६ माघ २०७७, मंगलबार ००:००

प्रचण्डलाई जनयुद्धकी अपाङ्ग लडाकुको खुलापत्र : तपाईंको कुर्सीका लागि फेरि किन कोही घाइते-अपांग-बिधवा र टुहुरा बन्ने ?


तर, आज मैले मुख खोलेकी छु र यो पत्र लेख्दै छु । किनकि, तपाइँले फेरि हामीजस्ता युवाहरूलाई “ननभेज आन्दोलन”मा आउन आह्वान गर्नुभएको छ भन्ने मैले समाचारहरू पढेर थाहा पाएँ।आन्दोलन “ननभेज” वा हिंसात्मक हुने भैसकेपछि फेरि कोही अङ्गभङ्ग होलान् । कोही शहीद होलान । कोही विधवा होलान । ती तपाइँका नयाँ कार्यकर्ताले अङ्गभङ्ग र शहीद वा विधवा बन्नुभन्दा पहिले बेलैमा तपाइँको बानी थाहा पाउन सकून र बेलैमा उचित निर्णय लिन सकुन भनेर मात्रै अहिले आएर यो पत्र लेखेकी हूँ

योजना रेग्मी

म नेपालको माओवादी आन्दोलनका सर्वोच्च कमाण्डर र फेरि एकपटक “ननभेज” वा हिंसात्मक र आवेगपूर्ण आन्दोलनका आह्वानकर्ता प्रचण्डको नाममा खुला पत्र लेख्न बसेकी छु। तर, कहाँबाट सुरु गरूँ ?, कहाँ अन्त्य गरूँ ? भनेर अलमलमा छु ।

सुरूमै एउटा कुरा भनी हालुँ । म माओवादी आन्दोलनको शहीद परिवार र अपाङ्ग हुँ । महिला हूँ, विधवा थिएँ, तर, म अहिले तपाइँका नजरमा शहीद परिवार होइन । किनकि म एउटा विधवाले पुनःविवाह गरें । पुरुष भएको भए पुनःविवाहपश्चात पनि शहीद परिवार रहन्थें । तर, महिला भएकोले पुनःविवाहित म शहीद परिवार रहिन । त्यसैले मलाई तपाइँका कारिन्दाहरूले कुनै पनि शहीद परिवारको सङ्गठनमा राख्न उपयुक्त ठानेनन। तैपनि मेरो पहिलो प्रेमलाई मैले मुटुभरि सजाएकी छु ।

मैले जनयुद्धमा एउटा खुट्टा गुमाएकी हुँ । नेपाल सरकारको नजरमा म जनयुद्धको अपाङ्ग लडाकु हुँ । तर, तपाइँको नजरमा म जनयुद्धको अपाङ्ग होइन । किन भन्ने पक्कै पनि यहाँले बिर्सनु भएको छैन । किनकि, गत चुनावमा मेरो पनि नाम थियो सङ्घीय संसद्को समानुपातिक सूचीमा । जनयुद्धका घाइते तथा अपाङ्ग योद्धा सङ्घले घाइते अपाङ्गहरूका तर्फबाट मलाई सभासद् बनाउन सिफारिस गरेको थियो ।

तर, तपाईंका उत्तराधिकारी युवा नेताले उक्त सिफारिस मसित मागेर दबाइदिनु भयो। निर्वाचन आयोगमा दिएको सूचीमा म घाइते हो भन्ने उल्लेख गरिएन । किनकि, तपाइँलाई उक्त कोटामा आफ्ना आफन्तलाई सभासद् बनाउनु थियो । र, अन्ततः बनाउनुभयो पनि । एउटा घाइते सभासद् भएकोमा म खुसी नै छु । मैले खासमा यहाँ मलाई सभासद् नबनाएकोमा गुनासो गरेको होइन । बरू मैले जनयुद्धमा खुट्टा गुमाउँदा पनि तपाइँले मलाई क्रान्तिको अपाङ्ग योद्धाको दर्जा नदिनुभएकोमा असहमति जाहेर गरेको मात्रै हो ।

