जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १२:१६

पार्टी एकता बचाउन बामदेवले राखे सवै नेता कार्यकर्ताको मन छुने ६ बुँदे प्रस्ताव (सूचीसहित)


काठमाडौं, साउन १३

नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधानका लागि उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव राख्नु भएको छ । नेकपाको विवादमा सदैव निर्णायक देखिनु भएका उहाले सबैलाई मान्य हुने गरी विवाद समाधानको ६ विकल्प प्रस्तुत गर्नुभएको हो ।

उहाले प्रतिनिधि सभाको बाँकी कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायम रहने गरी सहमतिको प्रस्ताव पेश गर्नुभएको छ । यसैगरी प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहन दिनुपर्ने समेत प्रस्ताव गर्नुभएको छ । मंसिर ४ गते पनि दुई अध्यक्षबीच यही विषयमा सहमति बनेको थियो । तर, प्रचण्ड सो सहमति नमान्ने बताउदै आउनु भएको छ ।

उपाध्यक्ष गौतमले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, बैठकहरु पार्टी कार्यालयमा संचालन गर्ने प्रस्ताव पनि गर्नुभएको छ । उहाले प्रधानमन्त्रीका दिनदिनैका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने बताउनु भएको छ । यसैगरी, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने उल्लेख गर्नुभएको छ ।

उपाध्यक्ष गौतमले मन्त्रीपरिषद् पुनर्गठन गर्नुपर्ने प्रस्ताव समेत राख्नु भएको छ । ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेत प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिनुपर्ने’ पनि प्रस्ताव पेश गर्नुभएको छ ।

यस्तो छ उहाको प्रस्ताव

पार्टी विग्रह तत्काल रोक्नका लागि
दुवै अध्यक्ष समक्ष राखेको प्रस्ताव

१. कमरेड केपी शर्मा ओली एकता महाधिवेशसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने ।
२. कमरेड पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने ।
३. पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।
४. प्रधानमन्त्रीका दिनदिनैका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।
५. पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेत प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने ।
६. अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने ।

१३ साउन २०७७

वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)