माधव नेपालले ओली सरकारले देश र जनताका हितमा गरेका प्राप्ति र उपलब्धि बेस्सरी नसमाती उल्टो तिनलाई खुइल्याउन लागि पर्दा अहिलेको अवस्था उत्पन्न भएको कुरा बेलैमा महसुष गर्नु जाती हुन्छ । अव पनि धम्की घुर्की लगाएर पार्टीमा अराजकता मच्चाउने, सरकारलाई काम गर्न नदिने, कुण्ठा पोखिरहने छुट छैन । प्रधानमन्त्री र अध्यक्ष ओलीलाई निसर्त सघाउने एउटा मात्र बिकल्प छ । यसा नगरे माधव नेपाल मात्रै होइन, उहाँको समुहकै सर्वनाश हुनेछ । अव एमालेको हिजोकै जस्तो अराजकता किमार्थ स्वीकार्य छैन ।
प्रा.डा.बद्रीविशाल पोखरेल
सर्वोच्च अदालतको फैसलापछि पुष्पकमल दाहाल प्रचण्ड समूहबाट अलग हुँदै गर्दा माधवकुमार नेपालले एमालेभित्रै रहेर केपी प्रवृत्तिविरुद्ध मिलेर संघर्ष गर्ने बताउनु भयो । यस कुरालाई घनश्याम भुसालले पुष्टि गर्नुभयो । यो कुराले गर्दा माधव नेपाल विगतको भन्दा अझ बढी कार्यकर्ताको निगरानीमा पर्नुभएको देखिन्छ । यसरी जो कोही नेता कार्यकर्ताका निगरानीमा परेर खारिन र तिखारिन सके पार्टी सबै हिसावले सबल हुने थियो ।
कार्लमाक्र्सले जनता इतिहासका निर्माता हुन भनेझैँ पार्टी निर्माण र विकासको मूल आधार तमाम नेता, कार्यकर्ता र सचेत जनसमुदाय हुन । यिनकै रखबारी र खवरदारीमा मात्र पार्टी र नेताका गलत प्रवृत्ति निरुत्साहित हुन्छ र आन्दोलनले सही दिशा लिन्छ । घरभाँडा बाबु र आमालाई पनि लालावालाले एक पटक माफ दिनसक्छन तर तिनले बारबार रत्यौली खेलेपछि त्यस्ता अभिभावकलाई घरबाट सदाका लागि निष्काशन गरिदिन्छन । यो कुरा माधवकुमार नेपाललगायत सबै नेताले बेलैमा बुझे हुन्छ ।
यस लेखकले माधवकुमार नेपाललगायत कतिपय नेताले नितान्त निजी स्वार्थ केन्द्रित गुटगत गतिविधिका बारेमा कुनै पनि खाले किञ्चित दुराग्रह नराखी विषय र मुद्दा आधारित आलोचनात्मक लेखहरु लेख्दै आएको थियो । माओले सही आलोचना ओखती हो र यस्तो आलोचना समयमै र तीखो रुपमा गर्नु भनेझैँ नेताका कमजोरी समयमै सच्चिउन भन्ने मात्र लेखकको मूल ध्यय रहेको छ । सैद्धान्तिक गुट र सिद्धान्तको लेपन लगाएका नितान्त निजी सत्तास्वार्थ केन्द्रित गुटलाई पर्गेल्ने गरेको छ ।
कार्लमाक्र्स वा माक्र्सवाद गुट होइन, गुण हो तर लासालवाद चाहिँ गुटगत संकीर्ण समूह हो । जननेता मदन भण्डारी र जबज गुट होइन, यो त माक्र्सवादको पुनःसृजन हो, विश्व कम्युनिष्ट आन्दोलनलाई पुनः जीवित गर्दै यसलाई सबल र समृद्ध पार्ने सिद्धान्त हो । जबजले राजनैतिक तथा आर्थिक अधिकारसहितको बहुदलीय प्रतिस्पर्धात्मक समाजवादको परिकल्पना गरेको हुँदा यो माक्र्सवादकै पुनःसंस्करण हो । तर नेपाल, मैनाली वा अरुहरु भने नितान्त निहित सत्ता स्वार्थ केन्द्रित गुट हुन । त्यसैले जबजका आलोकमा पार्टी र देशलाई अग्रगामी गति दिने ओली गुट होइन, गुण हो । यसलाई व्यवहारले पनि पुष्टि गरिहेकै छ ।
