जनता टाइम्स

२२ चैत्र २०७७, आईतवार ११:५०

एमाले पङ्क्तिको सदिच्छा : निलम्बित कमरेडको आत्मसमीक्षा


निर्मल भट्टराई

सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई ब्युँझाई दिएपछि एमाले नयाँ ढंगले ब्युँझिएको छ । पार्टी एकतावद्ध भएर अघि बढ्ने तर गुटबन्दी, अराजकता र अनुशासनहीनतालाई पार्टीमा मौलाउन नदिने निर्णयका साथ अगाडि बढिरहेको छ । पार्टी अध्यक्ष र पार्टी महासचिवको पद कायम राखेर पार्टीका अन्य पद खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आगामी ०७८ मंसिर२–६मा आयोजना गरिने दशौं राष्ट्रिय महाधिवेशनको तयारी शुरु भईसकेको छ ।

अर्कातिर साविक नेकपा हुदै प्रचण्डको लहैलहैमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीलाई सडकबाटै ‘पार्टीको साधारण सदस्यतासमेत नरहने गरी’ कारवाही गर्दै हिड्नु भएका पार्टीका निवर्तमान वरिष्ठ नेता तथा नेकपा (एमालें) दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य माधव नेपाललगायत अरु केही नेताहरु एमाले ब्युँझिसक्दा पनि आफूलाई समाल्न सक्नु भएन । परिवर्तित परिस्थितिमा पार्टीको मूल नेतृत्व र बहुमतको भावनाबमोजिम समझदारीमा एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा त्यसो नगरी ‘ओलीलाई सिध्याएर पार्टी गुटमुट्याउने’ रणनीति सफल पार्न समानान्तर गतिविधि गर्न थालेपछि पार्टीले वाध्य भएर अनुशासनको कारवाहीस्वरुप माधव नेपालसहित केही नेतालाई निलम्बन गर्यो ।

करिब डेढ दशक नेकपा(एमाले)का महासचिब बनेका, एमालेकै बरिष्ठ नेताको हैसियतमा के पी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री भईसकेका माधव नेपाल अहिले ओली नेतृत्वको एमालेकै कारवाहीमा पर्नुभएको छ । कम्युनिष्ट पार्टीमा अनुशासनको कारवाही सामान्य कुरा हो । विश्व कम्युनिष्ट आन्दोलनको ईतिहासमा योभन्दा कठोर अनुशासनको कारवाहीका घटना पढ्न सुन्न पाईन्छ । सन १९७६ मा चिनियाँ नौलो जनवादी क्रान्तिका नायक माओको निधनपछि ग्याङ अफ फोरको नेतृत्व गरेकी माओ पत्नी जियाङ् किङलाई चिनियाँ कम्युनिष्ट पार्टीले पोलिटब्यूरोबाट मात्र हटाएन, मृत्युदण्डको फैसला समेत सुनायो । पार्टी नेतृत्वविरुद्ध षणयन्त्र गर्ने अरुलाई पनि हदैसम्मको कारवाही गरियो । रसियन कम्युनिष्ट पार्टीमा पनि यस्ता अनगिन्ति उदाहरण छन् । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपालको कम्युनिष्ट आन्दोलनले धेरै कुरा नक्कल गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले ‘चीनजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा मजदुर र किसानको संयुक्त नायकत्वमा नौलो जनवादी क्रान्ति गर्ने’ बाटो तय गर्यो ।

नेपालले पनि लामो समयसम्म नेपालजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा नौलो जनवादी क्रान्ति गर्नेु भनिरह्यो । चिनियाँ कम्युनिष्ट पार्टीले मार्क्सबाद-लेनिनवाद-माओ विचारधारा मान्ने घोषणा गर्यो, नेपालको कम्युनिष्ट आन्दोलनले त्यसै गर्यो । च्याङ्काईसेक सरकारलाई सत्ताच्यूत गर्न माओको नेतृत्वमा गाउँबाट सहर घेर्ने दीर्घकालिन जनयुद्ध सञ्चालन गर्यो, राजतन्त्रको विरुद्ध झापा विद्रोह र माओवादी विद्रोहले त्यही रहर गर्यो । नेपालको कम्युनिष्ट आन्दोलनले यी सबै नक्कल त गर्यो, तर चिनियाँ कम्युनिष्ट पार्टीको एकता बचाईराख्न र चीनको समृद्धिलाई निरन्तरता दिन त्यहाँ पार्टीगत र राजकीय तहमा अबलम्बन गरिएको कडा अनुशासनको नक्कल यहाँ हुनै सकेन । राम्रो र उदाहरणीय कामको अनुशरण हुन सकेन ।