म त मृत्यु वा मुक्ति भनेर १४ वर्षको कलिलो उमेरमा जनयुद्धमा होमिएकी योद्धा हो । जनयुद्धमा मैले पहिलो श्रीमान गुमाएँ । एउटा खुट्टै गुमाएँ । सत्ता र भत्ता त मेरा लागि तुच्छ बस्तु हो । त्यसका लागि जे पनि गर्ने मान्छे भएको भए, त्यतिबेलै म तपाइँका विरूद्ध उजुरी लिएर अदालत पुग्ने थिएँ ।तर, आफ्नो नातेदारको फाइदाका लागि जनयुद्धमा एउटा खुट्टा गुमाएको मलाई अपाङ्ग नै होइन भनेर उल्लेख गरेर तपाईंले निकै ठूलो नैतिक अपराध गर्नुभएको थियो ।

तपाइँले नेतृत्व गरेको तत्कालीन माओवादी केन्द्र त्यतिबेलासम्म कुनै सभ्य र सचेत नागरिकहरूको पार्टी रहिरहेको भए गणतन्त्र स्थापनाका लागि लड्दा शरीरको अङ्ग गुमाएको योद्धामाथि त्यो स्तरको बेइमानी हुँदा तपाइँले मसित सार्वजनिक रूपमा क्षमा माग्नुपर्ने अवस्था आउँथ्यो। तर, तपाइँले पूरै पार्टीलाई कृतदासहरूको समूहमा परिणत गरिसक्नुभएको थियो । पार्टीमा न्याय र नैतिकता मरिसकेको थियो । मैले पनि बोल्नुको कुनै अर्थ देखिनँ ।

तर, आज मैले मुख खोलेकी छु र यो पत्र लेख्दै छु । किनकि, तपाइँले फेरि हामीजस्ता युवाहरूलाई “ननभेज आन्दोलन”मा आउन आह्वान गर्नुभएको छ भन्ने मैले समाचारहरू पढेर थाहा पाएँ।आन्दोलन “ननभेज” वा हिंसात्मक हुने भैसकेपछि फेरि कोही अङ्गभङ्ग होलान् । कोही शहीद होलान । कोही विधवा होलान । ती तपाइँका नयाँ कार्यकर्ताले अङ्गभङ्ग र शहीद वा विधवा बन्नुभन्दा पहिले बेलैमा तपाइँको बानी थाहा पाउन सकून र बेलैमा उचित निर्णय लिन सकुन भनेर मात्रै अहिले आएर यो पत्र लेखेकी हूँ । र, यी कुराहरू उल्लेख गर्न जरूरी ठानेकी हूँ ।

यसपछि के उल्लेख गरूँ भने यो पत्रमा मैले मेरो फोटो र नागरिकताको नाम होइन कि तपाइँको “प्रचण्ड” नामजस्तै उपनाम प्रयोग गरेकी छु । कारण के भने म आजकल सानोतिनो जागिर गर्छु र खास नाम र फोटो प्रकाशित गर्दा मेरो कार्यस्थलमा असजिलो हुनसक्छ । यति सबै भनेपछि अध्यक्ष कमरेडले मात्र होइन, यहाँका कृतदासहरूले पनि अब मलाई चिनिसकेको हुनुपर्छ ।

अब रह्यो कुरा यहाँको “प्रतिगमन”विरोधी आन्दोलनको ।

यसबारे मेरो पहिलो प्रश्न के छ भने तपाइँको आन्दोलनको एजेण्डा के हो ? तपाइँको मागपत्रमा जनयुद्धका घाइते अपाङ्गका बारेमा केही उल्लेख गर्नुभएको छ ? तत्कालीन शाहीसेनाबाट विद्रोह गरेर जनयुद्धमा सामेल भएका एउटै फर्मेशनमा काम गरेका हाम्रा कमरेड जेलमा छन, तिनका बारेमा केही उल्लेख गर्नुभएको छ ? मेरो जीवनसाथीजस्तै १२ हजारभन्दा बढी युद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय शहीद घोषणा गर्न माग पो गर्नुभएको छ कि ? बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ कि ?

