जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार १७:२३

भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनसम्बन्धी संसदीय समितिको सभापतिमा गणेश पराजुली


काठमाडौं, असोज १४ । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा सांसद गणेश पराजुली चयन हुनुभएको छ।

बुधबार सभापतिका लागि पराजुलीको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत चयन हुनुभएको हो। उहाँलाई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन गरेका छन्।

समितिको पहिलो बैठक पनि बुधबार नै बसेको छ। रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न असोज ५ गते १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो।

समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य हुनुहुन्छ।

समितिको कार्यअवधि तीन महिना तोकिएको छ। आवश्यकताअनुसार समितिको म्याद थप गर्न सकिने व्यवस्था छ।

समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावको अध्ययन गर्नुका साथै भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्का कारण, प्रभाव तथा त्यसबाट भएको क्षतिसम्बन्धी विषयको अध्ययन गर्नेछ।