काठमाडौं, असोज १४ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्ट जवाफ दिन माग गर्नुभएको छ।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको रोष्ट्रमबाट नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिनुभएको भन्दै सांसद संग्रौलाले आजकाे बैठकमा उक्त अभिव्यक्ति सच्याउनुपर्ने माग पुनः उठाउनुभएको हो। “यसै सम्मानित रोष्ट्रमबाट गत जेठ १७ गते सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रो देशले पनि भारतको सीमा मिचेको छ भन्ने जुन राष्ट्रघाती अभिव्यक्ति दिनुभएको थियो, त्यो राष्ट्रघाती अभिव्यक्ति यसै सदनबाट सच्याइयोस् भनेर हामीले लामो समयदेखि भन्दै आएका छौँ,” उहाँले भन्नुभयो।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएपछि केही सांसदले उठेर आफ्ना विषय राख्न खोज्नुभएको थियो। बैठक सुरु हुनुअघि नै सांसदहरू उठेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ नभएको भन्दै बस्न आग्रह गर्नुभएको थियो।
सभामुख अर्यालले बैठक सुरु भएको घोषणा गरेपछि पुनः केही सांसद उठ्नुभएको थियो। त्यसपछि सभामुखले एक सांसदलाई विषय राख्न समय दिनुभएको थियो। सोही क्रममा सांसद संग्रौलाले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विषय उठाउँदै त्यसबारे सदनबाट स्पष्ट जवाफ आउनुपर्ने बताउनुभयो।
उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सच्याउनुपर्ने माग आफूहरूले लामो समयदेखि गर्दै आएको उल्लेख गर्दै विषयलाई पुनः प्रतिनिधिसभामा उठाउनुभएको हो।












प्रतिक्रिया दिनुहोस्