एउटा कुरा स्पष्टरूपमा भन्दिउँ अन्त्यमाः संसद किनबेच, सरकार फेरबदल र अस्थिरताबाट आजित भएर स्थिर सरकारको कल्पना गरेको छ संविधानले । दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था पनि शायद त्यही भएर गरिएको थियो । त्यसकारण, संसद विघटन होइन कि देशमा अस्थिरता मच्चाउने तपाइँका क्रियाकलाप र फेरि त्यही किनबेच सुरू गराउने तपाइँको “ननभेज” आन्दोलनभन्दा ठूलो प्रतिगमन अरू हुनै सक्दैन । तपाइँ प्रधानमन्त्री हुन नपाउनुलाई अरू थोक भनिएला, तर प्रतिगमन भनिँदैन

हिजोका गणतन्त्रका लागि लडेका जनसेनाका योद्धाहरूलाई म्यानपावर कम्पनीहरूले अरबका खाडीमा अधिकारविहीन कामदारका रूपमा बेचेका छन। आधुनिक दास बनाएका छन। घाइते साथीहरू उपचार नपाएर छटपटाइरहेका छन। उनीहरूका बारेमा के कार्यक्रम छ तपाइँसित ?

आफ्नै भूतपूर्व सहकर्मीहरू फेरि पनि जेलनेल भोगिरहेका छन् । कैयौं फेरि बनवास भएका छन। तिनलाई शान्तिको बाटोमा ल्याउन सरकारसित केही माग गर्नुभएको छ कि ?

यहाँको आन्दोलनमा यस्ता कुनै पनि माग बिल्कुलै अगाडि सारिएको छैन । संसदको पुनःस्थापना माग गरिएको छ । किन ? किनभने संसद पुनःस्थापना भए तपाइँ प्रधानमन्त्रीको कुर्सीमा फेरि विराजमान हुने झीनो संभावना छ । यस्तो झिनो सम्भावनाका लागि यो ताण्डव किन ?

हुन त तपाइँका गुरू मोहन वैद्यले भनेजस्तो तपाइँको कुरा गरिसाध्य छैन ।

म त सोध्न चाहन्छु तपाइँलाई माओवादी पार्टीको विघटन किन गर्नुभयो ? हामीले गुनासो गर्ने र दुःखसुख साट्ने एउटा चौतारी थियो, त्यो किन भत्काउनुभयो ? पार्टी रहिरहँदा हिजो युद्धकालीन सबै कुराको जिम्मा लिनुपर्छ भनेर त होइन ? हिजो आन्दोलनमा लागेर सबै कुरा गुमाएका हामीजस्ता योद्धाहरूको गुनासा र आलोचना सुन्नुपर्छ भनेर त कतै तपाइँले पार्टी विघटित गर्नुभएको होइन ?

कहिले कुनै दलसित र कहिले कसैसित मिलेर सत्ताको तर मार्न पाइने भएपछि आफ्नो पार्टी नै किन चाहियो र ? आखिर भएको त्यही होइन ?

आफ्नो घर भत्काउनुभयो । अनि अर्काले खाई नखाई बनाएको घरमा पसेर मूली बन्न खोज्नुभयो । तपाइँले माओवादी पार्टी नै ज्यूँदो राख्दिएको भए भन्ने हाम्रो चाहना थियो । हाम्रो रगत, हाड र मासुले बनेको पार्टी थियो त्यो । त्यो पार्टीलाई त समाधि गर्नुभयो । त्यो गरिसकेपछि र पार्टी एकता गरिसकेपछि पाँच वर्ष अर्का अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री मानिरहेको भए फेरि आउने पालो त तपाइँकै थियो । किन तपाइँलाई सत्ताको कुर्सीको यस्तो हतारो ?

