जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार २१:३३

जबजबारे इश्वर पोखरेल भन्नुहुन्छ – नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो


काठमाडौ ।

उपप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य इश्वर पोखरेलले जनताको बहुदलीय जनवादका विषयमा पुन एक पटक चर्चा गर्नुभएको छ । नेकपा महाधिवेशनतर्फ उन्मुख हुने अवस्था आउने तरखर गर्दा उहाले जबजको विषयलाई जोडतोडका साथ उठाईरहनु भएको छ । पछिल्लो समय उहाले सामाजिक सञ्जालमा ‘जनताको बहुदलीय जनवाद बुझ्ने हो भने’ त्यसमा आफ्नो बुझाई राख्नु भएको छ ।

यस्तो छ पोखरेलको जबज बारे बुझाई

जनताको वहुदलीय जनवाद बुझ्ने हो भने
…………………………………………………………..
जनताको बहुदलीय जनवाद –
यो सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन । नत यो अत्यन्त आदर गरिएका दिवंगत नेताको नाम सम्झेर भावुकतावश उल्लेख गरिएको नामाकरण नै हो । नेपाली विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार हो ( जनताको बहुदलीय जनवाद ! यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो र नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशा निर्देश गर्ने विचार पनि हो । यसले नेपालको क्रान्तिकारी परिवर्तन सम्वन्धमा सैद्धान्त्तिक र नीतिगत प्रश्नहरूको आधारभूत रूपमा समाधान गरेको छ ।

जबज को जन्म जडतामा जकडिएर भएको होइन । नेपालको कम्युनिष्ट आन्दोलनका अग्रजहरूले अघि सारेका राजनीतिक विचार र मान्यताका सकारात्मक पक्षहरूको जगमा उभिएर ,अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नकारात्मक अनुभवहरूको निर्मम समीक्षा गरेर तथा मार्क्सवादी दर्शन र सिद्धान्तबाट निर्देशित हुँदै यो विचार विकसित भएको हो । विगतमा ‘राजाको शासन भएकावेला’ ज्यान जोगाउन छड्के हान्दै अघि सारिएको औसरवादी विचार होइन वा कुनै धारलाई क्रमभंग गरिदिउँ भनेर अघि सारिएको मौसमी विचार पनि होइन । यो गतिमै जन्म्यो , गतिमै विकसित हुँदै गतिमै अघि बढ्छ पनि । जडताकै विरोधमा यो अघि बढ्छ र बढ्दैजान्छ पनि । जनताको वहुदलीय जनवादले जनवादी राज्यसत्ताको लोकतान्त्रिकरण, आन्दोलनको लोकतान्त्रिकरण, पार्टीको लोकतान्त्रिकरण र समग्र कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण सम्वन्धी मान्यतालाई सशक्त ढंगले अघि सारेको छ ।

सेवा, संघर्ष, प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीतिका आधारमा संगठनात्मक जीवनलाई व्यवस्थित गर्नु पर्छ भन्ने मान्यता राख्छ जनताको वहुदलीय जनवादले । ‘अहिलेको अवस्थामा केही न केही नयाँ विचार बनाऔं’ भन्दै विकसित र स्थापित विचारका विरूद्धमा अन्यथा नबुझ्नु – नबोल्नु राम्रो !!