काठमाडौं, असोज १३ । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र विज्ञताको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ विचार र विकासका विषयमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री शाहले प्राविधिक विषयमा दक्ष सांसदहरू नीति निर्माण गर्ने महत्त्वपूर्ण स्थानमा रहेकाले आफ्नो ज्ञान, सीप र अनुभवलाई देश विकासमा उपयोग गर्नुपर्ने बताउनुभयो। इन्जिनियर पृष्ठभूमिका १७ जना सांसदहरूसँगका छलफलमा उहाँले इन्जिनियरहरू एक्स्ट्रा अर्डिनरी भएका बताउनुभयो । उहाँले भन्नुभयो, “तपाइहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”
प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई ‘असाधारण’ व्यक्तिका रूपमा उल्लेख गर्दै त्यस्ता व्यक्तिहरूले नयाँ उपाय र अवधारणा अघि सारेर त्यसलाई कार्यान्वयनमा लैजान सक्ने बताउनुभयो। “असाधारण मानिसले सधैँ नयाँ उपाय ल्याउँछ र त्यसैमा काम गर्छ। त्यसरी काम गर्न सकियो भने पाँच वर्षमा मुलुक बनाउन सकिन्छ,” प्रधानमन्त्री शाहले भन्नुभयो।












प्रतिक्रिया दिनुहोस्