केपी ओलीलाई एकाधिकारी भनिरहँदा हिजोको माओवादी केन्द्रमा तपाइँको कस्तो हालीमुहाली थियो सम्झनुभएको छ ? तपाइँको समूहका बाहेक अरुलाई कहिल्यै आँगनको डिलबाट माथि जान दिनुहुन्थ्यो ? त्यही खप्न नसकेर मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दहरूले आआफ्नो बाटो लाग्नुपर्ने अवस्था सिर्जना भएको होइन र ?

खासमा चुनावमा तपाइँले हालका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादको नारा बोकेकै हो नि । उहाँकै एजेण्डा र ‍व्यक्तित्व अघि सारेर चुनावमा बहुमत ल्याएको होइन र ? तपाइँले आफ्ना पुराना एजेण्डा उहाँको झोलीमा हालेको होइन र ? अनि अहिले आएर प्रधानमन्त्रीका लागि तपाइँले यो तमासा गर्न मिल्ने हो ?

आफू नेता हुँदा त नेतृत्व केन्द्रीकरणको खुब रटान लगाउनुहुन्थ्यो त ? तपाइँ दुई नम्बरमा झरेपछि नेतृत्व केन्द्रीकरण हुनु नपर्ने हो ?

खासमा चुनावमा तपाइँले हालका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादको नारा बोकेकै हो नि । उहाँकै एजेण्डा र ‍व्यक्तित्व अघि सारेर चुनावमा बहुमत ल्याएको होइन र ? तपाइँले आफ्ना पुराना एजेण्डा उहाँको झोलीमा हालेको होइन र ? अनि अहिले आएर प्रधानमन्त्रीका लागि तपाइँले यो तमासा गर्न मिल्ने हो ?

अनि तपाइँ लगायतले अझ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माघ गर्दै आएको होइन र ? प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पाँच वर्ष कसैले ढाल्न नसकोस र देशमा स्थिरता कायम होस भनेर त हो नि । आज केपी ओलीले गरेको संसद् विघटनको स्पिरिट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकै रहेको छ त। संसद पुनःस्थापना गर्नुभन्दा बरू चुनावपछि संविधान संशोधन गरेर प्रत्यक्ष प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने माग पो गर्ने हो कि अध्यक्षज्यू ?

त्यसोभए मैले पनि देशको स्थिरताका लागि यहाँको आन्दोलनमा समर्थन गर्ने थिएँ । त्यस्तो मागमा वर्तमान प्रधानमन्त्री र जनता समाजवादीका डा. बाबुराम भट्टराई पनि सहमत हुनुपर्ने हो । आन्दोलन त त्यता पो सोझ्याउने हो कि भूपू सुप्रिमो ? त्यसो हुँदा पो राष्ट्रिय एकता हुन सक्थ्यो कि ?

होइन भने एउटा कुरा स्पष्टरूपमा भन्दिउँ अन्त्यमाः संसद किनबेच, सरकार फेरबदल र अस्थिरताबाट आजित भएर स्थिर सरकारको कल्पना गरेको छ संविधानले । दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था पनि शायद त्यही भएर गरिएको थियो । त्यसकारण, संसद विघटन होइन कि देशमा अस्थिरता मच्चाउने तपाइँका क्रियाकलाप र फेरि त्यही किनबेच सुरू गराउने तपाइँको “ननभेज” आन्दोलनभन्दा ठूलो प्रतिगमन अरू हुनै सक्दैन । तपाइँ प्रधानमन्त्री हुन नपाउनुलाई अरू थोक भनिएला, तर प्रतिगमन भनिँदैन ।