मोरङ, असोज १४ । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनमा झडप भएको छ । क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया सुरू गर्ने तयारी भइरहेका बेला कार्यकर्ताबीच झडप भएको छ ।
सुन्दरहरैंचास्थित सिग्देल प्रतिष्ठानको गेटमा बुधबार भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मीलगायत नेता–कार्यकर्ता घाइते हुनुभएको हो । झडपपछि क्षेत्रीय अधिवेशनको मनोनयन प्रक्रिया प्रभावित भएको छ ।
घटनाबारे कांग्रेसभित्रै एक पक्षले अर्को पक्षमाथि नियोजित रूपमा आक्रमण गराएको आरोप लगाएको छ । यता क्षेत्रीय सभापति देवराज तामाङले उक्त आरोप अस्वीकार गर्दै घटनामा आफ्नो संलग्नता नरहेको बताउनु भएको छ ।
कांग्रेस सहमहामन्त्री डिला संगौलाकै सामू कार्यक्रमस्थलमा केही व्यक्ति फलामका रडसहित आएर तवदार लगायतमाथि आक्रमण भएको थियो । ‘क्षेत्रीय सभापतिले आफैं बोलाएको अधिवेशन हो । आफैंले दिएको निवेदनअनुसार निर्वाचन आयोग बसेर प्रक्रिया सुरु गर्ने क्रममा वरिपरि रक्सी खाएका मान्छे र फलामका रड लिएर आएर सबैमाथि आक्रमण गराउनु दुःखद् घटना हो,’ संग्रौलाले भन्नुभयो ।
संग्रौलाले तवदारलाई गाडीबाट निकालेरसमेत कुटिपिट गरिएको बताउनु भयो । ‘चुमनारायण तवदारमाथि पहिला गाडीमै कुटपिट भयो। त्यसपछि गाडीबाट निकालेर भाटाले कुटियो । चेतराज रेग्मी र अरू भाइहरूमाथि पनि आक्रमण भयो,’ संग्रौलाले भन्नुभयो।
घटनामा करिब पाँच–छ जना घाइते भएका छन । सो घटनामा क्षेत्रीय सभापति देवराजमाथि आरोप लागेको छ । तामाङले भने आफूले कसैमाथि आक्रमण गराउन निर्देशन नदिएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ ।
यसपटक क्षेत्रीय सभापतिमा तवदार र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर प्रमुख दाबेदारका रूपमा देखिनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्