जनता टाइम्स

११ बैशाख २०७८, शनिबार १६:४१

प्रधानमन्त्री ओलीले पूरा गरे त्यो कठिन बाचा


काठमाडौं, बैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ मान्यता छ, बोलेको कुरा पूरा गर्ने । सार्वजनिक मञ्चबाट होस वा चुनावी घोषणापत्रको कुरा होस, एमालेको नेतृत्वमा आएपछि ओलीले सवैजसो आफ्नो बचन पूरा गर्दै आउनु भएको छ । बैशाख ११ को दिन प्रधानमन्त्री ओलीले एउटा निकै कठिन बाचा पूरा गर्नुभएको छ । त्यो हो, ढलेको धरहरा ठड्याउने बाचा ।

२०७४ सालको तीनै तहको निर्वाचनमा एमालेको घोषणापत्र जस्तै बद्री पंगेनी र प्रिया भण्डारीले गाएको गीत थियो–सैं पनि एमाले, मै पनि एमाले । जुन गीतमा फोकस गरिएको छ–भत्किएको धरहरा बनाउने कुरा, एमालेको सरकार आए हुन्छ त्यो नि पूरा ।’ एमालेको घोषणापत्रमा समेत समेटिएको र आम नेपालीको मुखमा झुण्डिएको त्यो गीत र म बनाउँछु मेरो धरहरा भन्ने प्रधानमन्त्री ओलीको अठोट आजबाट पूरा भएको छ ।
पहिलो पटक प्रधानमन्त्री भएको बेला ओलीले अघि सार्नुभएको ‘म बनाउँछु मेरो धरहरा’ अभियान आजबाट पूरा भएको हो । २२ तले धरहराको उद्घाटन गर्दै प्रधानमन्त्र ओलीले आफूले जनता समक्ष गरेका बाचा पूरा गर्दै आएको भन्दै खुसी साटनु भयो ।

२०७२ को महाभूकम्पले भत्किएको धरहरा बनाउने अभियानको शुरु गर्नुभएका प्रधानमन्त्री ओली २०७३ सालमा सत्ताच्यूत भएपछि धरहरा निर्माणको काम पनि अलपत्र परेको थियो । सत्तामा ओली र पुनःनिर्माण प्राधिकरणमा सुशील ज्ञवालीको पुनरागमनसँगै रफ्तार लिएको धरहरा पुनःनिर्माण सम्पन्न भएको हो । २०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गर्नुभएको थियो ।

सोही घोषणाअनुसार एमालेको गीत बनेको थियो धरहरा ठड्याउने कुरा । २०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै सिलन्यास गरिएको पुनर्निर्मित धरहराको आज प्रधानमन्त्री ओलीले नै समुदघाटन गर्नुभएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । पुनर्निर्मित धरहराको २२ औैं तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।

बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाइएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ ।