ जना मात्रै बिपक्षमा देखिएका छन । बहुमत आफूहरुसँग भएकोले औपचारिक बैठक बसेरै पार्टी बिभाजनको घोषणा गर्ने तयारीमा रहेको बेला मंगलवार उपाध्यक्ष गौतमले यो सहमतिको प्रस्ताव राखेपछि स्थायी समितिमा सवै नेताहरु एकताको पक्षमा एकजुट बनेका हुन । जनताटाइम्स डटकमले स्थायी कमिटीमा रहेका तर कुनै पक्षमा नलागेका नेताहरुसँग गरेको सम्वादका क्रममा आठ जना नेताहरु मात्रै यो प्रस्तावको बिपक्षमा देखिनुभएको छ । दुई सदस्य भने केही नबताई रिजर्भ देखिनुभयो । अध्यक्ष ओलीले बैठक स्थगित गरेपछि मंगलवारको बैठकमा सहभागी भएकामध्ये आठ जना नेता मात्रै सहमति प्रस्तावको बिपक्षमा देखिनुभएको छ ।

एकता जोगाउने प्रस्तावको बिपक्षमा अध्यक्ष प्रचण्डसहित सचिवालयमा रहनुभएका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसहित अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, मातृका यादव र रघुजी पन्त देखिनुभएको छ । यस्तै उर्जामन्त्री बर्षमान पुन र शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफूहरु रिजर्भ बस्नुभएको छ । जता बहुमत पुग्छ, उतै लाग्ने भन्दै चुप बस्नुभएका पुन र पोखरेल एकताको बिपक्षमा उभिने प्रचण्ड समुहको बिश्वास छ । पुन प्रचण्ड र पोखरेल श्रेष्ठ निकट नेता हुनुहुन्छ । बैठकमा सहभागी भएकामध्ये भीम रावल, युवराज ज्ञवाली, पम्फा भुषाल, देव गुरुङ, घनश्याम भुषाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र जनार्दन शर्मा उपाध्यक्ष गौतमकै प्रस्तावमा सहमत देखिनुभएको छ । यसैगरी हरिबोल गजुरेल, भीम आचार्य, गोकर्ण विष्ट, लीलामणि पोखरेल, देवेन्द्र पौडेल, मुकुन्द न्यौपाने, गणेश साह, शक्ति बस्नेत, चक्रपाणि खनाल र रघुवीर महासेठ पनि एकताकै पक्षमा आफूहरु रहेको र गौतमको प्रस्ताव नै निकास रहेको निश्कर्ष आफू निकटसँग सुनाइरहनु भएको छ ।

उपाध्यक्ष बामदेव गौतमको प्रस्तावलाई अध्यक्ष ओलीले नै सहमति जनाइसक्नु भएको छ । मंगलवार साँझ निवासमै पुगेर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकता जोगाउने उपाध्यक्ष गौतमको प्रस्ताव स्वीकार्य रहेको सन्देश दिनुभएको हो । सो प्रस्तावमा सचिवालयमा रहनुभएका नेताहरु उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टले खुलेरै समर्थन गरिसक्नुभएको छ ।

यसरी हेर्दा बिभाजन गराउने चाहने शक्ति नेकपामा अत्यन्तै कमजोर बनेको छ । नेपाली भूमि समेटेर नक्सा जारी गर्दा प्रधानमन्त्रीबाट हटाउने भारतको योजना सार्वजनिक भइसक्दा पनि शीर्ष नेताहरु नै जसरी पनि ओलीमाथि बदला लिने उदेश्यका साथ लागेर पार्टी नै बिभाजन गर्न खोजेपछि सवै नेता एकसाथ उभिएर जवाफ दिनुभएको हो । जस्को कारण नेकपामा बिभाजन गराउने योजना बोक्ने समुह अहिले चरम अल्पमतमा परेको छ । नेकपामा लामो समयदेखि अध्यक्ष तथा प्रधानमन्त्रीबिरुद्ध गुटबन्दी गरिरहेको बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समुहलाई अध्यक्ष प्रचण्डले नै साथ दिएपछि बिवाद चरम बिन्दुमा पुगेको थियो । तर स्थायी कमिटीका नेताहरुले सुजबुझपुर्ण काम गरेपछि एकता टरेको संकेत मिलेको छ ।

यो पनि पढनोस

पार्टी एकता बचाउन बामदेवले राखे सवै नेता कार्यकर्ताको मन छुने ६ बुँदे प्रस्ताव (सूचीसहित)