जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार १५:०९

देश व्यक्ति विशेषको हुकुम वा सनकमा होइन, विधि, पद्धति र संविधान अनुसार चल्नुपर्छ : निनुकुमारी कर्ण


काठमाडौं, असोज १४ । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा पक्राउ गरिएको विषयमा गम्भीर प्रश्न उठाउँदै सरकारले त्यसको कानुनी आधार र कारण स्पष्ट पार्नुपर्ने माग गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै सांसद कर्णले प्रत्येक नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व भए पनि नागरिकको स्वतन्त्रता खोस्ने कार्य कानुनी आधार र निर्धारित प्रक्रियाबिना गर्न नहुने बताउनुभएको हो। “हरेक नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हो, तर नागरिकको स्वतन्त्रता खोस्न पाइँदैन,” उहाँले भन्नुभयो।

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा पक्राउ गर्नुको कानुनी आधारबारे गम्भीर प्रश्न उठेको उल्लेख गर्दै सांसद कर्णले सुरक्षा चुनौती भए राज्यले सुरक्षा प्रदान गर्नुपर्ने, तर नागरिकको स्वतन्त्रता नियन्त्रण गरिएको हो भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक गर्नुपर्ने बताउनुभयो।राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत जबरासँग भेट गर्न नदिइएको विषयले थप गम्भीर प्रश्न खडा गरेको उहाँको भनाइ छ।

सांसद कर्णले व्यक्तिको विगतको पद, राजनीतिक धारणा, सार्वजनिक छवि वा विवादका आधारमा संविधानप्रदत्त अधिकारको प्रयोगमा विभेद गर्न नहुने बताउनुभयो। “कसैको विगतको पद, राजनीतिक धारणा, सार्वजनिक छवि वा विवादसँग हामी सहमत वा असहमत हुन सक्छौँ तर संविधानले प्रदान गरेको अधिकारको प्रयोग व्यक्ति हेरेर फरक हुनु हुँदैन,” उहाँले भन्नुभयो।

देश व्यक्ति विशेषको हुकुम वा सनकमा नभई विधि, पद्धति र संविधानअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै सांसद कर्णले कसैले कसुर गरेको भए निष्पक्ष छानबिन र कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्ने बताउनुभयो। “ देश व्यक्ति विशेषको हुकुम वा सनकमा होइन, विधि, पद्धति र संविधान अनुसार चल्नुपर्छ, राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो।

सांसद कर्णले जबरालाई पक्राउ गर्नुको कारण र त्यसको कानुनी आधारबारे सरकारले प्रतिनिधिसभामार्फत स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ।