जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १८:३८

सरकारको आक्रमक दशैं अनुगमन योजना : उपभोक्ता ठग्ने व्यापारीलाई तत्काल पक्राउ गर्ने


काठमाडौं, असोज ९

तरकारीको भाउ महंगो बनाईरहेका बेला अनुगमनलाई तिव्र बनाएको सरकारले दशैं अनुगमनलाई आक्रमक बनाउने भएको छ । उपभोक्ता ठग्ने, कम मुल्यमा सामान ल्याएर महंगोमा बेच्नेलाई तत्कालै नियन्त्रणमा लिनेदेखी पक्राउ गर्नेसम्मको योजना बनाएको छ ।

यसअघिका अनुगमनमा सरकारी टोलीले पसल केही दिन सिल गर्ने, जरिवाना गर्ने लगायतका काम गरेपनि यसपटक भन्ने पक्राउ नै गर्ने योजना ल्याएको छ । साथै विगतमा भन्दा पनि धेरै जनशक्ति परिचालन गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।

विभिन्न निकायसँग समन्वय गरेर ३० वटा टोली बनाएको विभागले निर्देशक अधिकृतलाई असोज १३ देखी तीन दिने प्रशिक्षण समेत दिने भएको छ । असोज १६ गतेबाट अनुगमन शुरु गर्ने विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिनुभयो ।

अनुगमनलाई व्यापक बनाउन सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका थप कर्मचारी परिचालन हुनेछन् । सामान्य प्रशासन मन्त्रालयले १६ जना निर्देशन अधिकृत पठाइसकेको र उनीहरुले बिहीबारदेखि नै काम सुरु गरेका छन् । त्यस्तै, उद्योग मन्त्रालयले पनि त्यत्ति नै संख्यामा कर्मचारी पठाउन लागेको छ ।

विभागले यो हप्ताभर भने कारबाही नगरी जानकारी र सचेत गराउने जनाएको छ । गुणस्तर मापदण्ड पूरा गर्न, उपभोक्ता संरक्षण ऐनलाई पालना गर्न, कोभिड १९ बाट बच्ने सुरक्षाका उपाय अपनाउन जानकारी गराउने विभागले जानकारी दिएको छ ।

अनुगमनलाई दशैँ बजारमा केन्द्रित गरिनेछ । दशैँमा धेरै खपत हुने सामानको अनुगमन सम्बन्धित निकायबाट हुने भएको छ । विभागले अनुगमनको क्षेत्र पनि छुट्याएको छ। खाद्यान्न, माछामासु, अण्डा, मिठाइ, दूध तथा दुग्धजन्य पदार्थ, पानी, औषधि, फलफूल, तरकारी, चिनी, लत्ताकपडा, निर्माण सामग्री, एलपी ग्यास, इन्धनका साथै अन्य आवश्यक वस्तु तथा सेवा अनुगमनका क्षेत्र रहेको विभागले जनाएको छ।

विभागको नेतृत्वमा हुने बजार अनुगमनमा अन्य निकाय पनि साथमा रहने छन्। काठमाडौं जिल्ला प्रशासन, काठमाडौं महानगरपालिकालगायतका अन्य सरकारका अनुगमन अधिकार प्राप्त निकायहरु यसमा संलग्न हुनेछन्। उनीहरुको अनुगमनको कार्य क्षेत्र पनि विभाजन गरिएको छ ।

यसअनुसार नेपाल गुणस्तर तथा नापतौल विभागले नापतौल, निर्माण सामग्रीको गुणस्तर, पेट्रोलियम पदार्थ तथा एलपी ग्यासहरु अनुगमन गर्नेछ। यस विभाग र यसका ११ वटा कार्यालयबाट अनुगमन हुनेछ। खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले मसला, मिठाइ, खाद्य पदार्थ, पानी, दूध तथा दुग्धजन्य पदार्थ र पशुपक्षीको दानाको अनुगमन गर्नेछ। यसले विभाग र अन्य ४३ कार्यालयबाट मुलुकभर अनुगमन गर्नेछ। त्यस्तै, औषधि, मास्क, सेनिटाइजरलगायतका वस्तुको अनुगमन स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागबाट हुनेछ ।