गणतन्त्र वास्तवमा कुनै पनि समाजको स्वाभाविक र अग्र्यानिक व्यवस्था हो । राजतन्त्र समाज विकासको क्रममा एउटा ऐतिहासिक परिस्थितिले निर्माण गरेको अस्थायी संरचना हो । गणतन्त्र कुनै पनि समाजको इतिहासमा लामो समय चलेको र स्वाभाविक प्रक्रियाबाट निर्माण भएको संरचना हो । कुनै काल खण्डमा जनताले चुनेका अगुवाहरूले राज्यशक्तिको दुरुपयोग गर्दै एक प्रकारको बंश परम्परा निर्माण गरे र जन्मजात श्रेष्ठताको अलोकतान्त्रिक पद्दति स्थापित गरे । त्यसकारण राजतन्त्र अस्थायी, कृतिम र थोपरिएको व्यवस्था थियो । गणतन्त्र कुनै पनि समाजको स्वाभाविक प्रतिबिम्ब हो चरित्र हो । कोही पनि मानिस जन्मजात श्रेष्ठ भएर जन्मिने होइन, उसका गुण र पौरखहरूले उसलाई श्रेष्ठ बनाउने हो । समाज विकासको स्वाभाविक नियमलाई चुनौती दिएको राजतन्त्रलाई अन्त्य गरेर हामीले ठीक गर्यौं ।
गणतन्त्र स्थापना भएको भर्खर १२ वर्ष भयो । यति छिटै सयौं वर्ष सञ्चालन भएका संस्थासँग तुलना गर्ने र यसको औचित्यमाथि प्रश्न उठाउने कुरा पनि समय सीमाका दृष्टिले अत्यन्तै असान्दर्भिक हुन्छ । किनभने अहिले स्थापना गरेको गणतन्त्र नयाँ संस्थागत तथा सुदृढ हुँदैछ । यति हुँदाहँुदै ढुक्कसँग के भन्न सक्छौं भने हामी सही दिशामा छौं । लोकतन्त्रको सर्वोच्च रूप नेपालमा स्थापना गरेका छौं । गणतान्त्रिक पद्धतिभित्रै नेपाल सुखी बन्ने छ, समृद्ध बन्ने छ र सुखी बन्ने छ ।
राजतन्त्र विकासमा बाधक हुने कुरा त स्वाभाविक नै हो । विकास खाली आर्थिक वृद्धिको अङ्ग मात्रै या केही भौतिक पूवाधार काम मात्रै होइन । विकासको महत्वपूर्ण पाटो जनताले आफूलाई स्वतन्त्र, सार्वभौम ठान्ने या देशको एक किसिमको मालिक ठान्ने भावना पनि हो । जनताको सुदृढ मनोबल बेगर कुनै पनि क्षेत्रको विकास गर्न सक्नुहुन्न । अपवादका रूपमा राजतन्त्र भएका मुलुकले पनि विकास गरेका छन । म तुलना गर्न चाहन्नँ । तर नेपालमा राजतन्त्र आर्थिक विकास सामाजिक विकासमा बाधक बन्यो । किनभने जनताले कहिले पनि त्यो पद्धतिमा स्वामित्व आफ्नो पहुँच र सहभागिता स्थापित गर्न पाएनन् ।
हामीले गणतन्त्र घोषणा २०६५ साल जेठ १५ गते गर्यौं । २०७२ सालसम्म हामी एक प्रकारले संक्रमणमा थियौं । त्यसपछि संविधान कार्यान्वयनका लागि दुई वर्ष खर्चिनु पर्यो । गणतान्त्रिक पद्धतिले परिकल्पलना गरेको ढाँचामा विकासको यात्रामा अगाडि बढ्न लागेको एक÷ढेड वर्ष भएको छ । त्यसैले अहिले मूल्याङ्कन गर्ने पर्याप्त आधारहरू छैनन तर केही राम्रा सङ्केत देखिएका छन् । यो वर्ष