काठमाडौं, मंसिर ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरभेटी शारदा अधिकारीको शैलुङ इन्टरप्राइजे कार्वाहीमा परेको छ । अध्यक्ष प्रचण्डको आडमा ठेक्का पार्ने तर काम नगरी मुलुकको हरिबिजोग बनाउने काम जारी रहेपछि मल प्रकरणमा प्रचण्डका घरभेटी अधिकारीको कम्पनी दोस्रो पटक कार्वाहीमा परेको हो ।
प्रचण्डकै आडमा रहेर किसानलाई समस्यामा पार्ने काम गरी भारतबाट रासायनिक मल ल्याउने ठेक्का पाएको अधिकारीको सैलुङ इन्टरप्राइजेजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले दोस्रो पटक कारबाही गरेको छ । ३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको सैलुङ इन्टरप्राइजेजले तोकिएको समयमा ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको हो ।
कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीका अनुसार सैलुङलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको छ । गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेभित्र ल्याउनुपर्ने भए पनि नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटी जफत गरिएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिनुभयो । असार र साउन महिनामा धानमा हाल्ने मल ल्याउन नसकेर सैलुङले यसअघि पनि कारबाही भोगिसकेको छ । कात्तिक २४ गतेसम्म मल ल्याउनेगरी गत असार १८ गते सैलुङसँग कृषि सामग्री कम्पनीले सम्झौता गरेको थियो । तर दोस्रो पटक पनि तोकिएको समयमा मल नल्याएप्छि कार्वाही गरिएको हो ।
सरकारलाई युरिया मल आपूर्ति गरिदिने ठेक्का लिएका कम्पनीले सो मल तोकिएको समयमा आपूर्ति नगर्दा मलको अभाव भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले हालसम्म मल आपूर्ति गर्न नसकेका हुन । पुस–माघमा ठेक्का हात पारेका ती दुई कम्पनीले भदौ २० गतेसम्म सम्पूर्ण मल आपूर्ति गरिसक्नुपर्ने थियो तर हालसम्म आपूर्ति गर्न नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । ती दुई कम्पनीले २५–२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका थिए । यो सिजनमा कम्तीमा ५० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ र त्यति नै मात्रामा ती कम्पनीले समयमा आपूर्ति नगर्दा किसानले समस्या भोग्नुपरेको कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताउनुभयो ।
कृषि सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीका अनुसार भदौ २० गतेसम्म मल आपूर्ति गर्ने सम्झौता थियो तर हालसम्म आपूर्ति हुने अवस्था छैन । साल्ट टे«डिङ कर्पोरेसनले भने पाएको कोटा अनुसार आफ्नो मल ल्याउन सफल भएको छ । आफ्नो कोटाको साढे २२ हजार टन युरिया टेन्डर गरेर जेठ पहिलो साता नै भारतको कोलकाता बन्दरगाहसम्म ल्याइसकेको थियो । कोरोना महामारीले लगाइएको बन्दाबन्दीका कारण केही समय उतै रोकियो तर अहिले साल्ट ट्रडिङले बिस्तारै त्यो मल आयात गरिरहेको छ । वीरगञ्ज र विराटनगर नाकाबाट तीन हजार मेट्रिक टन मल आइसकेको छ भने अरू आउने क्रममा रहेको साल्टले जनाएको छ । यसरी एउटा कम्पनीले ल्याउँदा अर्को कम्पनीले ल्याउन नसक्दा प्रश्न उठेको जनाइएको छ ।
कृषि सामग्री कम्पनीले गत पुस र माघमा ५० हजार मेट्रिक टन युरिया ल्याउन बोलपत्र आह्वान गरेको थियो । सो बोलपत्र शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनीको मल्टिपल कम्पनीले सस्तोमा कबोल गरेका थिए । यी दुई कम्पनीले सस्तोमा बोलपत्र कबोल गरेकै कारण यो लफडा भएको कृषि सामग्री केन्द्रका सम्बन्धित अधिकारी बताउँछन् । सस्तो दरमा बोलपत्र कबोल गरिहाले तर त्यसमा घाटा हुने देखिएपछि सुरुदेखि नै ती कम्पनीले मल ल्याउन आनाकानी गरेको जनाइएको छ । कृषि सामग्री कम्पनी लि. का अनुसार सैलुङ इन्टरप्राइजेजले प्रतिटन ३२०.२५ डलर प्रतिमेट्रिक टन र होनिको कम्पनीले प्रतिटन ३०९.९० डलरमा युरिया मल ल्याउने गरी ठेक्का पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्