पार्टी गठन भएको केही बर्षमै तत्कालीन नेकपा(माले)ले २०३९ सालमा मुख्यरुपमा वैचारिक विचलनको कारण देखाउदै महासचिव सि पी मैनालीलाई पदच्यूतको कारवाही गरेको थियो । त्यो कारवाही पछि पार्टीले सांगठानिक विस्तारको क्षेत्रमा झन ठूलो सफलता हासिल गर्यो । ठूलो नेता कारवाहीमा पर्दा पार्टी ‘विसर्जन’ भएन, बरु चम्कियो ।

नेता माधव नेपाललगायतका नेताहरुको निलम्बनपछि एमालेमा कुनै संकट गोचर भएको छैन, बरु नेता कार्यकर्तामा छुट्टै उत्साह छ । जतिसुकै ठूलो नेता किन नहोस् , पार्टीलाई घात गर्नेलाई यथोचित कारवाही हुनुपर्छ भन्नेमा सिङ्गो एमाले एकमत छ । कसैलाई अनुशासनको कारवाही गरेवापत पार्टी विभाजन गर्ने दुस्प्रयत्न भए त्यसलाई पूर्ण रुपमा नकार्न समेत सिङ्गो एमाले तम्तयार भएरै बसेको छ । सिङ्गो एमाले पङ्क्ति चाहन्छ( आफ्ना पृय निलम्बित नेता माधव नेपालले गम्भिर आत्मसमिक्षा गर्नुहोस् र निलम्बन अवधि छोट्याएर पुःन पार्टी काममा फर्कनुहोस् । आफ्ना कारणले पार्टीलाई भएको अपुरणीय क्षतिप्रति आत्मालोचना गर्नोस् ।

एमाले पङ्क्ति चाहन्छ–आफ्नो करिब डेढ दशकसम्म एमालेको नेतृत्व गर्दा एमाले किन नुन खाएको कुखुराजस्तो बन्न पुग्यो,न भाले न पोथीको अवस्थामा पुग्यो, राजाको पाउमा दाम चडाउने अवस्थामा पुग्यो, प्रधानमन्त्री पदको लागि तत्कालिन नारायणीहिटी राजदरवारको खिड्कीबाट राजालाई निवेदन पेश गर्नु पर्योजस्ता विषयमा कोटेश्वरस्थित आफ्नो निवासमा बसेर गम्भिर चिन्तनमार्फत् निष्कर्षमा पुग्नुहोस् ।

कुनैबेला के पी शर्मा ओलीको विशेष समर्थन र पहलकदमीमा प्रधानमन्त्री हुँदा माधव कमरेड ओलीप्रति अनुगृहित हुनुभएको थियो । अहिले ओलीबाटै पाएको यो निलम्बनको छ महिनाको अवधि शान्त र सुविचारित ढंगले देश र जनताको हितमा वित्नुपर्दछ । पार्टी हितको निम्ति वित्नुपर्छ । पार्टीको शक्तिशाली महासचिव हुँदा र पार्टीको सदस्य पनि नहुँदा व्यक्तिगत जीवनमा के फरक पर्ने रहेछ भन्ने बोध गर्न उहाँलाई सुनौलो मौका समेत जुटेको छ ।

प्रष्ट छ– पार्टीले माधव कमरेडको लागि कम्तिमा छ महिना वहाँको आधिकारिकता खोसेको छ । वहाँले यो अवधिमा एमालेको लोगो, झण्डा र ब्यानर प्रयोग गर्न पाउने अवस्था छैन । एमालेको लोगो, झण्डा र ब्यानरमा समानान्तर गतिविधि गर्न पाउने अवस्था त पटक्कै छैन । आफू पार्टी महासचिव हुदाँ विगतमा पार्टी अनुशासनको लागि अहिले पार्टी अध्यक्ष के पी शर्मा ओलीको भन्दा चर्का चर्का कदम चाल्नु भएका नेता नेपालले आफूलाई अनुशासनको कार्वाही हुँदा त्यसलाई मान्नु भएन भने वहाँलाई नेता मान्ने एमालेमा बत्ती बालेर खोज्नु पर्ने स्थिति आउछ ।

निलम्वित नेता माधव नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेबाटै सिकिएको हो– राजनीति जनताको विचमा बसेर उनीहरूकै लागि गर्ने हो । त्यसो हो भने जनताको ईच्छाविपरीत भड्किएर त सही ठाउँमा पुगिदैन नि १