हामी सात प्रतिशत आर्थिक वृद्धि गर्दैछौं । एकै वर्षमा झण्डै चार खर्व जीडीपीमा थपिएको छ । विश्वले नेपाललाई द्वन्द्वमा रुमलिएको राजनीतिक अस्थिरता भएको देश होइन कि आर्थिक विकासमा तीव्र फड्को मार्न लागेको एउटा उदीयमान देशका रूपमा मूल्याङ्कन गर्न थालेको छ । मलाई लाग्छ भोलिका दिनमा यो क्रम अझै तीव्र हुँदै जाने छ । कुनै पनि मुलुकले अँगालेको राजीतिक पद्धति र त्यसले अँगालेको विचारधाराले चाहिँ मुलुकबीचको सम्बन्धलाई तय गर्दैन ।
हाम्रो पद्दतिमा परिवर्तन र प्रणालीमा भएको परिवर्तनले देशहरूको सम्बन्धमा तात्विक असर त पर्दैन तर जतिजति उन्नत लोकतन्त्र स्थापित हुन्छ, त्यति त्यति अन्तराष्ट्रिय प्रतिष्ठा स्वीकारीयता र भूमिका बढ्दै जान्छ । जब अन्तराष्ट्रिय मञ्चमा नेपालले हासिल गरेका युगान्तकारी उपलब्धिका बारेमा व्याख्या गर्छौं, हामीहरूले शान्तिपूर्ण ढङ्गले गणतन्त्र स्थापना गर्यौं । संविधान प्रगतिशील र समावेशी छ । निर्वाचित निकायमा ४१ प्रतिशत महिला प्रतिनिधित्व छ । मृत्युदण्ड उन्मूलन गरेको देशमा पर्छौं । हाम्रो संविधानले शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्यजस्ता मौलिक अधिकार प्रत्याभूति गरेको छ । जनताका छोराछोरी राष्ट्रपति हुन सक्छन । जब हामी यी कुरा बताउँछौं विश्वको ध्यान तानिन्छ र हाम्रो प्रोफाइल बढ्छ । तर पनि देश र देशबीचको सम्बन्ध राजनीतिक प्रणालीले मात्र निर्धारण गर्दैन ।
हामीले गणतन्त्र र परिवर्तनप्रति जनतामा निकै ठूलो आशा जगाएका छौं । जनताका अपेक्षा अलिक अस्वाभाविक ढङ्ले बढायौं । हरेक चिजको विकासको एउटा आफ्नै नियम हुन्छ । हामीले ठीक जग बसाल्यौं कि बसालेनांै वा ठीक दिशातर्फ छौं कि छैनौं भन्ने हो । हिजो हामीले जगाएका आकांक्षा र डेलिभरीका बीचमा कहीँ न कहीँ ग्याप त छ, त्यसलाई स्वीकार गर्नुपर्छ । म आफंै पनि सरकार सञ्चालनको महत्वपूर्ण स्थानमा छु । सुधार गर्नुपर्ने धेरै ठाउँ छन जस्तो लाग्छ । अहिलेको गति पर्याप्त छैन भन्ने लाग्छ । अहिले हाम्रो काम गराइका शैलीमा धेरै परिवर्तन ल्याउनपर्छ जस्तो लाग्छ । आम नागरिकमा गति तीव्र भई दिए हुन्थ्यो जस्तो लाग्नु स्वाभाविक हो । तपाईहरुले आन्दोलनमा आउनुहोस भन्नुभयो आयौं, गणतन्त्र ल्याउनुहोस भन्नुभयो, ल्यायौं, संविधान बनाउने भन्नुभयो दुई दुई पटक संविधानसभाका लागि भोट हाल्यौं । अस्थिर सरकारले विकास भएन, स्थिर सरकार भन्नुभयो, दुई तिहाइ मत दियौं । हाम्रो तर्फबाट दिन के बाँकी छ र अब त तपाईहरूले दिने हो नि भनेर आम नागरिकले भन्नु स्वाभाविक हो । त्यो जनताको चासो उत्सुकता, आलोचना एक हदसम्म हाम्रा लागि ऊर्जा हो ।
