जनता टाइम्स

२६ भाद्र २०७७, शुक्रबार १०:०९

अमेरिकी चुनावमा चीन र भारतको मुद्दा


अमेरिकी चुनावमा चीनको कन्फ्युसियस स्कूलमाथि पनि व्यापक कटाक्ष भइरहेको छ । अमेरिकीहरुको आरोप छ कि पश्चिम जगतमा कन्फ्युसियस संस्थाको माध्यमबाट अमेरिकीलगायत युरोपेली संघ संस्थालाई प्रचुर आर्थिक लाभ दिएर चीनले जासुसी गरिरहेको छ । अमेरिकी चुनावमा चीनको दबदाबालाई रोक्न दुई वटै राजनीतिक दलहरुले आफ्नो योजना र नीति जनता समक्ष सार्वजनिक गरिरहेको छ 

विपिन देव

भू–मण्डलीकरण जीवनको हरेक क्षेत्रलाई प्रभावित गरेको छ । अमेरिकी चुनावमा भू–मण्डलीकरणको राप र तापले विभिन्न भाष्यलाई निर्माण गरेको देखिन्छ । वास्तवमा कोरोनाको कारणले गर्दा भूमण्डलीकरणको नकारात्मक पक्ष यत्र, तत्र र सर्वत्र महशुस भइरहेको छ । भूमण्डलीकरण भन्दा पहिले संसारका प्रत्येक देश एउटा स्वतन्त्र पानीजहाज जस्तै समुद्रमा आफ्ना क्षमता र सामर्थ्यअनुसार सयर गरिरहेको थियो । तर भू–मण्डलीकरणले गर्दा सबै जहाजहरु बिलिन भएर एउटा क्रुजको क्याबिनको रुपमा रुपान्तरित भयो । अब संसारमा एउटै विशाल पानीजहाज छ । सारा देशहरुको बासिन्दाहरु क्याबिनको यात्री जस्तो भएको छ । एउटाको गल्तीले सारा पानीजहाजको यात्रीलाई प्रभावित पार्न सक्दछ । कोरोना यसको प्रतिनिधि उदाहरण हो । एक देशबाट उत्पन्न भाइरस सारा संसारलाई प्रभावित गर्दै हरेक नीति, नियम, चालचलन, रहन सहनलगायत जीवनको हरेक पक्षलाई प्रभावित गरेको देखिन्छ ।

विगतका वर्षमा अमेरिकी चुनावमा महत्वपूर्ण मुद्दाहरु अमेरिकी जनताको आन्तरिक समस्याहरुमा केन्द्रित हुन्थ्यो । तर वर्तमान अवस्थामा अमेरिकी चुनावमा परराष्ट्र नीति सम्बन्धी मुद्दाहरुले छापाखानालगायत हरेक चुनावी बहस र व्याख्यानमा यथेष्ठ ठाउँ ओगटेको छ । परराष्ट्र मुद्दाहरुमध्ये अमेरिकाको चीन सम्बन्धी नीतिमा व्यापक बहस भइरहेको छ । अमेरिकाको दुई वटै मुर्धन्य पार्टीहरु रिपब्लिकन र डेमोक्र्याट चीनप्रति आक्रामक भएको देखिन्छ । अर्थात अमेरिकी जनताको दिल दिमागमा चीनप्रति रहेको आक्रोशलाई मलजल गर्न र त्यसलाई चुनावमा पुञ्जीकृत गर्न दुई वटै पार्टीहरुको म्याराथुन भइरहेको अवस्था छ ।

दुई वटै राजनीतिक दलहरुले चिनियाँ राष्ट्रपति सी जिनपिङको नीतिको कटु आलोचकको रुपमा संखनाध गरिरहेको अवस्था छ । अर्थात दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय सामुद्रिक कानुनविपरित ८० प्रतिशत भूभागमा चीनले आफ्नो अधिपत्य राख्नु, अमेरिकी तथ्यांक चोरी गर्नु, साइबर अपराध गर्नु, अमेरिकासँगको व्यापारमा व्यापारिक नीति नियमलाई मानमर्दन गर्दै अमेरिकालाई व्यापार घाटामा राख्नु, रेशममार्गको योजनाअन्तर्गत गरिब र पिछडिएका राष्ट्रहरुलाई डेब्ट ट्रयापमा फसाउनु जस्ता अनेकौं आरोपहरु अमेरिकी नेताहरुको मुखमण्डलबाट सम्प्रेशित भइरहेको अवस्था छ । अमेरिका र चीनको सम्बन्धको बारेमा गहन अध्ययनकर्ताको रुपमा सिंगापुर लीक्वायन विश्वविद्यालयको प्राध्यापक डा. किशोर मेह्बुबानीले चीन र अमेरिकाको कटुतालाई बडो रोचक रुपमा आफ्ना चर्चित पुस्तक “ह्याज चाइना वान” र “ह्याज वेस्ट लोस्ट” मा चर्चा गरेका छन् । अमेरिकी मनोविज्ञानलाई सुक्ष्म रुपमा विश्लेषण गर्दै डा. मेह्बुबानीले के भनेका छन् कि अमेरिका प्रथम विश्व युद्धदेखि सोभियत विघटनसम्म आफूलाई विजेताको रुपमा लिएका छन् ।

