जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १६:४९

यार्सा सिजनले धान रोप्ने कामदार पाउनै मुस्किल


डोल्पा, जेठ २५

डोल्पाका ग्रामीण बस्तीहरूमा धान रोपाइँको चटारो बढेको छ। बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन सिजन तीब्र रुपमा चलिरहेको बेला धान रोप्नका लागि पनि सर्वसाधारणलाई भ्याइ–नभ्याइ भएको छ । गाउँका अधिकांश सर्वसाधारण यार्सागुम्बा टिप्न यार्सापाटनतिर गएपछि खेतबारीमा काम गर्ने खेताला पाउन समस्या हुने गरेको त्रिपुराकोटका स्थानीयले बताए ।

गाउँनै सुनसान पारेर सबै यार्सागुम्बा टिप्न पाटनतिर गएकाले घरमै बसेका छिमेकीहरूबीच एक आपसमा अर्मोपर्मो गरेर धान रोपाइ गरिरहेको उनीहरूले बताए । जिल्लाका त्रिपुराकोट, पहाडा, नाधा, लिकु, गल्ली, रल्ली, दुनै, जुफाल, खदाङ लगायतका बस्तीहरूमा धमाधम धान रोपाइ भइरहेको छ । यार्सागुम्बा सिजन चलिरहेको बेला धान रोपाइँ पनि शुरु हुने भएकाले खेतालाहरू नपाएर समस्या हुने गरेको त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय नैनानन्द देवकोटाले बताउनुभयो ।

जेठदेखि असारसम्मको समयमा लाखौँ आम्दानी गर्न यार्सापाटनमा जाने भएकाले एक जना मान्छेलाई काममा लगाउन ७०० देखि एक हजारसम्म ज्याला तिर्नुपर्ने देवकोटाले बताउनुभयो । धान रोप्ने सिजनलाई मानो रोपेर मुरि फलाउने सिजनको रुपमा लिने भएतापनि डोल्पामा धान रोप्दा लाग्ने खर्च भन्दा उब्जनी कमहुने भएकाले रोपाइप्रति मान्छेको आकर्षण घट्दै गएको छ ।

जिल्लाको अधिकाशं भूगोल भिरालो सिँचाइ सुविधाविहीन भएकाले आकाशे पानीले भरमा कोदो, फापर, चिनो, मकै लगायतका अन्नबाली मात्र लगाउने गरिन्छ भने सीमित क्षेत्रमामात्रै धान रोपाइ गरिन्छ । डोल्पामा रातो, औँलेमार्सी, कालीमार्सी लगायतका प्रजातिको धान रोपिने गर्दछ । डोल्पामा उत्पादन हुने कालीमार्सी र रातो धानको चामल प्रतिष्ठित ब्यक्तिहरूको रोजाइँमा पर्ने भएकाल नेपालगञ्ज, काठमाडौंमा, सुर्खेत समेत मागहुने स्थानीय कृषकले बताए । प्रति किलो ५०० सम्म पर्ने रातो र कालीमार्सी धानको चामल अतिथि सत्कार र आफन्तहरूलाई दिइने नासोको रुममा समेत प्रयोग गर्ने गरिन्छ ।

साख जोगाउन रोपाइँ

डोल्पामा सामाजिक प्रतिष्ठा जोगाउनका लागि भएपनि धान रोपाइ गरिन्छ । मकै, कोदो, चिनो लगायतका अन्नबाली र फलफूल उत्पादनका लागि उपयुक्त हुने खेतबारीमा पनि जवरजस्ती धान रोप्ने चलन छ।  परम्परागत रुपमानै धान रोपाइँ गर्दै आएको खेतमा धानबाहेक अन्य बाली लगाएमा गाउँलेले कुरा काट्ने भएकाले घाटा ब्योहोरेर भए पनि धान रोप्ने गरिएको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय नन्द सिँह थापाले बताउनुभयो ।

अन्य बाली रोप्न भन्दा धान रोपाई साह्रै खर्चिलो हुने गरेको बताउँदै धान रोपेदेखि भित्र्याउन्जेलसम्म पैसा र समय दुबै नष्ट हुने उहाँले बताउनुभयो । डोल्पाको भूगोल धानकालागि नभई स्याउ, ओखर, आरु, कागती लगायतका फलफूल उत्पादनकालागि उपयुक्त भएको कृषिसम्बन्धी काम गर्दै आएका संघ संस्थाहरूको बुझाइ छ । धान रोपाइँको अवसरमा बाजागाजा सहित रोपार्नीहरूले चुट्किला मागलहरू गाउँदै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन रहेको छ ।