त्यसले हामीलाई अगाडि बड्न ऊर्जा प्रदान गर्छ । हरेक रात जब म कार्यालयबाट वा कार्यक्रमबाट घर फर्कन्छु । सामाजिक सञ्जालबाट वा अन्य माध्यमबाट नागरिकका प्रतिक्रिया सुन्छु, भोलि अझ राम्रो काम गर्नुपर्छ है । मेरो यो गतिले पुग्दैन भन्ठान्दछु । एक खालका मानिसका मनसाय बेग्लै छन । उनीहरूको साम्राज्य खोसिएको छ । जनतामा जानु पर्दैनथ्यो । जनताको मन जित्नु पर्दैनथ्यो । यहाँ राजतन्त्र मात्र जन्मजातका आधारमा थिएन । अन्य मानिस पनि जन्मजात श्रेष्ठ जस्तै थिए । राज्यका अङ्गहरूमा सयौं वर्षदेखि उनीहरूको हालिमुहाली थियो । एक प्रकारको कोटरी बनेको थियो । कसैले प्रश्न गर्न पाउँदैनथे ।
हामीलाई त पत्रकारहरूले प्रश्न गर्न पाउँछन । चारपाँच वर्ष पछि फेरि जनतामाबीच जवाफ दिनु पर्छ । हामीलाई दण्डित गर्ने ठाउँ छ । उनीहरूलाई दण्डित गर्ने ठाउँ छैन । उनीहरू तिरमिराइरहेका छन । त्यसैले सबै दोष गणतन्त्रान्त्रिक पद्धतिमाथि लाउने गर्छन । यो वर्षको नीति कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले ‘मेरो सरकार’ भन्दा त्यो न त हिजो आवद्ध पार्टीका सरकार भएका नाताले भनिएको थियो, कुनै वैचारिक आग्रह वा अलोकतान्त्रिक आग्रह नै थियो । त्यो विशुद्ध राष्ट्राध्यक्ष भएका नाताले अभिभावकत्व थियो । तर त्यसलाई यसरी उछाल्ने काम भयो । हिजो राजाले मेरो सरकार भन्दा स्वाभाविक ठान्ने, जयजयकार गर्नेहरू आज गणतन्त्र सबै जनताको हो । गणतन्त्रको प्रतीकले त्यसको अपनत्व लिन खोेज्दा आक्रमण भयो । यसले हाम्रो मनस्थितिलाई देखाउँछ ।
यो वर्षको नीति कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले ‘मेरो सरकार’ भन्दा त्यो न त हिजो आवद्ध पार्टीका सरकार भएका नाताले भनिएको थियो, कुनै वैचारिक आग्रह वा अलोकतान्त्रिक आग्रह नै थियो । त्यो विशुद्ध राष्ट्राध्यक्ष भएका नाताले अभिभावकत्व थियो
अहिले पनि केही मानिसहरू त्रिशूलीलाई फर्काएर गोसाइ कुण्डतर्फ लग्न सकिन्छ कि भनेर कोशिष गरिरहेका छन । यो सर्वथा अनुचित व्यर्थ र सर्वथा मूखर्ता पूर्ण कुरा हो । इतिहासमा यो राजतन्त्र २४० वर्ष ‘टेस्टेड भयो’ । राजतन्त्रको इतिहास त्योभन्दा धेरै अगाडि करीब दुई हजार वर्षदेखि ‘टेस्टेड’ भइरहेको थियो । हाम्रा केही कमी होलान या अहिले हाम्रो ध्यान पुग्न नसकेका विषय होला । त्यसलाई लिएर जुन पद्धतिमाथि प्रहार भइरहेको छ । त्यसलाई हामीले किमार्थ स्वीकार्न सक्दैनौं । हो पद्धति विकासको अवस्थामा छ, गणतान्त्रिक मूल्य मान्यता अनुसारको आचरण पद्धति संस्कृति निर्माणकै क्रममा छौं हामी तर देखिएका सानातिना कमी कमजोरीको दोष गणतन्त्रलाई लगाउनु परिवर्तनलाई उल्टो दिशातर्फ फर्काउने कुचेष्टा मात्रै हो ।