एक समय माधव नेपाललाई राम्रै नेताका रुपमा लिएको यस लेखकले उहाँका सैद्धान्तिक, सांगठानिक र सिर्जनात्मक सुस्त र ढुलमुल गतिविधिलाई राम्ररी नियाल्दा धेरै कमजोरी देखेपछि मोह भङ्ंग भएको हो र, उहाँका बारेमा यस लेखकले आलोचना गर्न थालेको हो । विगत १५ वर्ष पार्टीको एकछत्र र सर्वाधिकार सम्पन्न महासचिव रहेर जिम्मेवारी सम्हाल्ने र प्रधानमन्त्री हुने मौका पाएर पनि तपाईंमा सत्ता लिप्सा चरम रुपमा देखियो । जननेता मदन भण्डारीले पार्टीलाई प्रतिभाको फूलवारी बनाउने लक्ष्य राख्नु भएको थियो तर तपाईं आफूबाहेक अरु कोही पनि पार्टी र सरकारको नेतृत्व गर्न लायक छैन भन्ने मनोरोग ग्रस्त हुनुहुन्छ । अझ बहुआयामिक तथा प्रभावशाली नेता केपी शर्मा ओलीले नवौँ महाधिवेशनमा उम्मेद्वार हुँदा तपाईं र तपाईका गुटका केही नेताका निकृष्ट र निम्छरा अभिव्यक्ति तमाम नेता र कार्यकर्ताका कानमा गुन्जिरहेकै छन । नेपाल गुटका धेरै जसो नेताका दुष्ट र दुच्छर अभिव्यक्ति हिजोका दिनसम्म पनि जारी थिए । कृपया तपाईंले आफ्नो मातहतलाई समयमै शालीन हुन सिकाउनु होस ।
सुनसरी जिल्लाका तत्कालीन सचिव भीम आचार्यलगायत नेता मार्फत् तपाईंले ओली नेतृत्व, व्यक्तित्व र कृतित्वका विरुद्ध अनर्गल दुष्प्रचार सुलसुले पारामा गरे गराएको प्रत्यक्ष प्रमाण यही लेखक रहेको छ । पार्टीको नवौँ महाधिवेशनदेखि आजसम्मका ओली केन्द्रित तपाईंका सरासर झुट, फरेबी र षडयन्त्रपूर्ण गतिविधि उजागर भइसकेको छ । तपाईंले सदन, सडक र गोप्य कोठरीहरुमा ओलीविरुद्ध गरेको षडयन्त्रपूर्ण तमाम गतिविधि छताछुल्ल भएकै छन् । तपाईले ओली सरकारले देश र जनताका हितमा गरेका तत्कालीन, अल्पकालीन तथा दीर्घ कालीन हितका कामको कहिल्यै पनि उल्लेख गर्नु भएन ।
प्रसिद्ध गायिका आनी छोइङले खुसी भएर व्यक्तिगत रुपमा तुइन विस्थापित गर्ने ओली सरकारलाई १ करोड आर्थिक सहयोग गर्नुभयो । पदोन्नतिका लागि नामका अगाडि प्रा.डा. फुर्का नझुण्ड्याउने तर तिनलाई समेत बहु विषयगत बौद्धिक प्राज्ञिक चिन्तन, वाचन र लेखनमा परास्त गर्न सक्षम प्रसिद्ध लेखक सौरभसमेत ओली नेतृत्वको सरकारको सन्तुलित र सही मूल्याङ्न गर्नु हुन्छ । तर नेपाल र नेपाली हुनुमा गर्व नगर्ने, नाकाबन्दीको समर्थन गर्ने र गौरवशाली नेपाली राष्ट्रिय झण्डा च्यात्न उद्यत हुने नागरिक समाजका कथित अगुवाहरु ओली सरकारले देश र जनताका हितमा सम्पन्न गरेका कामहरु देखिसहँदैनन । देश र देशवासीको हितमा रुवावासी गर्ने नैतिकहीन प्रवृत्ति प्रधानमन्त्रीलाई नैतिकताको पाठ पढाउने दुस्साहस गर्छन् ।
