जनता टाइम्स

५ आश्विन २०७७, सोमबार १३:५४

गान्धी दर्शन बन्नसक्छ कोरोना रोक्ने अचुक अश्त्र


कोरोनालाई नियन्त्रण गर्न गान्धीको सुत्र लाभदायी देखिन्छ भने वर्तमान नेतृत्वले गान्धीको सूत्रलाई आंशिक रुपमा पनि प्रयोग गर्न चेष्टा गर्नु पर्दछ

विपिन देव

भौतिकवादको अन्धवेगबाट रुमलिएका मानव समाजलाई कोरोनाले पूर्णविराम लगाएको देखिन्छ । मानव आफ्ना अतृप्त इच्छाको पूर्तिको लागि प्रकृतिको पाशविक रुपमा दोहन गरेर वातावारण र प्राकृतिक नीति नियमलाई समेत प्रभावित गरेको देखिन्छ । कोरोनाले मानवको जीवनशैली र चिन्तनलाई प्रभावित गरेर जीवनलाई एक किसिमले कैद गरेको देखिन्छ । कोरोनाको कहरले गर्दा एकातर्फ गरिबी, बेरोजगारी, अराजकता र अन्यौलता बढिरहेको छ भने अर्कोतर्फ विश्वका शक्तिशाली र सम्पन्न मुलुकहरुले आफ्नो पाशविक चरित्रलाई साक्षात्कार गर्न आफ्नो बजेटमा व्यापक वृद्धि गरेर हतियार भण्डारण गरिरहेको परिघटनाले के प्रष्ट गर्दछ कि तथाकथित सम्राट बन्ने नेताहरु मानवको वेदनाप्रति सहानुभूति र संवेदना छैन । दक्षिण चीन सागरमा सारा संसारका शक्तिशाली राष्ट्रहरुको हतियार भण्डारण, इण्डोप्यासिफिक क्षेत्रमा सैन्य गोलाबन्दी, इजरायल र यूएईको सम्झौता, विश्व सामरिक बुद्धिचालमा इरानको भूमिका, रसियाको आफ्नो वैश्विक घटना र परिघटनाहरुमा असंख्य गरीबहरुको पीडा र कष्टलाई सम्बोधन गर्न चेष्टा गरिएको छैन । अर्थात विश्व परिदृश्यले के पुष्टि गर्दछ कि कोरोनाले नेतृत्व शक्तिशाली भएको छ र जनता कमजोर भएका छन् । तर जनता भनेका जनार्दन नै हुन । पिल्सिएका, मिचिएका, थिचिएका र हेपिएका जनतालाई सार्वभौम, शक्तिशाली र अजय बनाउने गान्धी दर्शनको प्रस्तावना रहेको देखिन्छ ।

गान्धीवाद र माक्र्सवादमा तात्विक अन्तर के छ भने गान्धीले शक्तिको स्रोत व्यक्तिको नैतिक चरित्रमा पाउँछ तर माक्र्सवादको आग्रह शक्तिको केन्द्र समुहमा रहेको कुरा गर्दछ । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक अन्तर्वार्तामा के भनेका थिए कि गान्धी जिउँदो भएको भए उनले एक दिन गान्धीसँग रात्रीको शाकाहारी खाना खाने थिए । यसको अर्थ प्रतिकात्मक देखिन्छ । अर्थात संसारको सबभन्दा सामरिक र आणविक सम्पन्न सैनिक शक्तिको मुखियाले हतियारविहीन, पदविहीन र अर्थविहीन व्यक्तिसँग बसेर सँगै भोजन गर्नुको अर्थ गान्धीको नैतिक शक्तिलाई सम्मान गर्नु हो । कोरोनाको कहरबाट उत्पन्न सामाजिक परिदृश्यको अवस्थालाई मध्यनजर गर्दै नेतृत्व वर्गले गान्धीको सूत्रलाई मनन गर्दा बढी उपयोगी हुने थियो ।