गणतन्त्रको आन्दोलन उत्कर्षमा पुगिरहेका बेला बगी रहेको पानीमा हात धुन धेरै मान्छे जोडिन आए, उनीहरूभित्रै हृदयदेखि गणतान्त्रिक थिएनन् करकापले आएका थिए । १२ बुँदे सहमति हुँदा खास बुँदामा गणतन्त्र उल्लेख गर्ने कि पूर्ण लोकतन्त्र उल्लेख गर्ने भन्ने बारेमा चलेको बहसदेखि लिएर विभिन्न पार्टीहरूको महाधिवेशनको रेकर्डदेखि कयाबिनेटमा प्रस्तावित संसदमा भएको बहस, संविधानसभाको चुनावपछि भएका बहस हेर्नुभयो भने कतिपय साथीहरू मन नलागी नलागी लतारिएर गणतन्त्रमा आएको अवस्था हो ।
गणतन्त्र सुदृढ गर्नुपर्ने बेला उनीहरुले आफ्नो त्यतिबेलाको अरुचिलाई विभिन्न ढङ्गले प्रस्तुत गर्न थालेका छन् । दुःखलाग्दो कुरा हो कि नेपालका सबैभन्दा पुराना लोकतान्त्रिक पार्टीमा पनि धर्मको बहस अनि राजतन्त्र फर्काउने बहस गर्न थाल्नु भएको छ । म के भन्छु भने जन्मजात श्रेष्ठताका आधारमा कोही मानिस राजा हुन योग्य छ भन्ने वकालत गर्ने मानिस लोकतान्त्रिक हुन सक्दैन र समाजवादी हुने त कुरै भएन त्यो पाखण्ड मात्र हुन्छ । अहिलेका दलहरूमा अलिकति असमझदारी बढ्दा विकासको गति सोचे जस्तो गतिमा बढ्न नसक्दा पुरानो व्यवस्था पक्षधरमा केही आशा पलाएको पनि हुन सक्छ । त्यही भएर तीन चार कोणबाट गणतन्त्रलाई प्रहार भइरहेको म देख्छु ।
दुःखलाग्दो कुरा हो कि नेपालका सबैभन्दा पुराना लोकतान्त्रिक पार्टीमा पनि धर्मको बहस अनि राजतन्त्र फर्काउने बहस गर्न थाल्नु भएको छ
ठूलो क्रान्तिपछि प्रतिक्रान्तिका प्रयास हुन्छ–हुन्छ । एकजना विद्वान्को भनाइ छ, गुमेको स्वर्ग फर्काउन पुरानो व्यवस्थाका पक्षधरले एक पटकका सम्पूर्ण बल लगाएर लाग्छन । उनीहरूलाई म त्यति ठूलो चुनौती देख्दिनँ । ठूलो चुनौती के हो भने हामीले धेरै छोटो समयभित्र गणतन्त्रको लाभ जनतासमक्ष पुर्याउनु पर्छ, त्यो लाभ भनेको राजनीतिक स्वतन्त्रता मात्र होइन, उनीहरूको सामाजिक, आर्थिक जीवनमा रुपान्तरण र उनीहरूको जीवनमा खुशीयाली र समृृद्धि हो । त्यो काम गरेर हामीहरू गणतन्त्रलाई सुदृढ गर्नुपर्छ भन्ने लाग्छ ।