परिवर्तित अवस्थामा माधवकुमार नेपाललगायत नेताहरुले पूर्ववत् नेकपा एमाले पार्टीको नेतृत्व तहमा रहने निर्णय गर्नु भएको छ तर यस अवधिलाई गम्भीर आत्मसमीक्षा र आत्ममन्थन गर्न जरुरी देखिन्छ । तर अब भने तपाईंले कार्यकर्ता र नेताको आदर, कदर र सम्मानअनुसार पदीय मर्यादा कायम राखेर बस्नु जाती हुन्छ । अन्यथा अतिचार गरे सर्वनाश निश्चित देखिन्छ । माओले कुनै एक समय र अवसरमा इमान्दार हुनुभन्दा जीवनभर इमान्दार हुनु चाहिँ सही हो भनेझैँ कुन नेता के कस्ता चरित्रका छन् भन्ने कुरा राम्ररी बुझेर मात्र सही निर्णयमा पुग्न सकिन्छ । अहिले पनि ओलीको नाम भजाएर अनेक खालका कुरुप कृत्य, कर्म र क्रियाकलाप गर्नेहरु देखापरेकै छन । यस्ता विषयलाई बेलैमा नियन्त्रण नगरे यसले भोलिका दिनमा पार्टीमा अरु विकाराल समस्या निम्तिन सक्छ ।
पछिल्लो समय केपी शर्मा ओलीसित माधवकुमार नेपाललाई तुलना गरेर हेर्दा ओली अब्बल देखिनु भयो । सिद्धान्त, संगठन र सिर्जना अर्थात तीन सका आधारमा ओली यो समयका अद्वितीय प्रतिभा हुनुहुन्छ भन्ने कुरा देशव्यापी रुपमा स्थापित भयो । आफैँसित प्रतिभा छैन भने अरुहरुले भनेकै भरमा कोही पनि उच्च प्रतिभा हुनसक्तैन । माधव नेपालको नेतृत्वमा सञ्चालित पार्टी र सरकार तथा ओली नेतृत्वको पार्टी र सरकारलाई दाँजेर हेर्ने हो भने आकास जमिनको फरक देखिन्छ । बेलैमा ओलीले नेतृत्व गर्न पाएको भए यो पार्टी र मुलुक धेरै अगाडि बढने रहेछ भन्ने त स्पष्ट भयो नि ।
आफ्नै पार्टीमा योग्य र अझ योग्यतम नेतृत्वलाई स्थापित गर्न सकिएन भने हर क्षेत्रमा विपक्षीसितको प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्न सकिँदैन । माधव नेपालका पालामा यही समस्या रहेकाले देश पछि परेको हो । पार्टी र नेतृत्व दुवै सबल र सक्षम हुँदा मात्र अग्रगमन सहज रुपमा सम्भव हुन्छ ।
अहिले पनि पार्टीमा सबै हिसावले योग्यतम नेताहरु कमै भए पनि छन् । पहिलो वा दोस्रो पुस्ताको भनेर भोटो फटाएकै भरमा पार्टीमा प्रमुख नेता बनाउन सकिन्न । बारबार प्राप्त अवसर गुमाएर कोही पनि प्रमुख नेता हुन सक्तैन, भइगए पनि त्यसले थाम्नै सक्तैन । प्रमुख नेताका लागि सिद्धान्त प्रमुख सवाल हो ।
धेरैजसो नेताहरुले मदन भण्डारीको संगत गरे तर उहाँकोे गुण धेरैले ग्रहण गर्न सकेनन् । बहु आयामिक, बहु विषयज्ञ तथा प्रखर वक्ता व्यक्तित्व केपी ओलीकै वरिपरि घुम्ने नेता धेरै छन् तर तिनले ओलीको दुईवटा गुण पनि ग्रहण गरेको पाइन्न । सभा, समारोह र आम सभाको सहभागिता हेरेर तदनुसार राम्ररी भाँती पुर्याएर बोल्ने नेता कमै देखिन्छन । आफूसित भएको चामल पनि बेच्ने भाँती नपुर्याउने नेता देख्दा अचम्म लाग्छ । माओले नेता र कार्यकर्तालाई सशस्त्र युद्धमा उतार्नु पर्दा शरीरका रौँ ठाडा पार्ने गरी बोल्नु् हुन्थ्यो । उहाँले लोकोक्ति, लोक वाणी, लोक कथन र लोक सूक्तिको पर्याप्त प्रयोग गरेर बोल्नु हुन्थ्यो । त्यसैगरी हास्य व्यङ्ग्य मिश्रित अभिभाषणमा पनि माओ कुशल हुनुहुन्थ्यो ।