अर्को शब्दमा भन्ने हो भने गान्धीले के आग्रह गरेका थिए कि कुनै पनि नीति नियम बनाउँदा समाजको सबभन्दा उत्पीडित र प्रताडित वर्गको अवस्थालाई मध्यनजर राख्नुपर्दछ । अर्थात कुनै पनि सरकारको नीति दरिद्र नारायण (समाजको सबभन्दा गरिब व्यक्ति) को अवस्थालाई मध्यनजर गरेर निर्माण गरेको खण्डमा त्यो नीति पक्कै नै सफल हुन्छ भन्ने गान्धीको आग्रह रहेको छ । कोरोनाको कहरले गर्दा नेताहरुमा शक्ति, सत्ता र सुविधाप्रतिको आकर्षण बढी रहेको देखिन्छ । कोरोनाको कहर ले गर्दा एकातर्फ भ्रष्टाचारमा व्यापक वृद्धि, नेतृत्व वर्ग शक्तिशाली र साधारण जनता लाचार भएको अवस्था छ । लिओ टल्सटायद्वारा लिखित पुस्तक “वार एण्ड पिस” मा एउटा भौतिकवादी पात्रको प्रतीकात्मक चरित्रको व्याख्या रहेको छ । एउटा पात्र जो कि पक्षघातको पीडाले छटपटाइ रहेको छ तर आफुसँग भएको भौतिक सम्पति र वैभवप्रतिको आशक्ति उनमा बढिरहेको छ । वर्तमान अवस्थामा मुर्धन्य नेताहरु जीवनको शान्त दशकको यात्रा अवतरण गरेर पांचपुस्ते अन्न भण्डारणको लागि कुनै जमर्काे बाँकी राखेका छैन तै पनि टायलटोवइको पात्र जस्तै आफ्नो शक्ति र वैभवको आशक्तिलाई परित्याग गर्न साहस बटुलीरहेको छैन । गान्धीदर्शन यही पक्षलाई आलोकित गर्न चेष्टा गरेको देखिन्छ ।

लिओ टाल्सटाय, रस्किनर थारोको दर्शनबाट प्रभावित गान्धीले ट्रष्ट सिपको अवधारणालाई अघि सारेका छन । अर्थात संसारको वस्तुलाई न्युनतम उपभोग गरेर त्यसमा कम से कम स्वामित्व राख्ने चेष्टा गर्नुपर्दछ । वास्तवमा गान्धी रेकोडऱ्ो, कार्ल माक्र्स र एडम स्मिथको आर्थिक विचार धारासँग अनबिज्ञ थिएनन तर सम्मोहित थिएन । अर्को शब्दमा भन्ने हो भने गान्धीले वर्ग संघर्षको अवधारणालाई खारेज गरेका थिए, जसबाट उनका सहयात्री र अनुयायीहरु पनि सहमत थिएनन । पण्डित नेहरुले आफ्नो आत्मकथामा उल्लेख गरेका छन कि भारत स्वतन्त्र भएपछि राजा र महाराजा रहने छैनन । तर गान्धीले यो अवधारणालाई प्रतिवाद गरेका थिए । उनको कथन के थियो भने यदी राजा र महाराजा आफ्नो शक्ति र सामथ्र्य जनकल्याण र लोककल्याणको समर्पण गर्न चाहन्छ भन्ने त्यस्तो राजा र महाराजालाई समाजले मानपदवी र अलङ्कारबाट आभूषित गर्न कुनै क्षती छैन । तर गान्धीले विलासीभोगी, ढोंगी र लालाचामा चुर्लुम भएका शासकप्रति कटाक्ष गरेका छन । यदी कुनै नेताको भरणपोषणको लागि राज्यकोष रिक्त हुने अवस्था छ भने राज्यले त्यस्ता नेताको दतित्वबाट मुक्त हुनु पर्दछ । अर्थात नेताहरु आफ्नो जीवनशैली र दिर्घायुको लागि राज्यकोषलाई न्युनतम प्रयोग मात्र गर्नु पर्दछ, दोहन गर्नु हुँदैन । अब गान्धी दर्शनको कोरोनाको सन्दर्भमा हेर्दाखेरी केही काल्पनिक प्रश्नहरु केही लेखकहरुले गरेका छन ।