राजनीतिक नेताहरु यो समाजका उपज हुन । उनीहरुमा कमी कमजोरी हुन सक्छन् । हामीले हेर्ने भनेको निष्ठापूर्वक देश र जनताका लागि काम गरिरहेका छन कि छैनन । प्रधानमन्त्री भन्ने गर्नुहुन्छ, मान्छेको आयुको सीमा होला । योग्यताको सीमा होला तर इमानको सीमा हुनु पर्दैन होला । यसको मतलब इमानदारीपूर्वक काम गर्ने हो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि मात्र विकासका केही एजेण्डाको बहस हुन थालेको हो । विकास एजेण्डा बन्न थाल्यो । केहीले प्रतिष्ठाको विषय बनाएर रेलकोे, पानी जहाजको, जलमार्गको विरोध गर्छन । यो बहस कमसेकम केपी ओलीको कारणले भित्रिएको हो ।
हामी डाटामा बोल्न थालेका छौं । हामी सन २०२२ भित्र अल्पविकसित मुलुक हुने र २०३० सम्ममा मध्यम आय भएको मुलुक हुने तय गरेर छलफलका केन्द्रित हुन थालेका छौं । हाम्रा योजनाहरूले सपना देखाउन थालेका छन् । २५ वर्षभित्र हामी कहाँ हुन्छौं ? १० वर्षपछि कहाँ हुन्छांै ? भन्ने सपना देख्न थालेका छन । सपना अनुसार काम नहुँदा घरीघरी निराशा पनि हुन्छ । त्यो स्वाभाविक पनि हो । अहिलेको हाम्रो विरोधाभाष के हो भने गाडीको इञ्जिन बलियो छ तर गाडीका अन्य अवयव पुराना, थोत्रा छन । त्यसका अवयवले काम गर्न नसकेको स्थिति छ । सामान्य कमी कमजोरीलाई अतिरञ्जित गरेर नकारात्मक भावना फैलाउने जुन कोशिश भइरहेको छ, त्यो उचित होइन भन्ने ठान्दछु ।
कुनै युद्धमा जानुपूर्व युद्ध जितिन्छ भन्ने आत्मविश्वास सर्वाधिक महत्वपूर्ण हो । हामी राजनीतिमा लाग्दा पुरानो सोच राख्ने गाउँका बुबाहरूले भन्नुहुन्थ्यो, कुहिनाले पहरो ढलेको देखेका छौँ ? तिमीहरूकै कुहिनो भाँचिन्छ, पहरो ढल्दैन, तर पहरो त ढल्यो त हामीसँग आत्मविश्वास थियो मनोबल थियो । अहिले हामी गरीबीरुपी पहाडलाई फोर्ने अभियानमा छौं । केही मानिस भन्छन यो देशमा केही पनि हुँदैन केही भन्छन, यो देशमा विकास नै हुँदैन । दुई वर्षभित्र लोडसेडिङ अन्त्य हुन्छ भन्दा पागल कराएको भन्थे मान्छेहरू । आज लोडसेङिग छैन । यथार्थ हो । रेलका कुरा अब कागजमा ड्रइङमा आउन थाले । पानी जहाजका कुराहरू, जलमार्गका कुरा र्यापिड ट्रान्सपोट सिस्टमका कुरा, एक्पे्रस वे का कुराहरू हाम्रै अगाडि आएका छन् । निर्माणका चरणमा छन । त्यो बन्न टाइम लाग्न सक्ला । हाम्रो निर्माण क्यापासिटीमा समस्या छन । समय लाग्ला, नेपाल त त्यो युगमा प्रवेश गर्यो, यसका लागि वर्तमान नेतृत्वलाई धन्यवाद दिनुपर्छ प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ । विकासलाई बहसमा ल्याइयो । विगतका १० वर्षमा हामीले विकासका बहस कहिले गरेनौं या सपेक्षतामा गणतन्त्रका ती दिनलाई हामी उदीयमान गणतन्त्र भएकाले कयौं पद्धति नबसेकाले कहिले काहीँ अल्मलिएको हुन सक्छ ।