अमेरिकाले आफूलाई दोस्रो शक्तिको रुपमा कल्पना समेत गर्न सकेको छैन । तर संसारका १२० वटा मुलुकहरु सँगचीनको व्यापार अधिक भएको अवस्था छ भने अमेरिकामा मात्र ३ लाख चिनियाँ विद्यार्थीहरु अध्ययन गरिरहेको अवस्था छ । चीनले अमेरिकाद्वारा परिचालित भूमण्डलीकरणको भर्याङबाट नै संसारको दोस्रो महाशक्तिको रुपमा स्थापित भएको परिघटना अमेरिकी नेतृत्वलाई पाच्य छैन । अर्कोतर्फ चीनले संसारको हरेक शक्तिसँग परास्त भएको इतिहास छ । जापान, ब्रिटेन, सोभियत रुस लगायत अनेकौं शक्तिहरुले चीनलाई आक्रान्त पारेको कुरा चिनियाँ मानसपटलमा छ । अर्थात चिनियाँ लघुताभाषको भाष्यलाई चिनियाँ कम्युनिष्ट पार्टीले पुञ्जीकृत गर्दै आउने दिनमा रेशममार्ग जस्ता विभिन्न भीमकायी परियोजनाहरुको माध्यमबाट सारा संसारमा चिनियाँ सरसामान, चिनियाँ संस्कृति र चिनियाँ पुँजी र प्रविधिलाई विस्तार गर्दै लैजाने सपना कम्युनिष्ट पार्टीले चिनियाँ जनताहरु को मनमष्तिस्कमा प्रत्यारोपित गरेका छन् ।

यस सन्दर्भमा अक्सफोर्ड विश्वविद्यालयबाट चीन र भारत सम्बन्धको शीर्षकमा विद्यावारिधि गरेका डा. जोनाथनले आफ्ना पुस्तक “चाइना भिजन अफ भिक्ट्री”मा भनेका छन् कि चिनियाँ कम्युनिष्ट पार्टीले नवउदारवादलाई दोहन गर्दै शताब्दीयौंदेखिको पछौटेपनलाई परित्याग गर्दै कम्युनिष्ट पार्टीको छत्रछायामा नयाँ आर्थिक र सामरिक उपनिवेशबादतर्फ लाग्न चीन अभिप्रेरित रहेको छ । अर्को शब्दमा भन्ने हो भने डा. जोनाथनले चीनको हंगकंगको नीति, ताइवानको नीति, भारतसंगको नीति र दक्षिण चीन सागरमा लिएको नीतिलाई यही परिवेशमा उनले मुल्यांकन गरेको देखिन्छा । यस तर्कबाट मेह्बुनानी सहमत देखिदैनन । अमेरिकी सामरिक नीतिकार जर्ज वाल्टानको भनाइलाई उदृत गर्दै मेह्बुबानीले भनेका छन कि अमेरिकाले चीनलाई खुला समाज, नवउदारवाद, प्रजातान्त्रिक समाजमा परिवर्तन गर्न खोजेको थियो ।

यही अभिप्रायले हेनरी किसिनजर र निक्सनले चीनलाई विश्व व्यापारसँग जोडे । तर चीन ४ हजार वर्षको पौराणिक सभ्यता भएको मुलुकलाई २ सय ५० वर्षको इतिहास भएको मूलुक अमेरिकाले कसरी परिवर्तन गर्न सक्ला भन्ने मेह्बुबानीको प्रश्न रहेको छ । अर्कोतर्फ चीनले गरेको अभूतपूर्व प्रगतिमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा नै भएको छ । अमेरिकी चुनावमा चीनको कन्फ्युसियस स्कूलमाथि पनि व्यापक कटाक्ष भइरहेको छ । अमेरिकीहरुको आरोप छ कि पश्चिम जगतमा कन्फ्युसियस संस्थाको माध्यमबाट अमेरिकीलगायत युरोपेली संघ संस्थालाई प्रचुर आर्थिक लाभ दिएर चीनले जासुसी गरिरहेको छ । अमेरिकी चुनावमा चीनको दबदाबालाई रोक्न दुई वटै राजनीतिक दलहरुले आफ्नो योजना र नीति जनता समक्ष सार्वजनिक गरिरहेको छ ।