यसै सन्दर्भमा संसारका सबभन्दा पुरानो पत्रिका “ल्यान्सेन्ट” मा डा. अभयले एउटा मात्र लेख प्रकाशित गरेका छन । आलेखमा के आग्रह गरिएको छ भने यदी गान्धी अहिलेको कोरोनाको अवस्थामा बाँचेको भए उनले नौ वटा कार्यक्रमहरु संचालन गर्ने थिए । तीमध्ये सामुदायिक कार्यक्रम, छिमेकीलाई सबभन्दा पहिले सामाजिक सौहार्दता, स्वच्छता, सरसफाई मुर्धन्य हुन । स्मरणीय छ कि हात धुने अभियानलाई गान्धीले राष्ट्रिय मुद्दा बनाएका थिए । सरसफाइलाई मानव मुक्तिसँग जोडेका थिए । हतियारको सट्टा प्रत्येक व्यक्तिको हातमा कुचोको लागि अपिल गरेका थिए । कुनैपनि कार्यक्रमको आयोजन गर्दा त्यहाँ चर्पीको व्यवस्थापन र सरसफाईलाई कार्यक्रमको उठानको मुद्दा बनाउँथे । गान्धी राउण्ड टेबलमा सहभागी हुँदाखेरी अक्स्फोर्ड विश्वविद्यालयले उनलाई व्याख्यानको लागि आग्रह गरेका थिए । गान्धीले व्याख्यानको लागि रुची देखाएन तर अक्स्फोर्ड विश्वविद्यालयको चर्पीको अवस्थालाई अवलोकन गर्न इच्छा जाहेर गरेका थिए । गान्धीको हरेक अभिव्यक्ति प्रतिकात्मक थियो । भनाइको अर्थ गान्धीदर्शनले सरसफाईलाई उच्च महत्व दिन्थ्यो । कोरोनालाई नियन्त्रण गर्न गान्धीको सुत्र लाभदायी देखिन्छ भने वर्तमान नेतृत्वले गान्धीको सूत्रलाई आंशिक रुपमा पनि प्रयोग गर्न चेष्टा गर्नु पर्दछ ।

कोरोनाले वास्तवमा भौतिकवादको मानसिकताबाट निर्मित भोगवाद, बजारवाद, शहरीकरण र सुविधायुक्त जीवनलाई चुनौती दिएको छ । भूमण्डलीकरण निर्भरमुखी समाज निर्माण गरेको देखिन्छ । नेपालको प्रत्येक गाउँ शहरमा निर्भर छ । शहर काठमाडौंमा निर्भर देखिन्छ र काठमाडौं विदेशको निवेशमा निर्भर छ । नेपालको प्रत्येक गाउँ उजाडउन्मुख अवस्थामा छ । यस परिपेक्षमा कोरोनाले एकातर्फ रेमिट्यान्सलाई न्यूनीकरण गर्न उन्मुख छ भने अर्कोतर्फ आम्दानी र रोजगारको कमीले धेरै नेपालीहरुको गाउँ फर्किनु पर्ने बाध्यता देखिन्छ । त्यस अवस्थामा गान्धीको गाउँको अवधारणा र त्यसको कार्यरूप सम्बन्धी बहस चलाउनु पर्दछ । वीपी कोइरालाले पनि यही सूत्रलाई अगाडि सार्दै समाजवादको सैद्धान्तिक प्रारूपअनुसार आफ्नो दर्शन सार्वजनिक गरेका थिए । अर्थात नेपालको गाउँमा अशिम क्षमता छ । हरेक कुराको पूर्ति स्थानीय श्रोतबाट पुरा हुन सक्छ ।

यस अर्थमा नेपालको सन्दर्भमा गाउँ निर्माण नै टड्कारो आवश्यकता हो । संघीयताको अवधारणामा कार्यकर्तालाई विभिन्न आर्थिक कार्यक्रमको माध्यमबाट चारित्रिक र नैतिक रुपमा कमजोर बनाएर उच्च नेतृत्वगण रजाइमा लिप्त भएको अवस्था छ । यस प्रतिकुल अवस्थामा गान्धीको सुत्रअनुसार चरित्र निर्माण, नैतिक बल, स्वावलम्बी र सदाचारी बन्न एउटा संकल्पको खाँचो छ । अहिले नेतृत्व र कार्यकर्ताको बीचमा संवादहीनता छ । गान्धी प्रत्येक दिन २ सय वटा पत्रहरुको जवाफ लेखेर सबैसँग सम्बन्ध र सम्पर्क बनाउने गर्थे । गान्धीद्वारा लिखित पत्र र विचार ९० वटा संग्रहमा प्रकाशित छ । अर्थात वर्तमान अवस्थामा संवाद र संचारलाई उच्च महत्वदिएर देशलाई जागरणको अवस्थामा लग्नु पर्दछ । कोरोनाको कहरबाट उत्पन्न समस्यालाई गान्धीको सुत्रबाट सम्बोधित गर्न प्रयास गर्नुपर्दछ ।