काठमाडौं, असोज १४ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा रहेका इन्जिनियर पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान र अनुभव देश विकासमा उपयोग गर्न आग्रह गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयसँगै दीर्घकालीन नीति, प्राविधिक विषय र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।
‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, देशको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ प्रधानमन्त्री शाहले भन्नुभयो।
उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिन सुझाव दिनुभयो। चुनाव वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।
छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह तथा सांसदहरू तपेश्वर यादव, जगदीश खरेल, आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा. राम लामालगायत सहभागी हुनुहुन्थ्यो।
इन्जिनियर पृष्ठभूमिका सांसदहरूबाट पूर्वाधार, प्रविधि, सहरी विकास तथा दीर्घकालीन नीति निर्माणमा प्राविधिक ज्ञान र अनुभव प्रयोग गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।












प्रतिक्रिया दिनुहोस्