अर्कोतर्फ अमेरिकी चुनावमा “भारत” ले पनि यथेष्ट ठाउँ लिएको देखिन्छ । अमेरिकामा भारतीयमुलका जनसंख्या ४८ लाख २१ हजार १३४ रहेको तथ्यांक ले देखाउँछ । इजरायली नेता नितिनयाहुले एक अन्तर्वार्तामा भनेका थिए कि सिलिकन भ्यालीमा हिब्रु र हिन्दी मात्र सुनिन्छ । भनाइको तात्पर्य के हो भने अमेरिकाको उच्च बौद्धिक र प्राविधिक जगतमा यहुदी र भारतीयहरुको संख्या प्रचुर मात्रामा रहेको देखिन्छ । अमेरिकी राष्ट्रपतिले आफ्नो चुनावी प्रचारको क्रममा हाउडीदेखि अहमदाबादको मेडिटेरियम स्टेडियमसम्म मोदीसँग रहेको सामीप्यतालाई चुनावी अस्त्र बनाएर भारतीय मुलका अमेरिकी मतदातालाई आकर्षण गर्न खोजेको देखिन्छ । ट्रम्पको पुत्रद्वारा ट्विट गरेको १ मिनेट ४७ सेकेन्डको भिडियो भाइरलको रुपमा देखिन्छ । ट्रम्पले आफुलाई इण्डो प्यासिफिक नीतिअन्तर्गत भारतको अगुवाई स्वीकारेको, गल्वानमा चिनियाँ सैनिकसँग भारतको भिडन्तको अवस्थामा भारतसँग सामरिक रुपमा उभिएको र विश्वको हरेक मञ्चमा दुईवटै प्रजातान्त्रिक शक्तिहरुको समीकरण भइरहेको फेरिहस्त चुनावमा सार्वजनिक गरेको देखिन्छ ।

ट्रम्पको नीतिलाई विपक्षीले लफाबाजीको संज्ञा दिएका छन् । विपक्षीले ट्रम्पलाई भारत विरोधीको दृष्टान्त दिँदै एच. वन भिषालाई खास गरेर उच्च जनशक्तिलाई अमेरिकाले दिने भिषा हो जसमा ७० प्रतिशतले भारतीयले नै पाउने गरेको छ । आउने दिनमा डेमोक्रयाटको सरकार भएको खण्डमा यो भिषा उपलब्ध गराउने वाचा गरेको देखिन्छ । भारतीय मुलका मतदातामा उत्साह र उमंग जगाउन रणनीतिक रुपमा उपराष्ट्रपतिको उम्मेदवारको रुपमा कमला ह्यारिसलाई (भारतीय मुलका महिला) को नामांकन गरेको देखिन्छ । कमला ह्यारिसले भारतीय संस्कृति र भारतीय प्रजातन्त्रलाई एकातर्फ प्रशंशा गरेकी छिन भने मोदीको कटु आलोचना गरेकी छन ।

मोदीको कश्मिर नीतिले गर्दा मानवअधिकार उल्लंघन भएको कुरा कमला ह्यारिसले चुनावी अभिभाषणमा जनता समक्ष सार्वजनिक गरेकी छन् । अमेरिकी चुनावमा भारतप्रति सकारात्मक भाष्य निर्माण भइरहेको अवस्था छ । अर्थात चीन र भारतप्रति फरक–फरक भाष्य अमेरिकी चुनावमा निर्माण भइरहेको परिघटनालाई डा. मेह्बुबानीले टिप्पणी गरेका छन कि अमेरिका र सोभियत रुसको टक्करले गर्दा नै चीनले लाभांश लिएर दोस्रो महाशक्तिको रुपमा अवतरित भएको दृष्टान्त भारतले लिँदै अमेरिका र चीनको टक्करबाट भारत अगाडि बढनु पर्दछ । तर यस तर्कमा भारतका सामरिक जानकार डा. राजामोहन सहमत देखिँदैनन । उनको तर्क के छ भने भारतको चीनसँगको बोर्डर समस्या, चीन र पाकिस्तानको गठजोड र चीनसँगको व्यापार घाटाका कारणले गर्दा भारतीय अर्थतन्त्रले तत्कालै चिनियाँ अर्थतन्त्रको आकार लिन सक्ने अवस्था छैन । तर प्रजातान्त्रिक बाटो, आसियानसँग सुमधुर सम्बन्ध, रुससँग सन्तुलित सामरिक सम्बन्ध र अमेरिकासँग सर्वपक्षीय गठबन्धनले गर्दा केही दिनमा नै भारत पनि अहिले विश्वको पाँचौ अर्थतन्त्रबाट विश्वको तेस्रो अर्थतन्त्रको रुपमा छलाङ्ग लिन सक्ने कुरालाई नकार्न मिल्दैन । यसरी परराष्ट्र नीतिको विमर्श अमेरिकी चुनावमा आउनु जस्ता परिघटनाले भूमण्डलीकरणको प्रभावको रुपमा लिन सकिन्छ ।