जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार १५:२५

शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ : केपी ओली 


काठमाडौं, असोज १४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिने सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकतालाई थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो।

अध्यक्ष ओलीले पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ। सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ।”

एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले निर्वाचनलाई केन्द्रित गरेर संगठन परिचालन गर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।

एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरणसमेत प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, “हामी एउटा मोर्चामा हारेका मात्र हौँ। सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ।”

अध्यक्ष ओलीले एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीले पनि प्रभावकारी उपस्थिति देखाउनुपर्ने बताउनुभयो। पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढंगले पुर्‍याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो। उहाँले आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर संगठन निर्माण, जनसम्बन्ध विस्तार तथा पार्टी अनुशासनमा ध्यान दिनसमेत निर्देशन दिनुभयो।

भर्चुअल बैठकमा एमाले महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिनुभयो।

उहाँले पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको र प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने बताउनुभयो।

महासचिव पोखरेलका अनुसार वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम अघि बढाइनेछ। लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कार्यान्वयनमा कडाइ गरिने उहाँले बताउनुभयो।

त्यसैगरी जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन संगठनात्मक गतिविधिलाई थप प्रभावकारी रूपमा सञ्चालन गरिने उहाँको भनाइ थियो।

भर्चुअल कार्यक्रममा पार्टी उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याललगायत नेताहरूको सहभागिता रहेको थियो।