मदन भण्डारी पनि पार्टीका नीति, सिद्धान्त र समसामयिक सबालमा तर्क र तथ्य परक तथा रोचक घोचक पारामा प्रस्तुत सिपालु हुनुहुन्थ्यो । उहाँ जस्तै विषय र प्रसंग र परिस्थिति अनकूल सान्दर्भिक रोचक, घोचक, मर्मस्पर्शी तथा जन साधारणले समेत बुझ्ने सरल अभिव्यक्ति प्रस्तुत गर्न सर्वाधिक कुशल नेता ओली नै हुनुहुन्छ । तर अबुझहरु ओलीको बौद्धिक, प्राज्ञिक तथा वैचारिक धारा प्रवाह अभिव्यक्ति क्षमतादेखि इष्र्याग्रस्त भएर जलेर आक्रोषित भएका देखिन्छन् । विषयगत विस्तृत, गहन अध्ययन र त्यसलाई अभिव्यक्त गर्ने भाषिक कौशल नेतृत्वमा अपरिहार्य हुन्छ । यो आर्जन गर्न सकिने विषय पनि हो । सबैभन्दा महत्वपूर्ण कुरा कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको रक्षा र सबलीकरणको प्रश्न हो । यसका अगाडि व्यक्ति गौण हुन्छ । त्यसैले माधव नेपाललगायत नेताहरु एमाले पार्टीमा समाहित हुनु राम्रो पक्ष हो । तर विगतका भूल र भत्कोसबाट सिकेर अगाडि बढनु सके मात्र त्यो देश र जनताका लागि हितकर हुन्छ ।
अहिले पनि देशमा विखण्डन,विभाजन र विश्रृङ्खलताको अवस्था विद्यमान रहेको छ । प्रचण्डले भारतका लागि अनुकूल वा कम्फर्टेवल सरकार बनाउने कुरा सार्वजनिक गर्नुभएको छ । ओली प्रवृत्तिको विरोधका निहुँमा उक्त पथगामी हुने हो भने जसकसैलाई कार्यकर्ता मात्र होइन, नेपाली जनताले घर न घाटको बनाइदिन्छन् । माधव नेपाललगायत पार्टीका नेताहरु ओलीलाई अप्रिय निर्णय गर्न बाध्य पारेको स्थितिबारे जनता जानकार छन । प्रतिनिधि सभा विघटन यस्तै बाध्यताको तर लोकतान्त्रिक विधि थियो । आफ्नै नितान्त निजी सत्तालोलुप प्रवृत्तिका कारण दुई तिहाइ नजिकको सरकार गिराउन न्वारानदेखिको बल लगाउने दाहाल नेपालहरु अब चेत्नु पर्छ ।
अव पनि नचेते जनता र इतिहासले दण्डित गर्नेछ । त्यसो भएकाले जनादेश अनुसार यही सरकारलाई बाँकी कार्यकाल सफलतापूर्वक सम्पन्न गर्ने दिशामा आग्रहबिना लाग्न माधव नेपाल समक्ष यो लेखक आग्रह गर्दछ । त्याग बिना कोही पनि महान् हुँदैन । माधव नेपालले ओली सरकारले देश र जनताका हितमा गरेका प्राप्ति र उपलब्धि बेस्सरी नसमाती उल्टो तिनलाई खुइल्याउन लागि पर्दा अहिलेको अवस्था उत्पन्न भएको कुरा बेलैमा महसुष गर्नु जाती हुन्छ । अव पनि धम्की घुर्की लगाएर पार्टीमा अराजकता मच्चाउने, सरकारलाई काम गर्न नदिने, कुण्ठा पोखिरहने छुट छैन । प्रधानमन्त्री र अध्यक्ष ओलीलाई निसर्त सघाउने एउटा मात्र बिकल्प छ । यसा नगरे माधव नेपाल मात्रै होइन, उहाँको समुहकै सर्वनाश हुनेछ । अव एमालेको हिजोकै जस्तो अराजकता किमार्थ स्वीकार्य छैन ।
प्रतिक्रिया दिनुहोस्