हामीले हासिल गरेका राजनीति उपलब्धप्रति अन्तराष्ट्रिय समुदायमा ठूलो चाख छ । रुचि छ, सकारात्मक सद्भाव छ । हामीले मौलिक ढङ्गले शान्ति प्रक्रिया पूरा गर्र्यौं भन्दा धेरैका लागि अध्ययन गर्ने विषय बनेको छ । हामीले ४० प्रतिशत महिला सहभागिता छ भन्दा ए नेपालजस्तो देशले त्यस्तो ठूलो उपलब्धि गरेका भन्छन । म एउटा उदाहरण दिन चाहन्छु, चीनमा हालै भएको बेल्ट एण्ड रोड फोरमका क्रममा चीन भ्रमणमा थियौं, जापानका एक जना वरिष्ठ राजनीतिज्ञले सम्माननीय राष्ट्रपतिज्यूलाई भेट्नुभयो । भेटको मुख्य उद्देश्य नै के थियो भने नेपाल अरू कुरामा पछाडि होला तर तपाईंहरूले लैङ्गिक समावेशीका गरेको कुराबाट सिक्न चाहन्छौं भन्नुभयो । त्यस्ता कुराले हामीलाई छवि उज्यालो बनाउन मद्दत पुग्छ ।
हामी राजनीतिक स्थायित्व हासिल गरेर समृद्धिको यात्रामा छौं । हामी तपाईहरूको सद्भाव साथ चाहन्छौं, लगानी सहायता चाहन्छौं । तपाईको व्यापारको सहुलियत चाहन्छौं भन्दा त्यसप्रति एक प्रकारको सद्भाव छ । राजनीतिक परिवर्तनले आफैंले आर्थिक रुपान्तरण ल्याउने होइन, आर्थिक रुपान्तरका निम्ति गर्नुपर्ने धेरै काम हुन्छन् ।
राजतन्त्रवादी संसदमा छैनन, राजतन्त्रवादीको आरोप के छ भने यो नयाँ व्यवस्था विधि प्रक्रिया पुर्याएर ल्याइएन । गणतन्त्रलाई पनि जनमत संग्रहबाट पारित गरेर लागू गर्नुपर्दथ्यो भन्ने झिनो श्वर छ । रविन्द्र मिश्रजीको अन्तर्वार्तामा पनि त्यो कुरा छ
राजतन्त्रवादी संसदमा छैनन, राजतन्त्रवादीको आरोप के छ भने यो नयाँ व्यवस्था विधि प्रक्रिया पुर्याएर ल्याइएन । गणतन्त्रलाई पनि जनमत संग्रहबाट पारित गरेर लागू गर्नुपर्दथ्यो भन्ने झिनो श्वर छ । रविन्द्र मिश्रजीको अन्तर्वार्तामा पनि त्यो कुरा छ । क्रान्ति भन्दा ठूलो ऐतिहासिक जनआन्दोलनभन्दा ठूलो जनमत संग्रह केही पनि हुँदैन । त्यसो भन्ने साथीहरुले २०६२ चैत २४ गतेदेखि २०६३ साल वैशाख ११ गतेका जुलुसहरूका भिज्युल हेरे हुन्छ ।
त्योभन्दा ठूलो जनमत सङ्ग्रह के हुन सक्छ ? संसारमा यसरी नै परिवर्तन भएका छन् । ती विषयलाई संविधानसभाले संस्थागत गर्यो । जनताबाट चुनिएको समावेशी संविधानसभाले अत्यधिक बहुमतले गणतन्त्र पारित गयो । म पूर्व राजावादीको त्यो कुरालाई स्वाभाविक ठान्छु । राजनीतिक मुद्दा बचाइ राख्न केही गर्नुपर्छ तर गणतन्त्रका लागि लडेका र आफूलाई नयाँ शक्ति भन्नेहरूले राजतन्त्रप्रतिको मोह देखेर उदेक लाग्छ । पछाडि नर्फनुहोस साथीहरू, मेरो त्यही आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्