जनता टाइम्स

१४ आश्विन २०८३, बुधबार १७:२१

दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश गर्न सर्वोच्चको आदेश


काठमाडौं, असोज १४ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई आदेश दिएको छ।

न्यायाधीश हरि फुँयालको इजलासले साइबर ब्यूरोका नाममा कारण देखाउ आदेश जारी गर्दै प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र त्यससम्बन्धी विवरणसहित जवाफ पेश गर्न आदेश दिएको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार बिहान प्रसाईंलाई उहाँकै निवासबाट पक्राउ गरेको थियो। साइबर ब्यूरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको हो।

रचनाले केही दिनअघि प्रसाईंले सामाजिक सञ्जालमा आफ्ना छोरा तथा जेनजी आन्दोलनका शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै उजुरी दिनुभएको थियो।

उक्त उजुरीका आधारमा प्रसाईंविरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। सर्वोच्चले भने पक्राउको कानुनी आधार र कारण स्पष्ट पार्न प्रहरीलाई आदेश दिएको हो।