ओलीलाई भौतिक रुपमा समाप्त पार्ने दिउँसै सपना देख्नेहरुले अहिले नै सोचे हुन्छ । एउटा देश र जनताको छहारी बनेको नेतालाई छुन पनि अलि आँट बटुल । आगोसित जिस्किए खरानी भइन्छ । पहरासित जुधे कुहिनु खस्किन्छ, जुइनु चुडिन्छ । व्यक्ति क्षणभङ्गुर हुन्छ तर विचार त अजर अमर हुन्छ । जनताका सन्तान मारिए, सहीद भए तर तिनको सपना र जपना कहिल्यै मरेन । कालगतिले पनि मानिस मर्छ तर उसले देश र जनताका लागि गरेको योगदान कहिल्यै मर्दैन । आँखा त सबैसित हुन्छ तर दूरदर्शी दृष्टि र दृष्टिकोण सबैसित हुँदैन । त्यसैले कायरहरु ओलीदेखि भालि पनि अवश्य तर्सिने छन
प्राडा.बद्रीविशाल पोखरेल
कम्युनिस्ट नामका कायरहरु आज मात्र होइन, भोलि पनि तर्सिन्छन । तिनलाई आफ्नै छायाँले पनि तर्साउँछ । जब तिनीहरु तुइन चढेर दुगर्म क्षेत्रमा वारपार गर्छन, त्यतिबेला कम्युनिष्ट नामका कलङ्कहरु भोलि पनि ओलीलाई सम्झेर अत्ताल्लिन्छन । भोलि तिनका लालाबालाले यस देशमा यतिका विकास निर्माणका काम कसका पालमा भएको भनेर सोध्दा तिनको अनुहारमा चौसट्ठी मुजा पर्छ । सिद्धान्तविहीन कायरहरु सही सिद्धान्त र सिद्धान्तकार देखेर भित्रभित्रै जल्छन । एमसीसी प्रोजेक्ट ल्याउन आफैँ अग्रसर भएको लीलामणि र बाबुरामहरु ओलीलाई सत्तोसराप गर्नेहरुको अवस्था देखेर लाज नै लजाउँछ ।
पार्टीमा चरम अनुशासनहीन कर्म गर्ने नेपाल, भुसाल र भट्टराईहरुले देउवालाई अर्जी हालेर गुहार माग्न सक्छन । विदेशीलाई गुहारे, दरवारमा लम्पसार परे, अदालत धाए, कतै केही पार नलागे पनि यिनलाई ओलीलाई थापेको पासो आफ्नै गलपासो भयो । यिनले ओलीलाई आफू जस्तै सिल्पट र सिल्ली मानिस ठानेका रहेछन् । ओलीलाई भित्री आँखाले हेर्ने क्षमता यिनीहरुसित रहेनछ । नत्र यत्ति सारो उपर्तली गर्ने थिएनन होला । कुनै पनि मानसलाई भित्री रुपबाट चिन्न सक्नुपर्छ । बाहिर बाहिर त उस्तै अनुहारको भए पनि मानिस भित्रको चुरो बुझ्न सक्नुपर्छ । उहिले नै ओलीले बञ्चराको बिँडलाई थाहा होस भनेर होसियार हुन सुन्ने गरी सार्वजनिक सन्देश दिनुभएको थियो । आफू जस्तो छ, अरुलाई पनि उस्तै देख्ने स्वभाव सामान्य मानिसको हुन्छ । सबै वनस्पति औषधी हुँदैनन र सबै समान पनि हुँदैनन । पोथ्राहरुले सबैलाई पोथ्रा मात्र देख्छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख ९ गते केही मानवले आफूलाई माटामा मिलाइ दिने, धुलो बनाइदिने, टाउकामा हानेर शरीर ढाल्ने जस्ता संगठित हमला गर्न खोजेको तथ्य ओकल्नुभयो । ओलीले नितान्त निजी स्वार्थका खातिर सत्ता, शक्ति र सम्पत्तिप्रति अपहत्ते गर्ने कुरुप तथा अत्यन्त भद्दा चरित्रहरु देश र जनताको विरुद्ध रहेको बताउनु भएको छ । यसो भनेर ओली आफूविरुद्ध ज्यान फालेर लागेका एमाले वरिष्ठ तर पदलोलुप र चरम स्वार्थी नेताको षडयन्त्रपूर्ण क्रियाकलापलाई उल्लेख गर्दै हुनुहुन्थ्यो । देशी विदेशी प्रतिक्रियावादीहरुको इसारामा उपर्युक्त खालका पात्र र प्रवृत्ति सक्रिय रहेको उहाँका अभिव्यक्तिबाट प्रकट हुन्थ्यो । देशको संगीन घडीमा सम्पूर्ण देशभक्त पार्टी, नेता र जनसमुदायहरु एकताबद्ध हुनुपर्ने अवस्थामा आन्तरिक विग्रहको बिउ रोपेर देशलाई ठूलो धरापमा पार्ने दाउलाई निस्तेज पार्नुपर्ने ओलीले बताउनु भएको थियो ।
ओलीका अनुसार बाह्य हस्तक्षेपका विरुद्ध नेपालले लड्नु पर्दैन, अड्दा वा एकढिक्का हुँदा हुन्छ । त्यसैले अति हुन थालेपछि आन्तरिक राजनीतिक पोलहरु जनता समक्ष खोल्न थाल्नुभएको देखिन्छ । ओली दुईतिहाइ नजिकको जनता र देशका लागि अनवरत रुपमा महत्वपूर्ण काम गरिरहेको सरकारलाई विघटित गर्न उद्यत व्यक्ति र शक्तिलाई कटाक्ष गर्दै हुनुहुन्थ्यो । उहाँको राजनीतिक तथा भौतिक जीवन नै तलबितल पार्ने योजनाकारहरुले जीवनको वास्तविक मूल्यबोध नगरेको स्पष्ट हुन्छ । विसं १९९७ सालमा चार सपूतलाई मारे तर तिनै मारिनेहरु बौरिएर राणा शासनको चिहान खने । देश र जनताको खुसहालीका खातिर मरेका र मारिएका तमाम शहीदहरु आन्दोलनका बेला जुरुजुरु उठेर जनविरोधी शक्ति, सत्ता र सरकारलाई पछारेको निकट विगतको इतिहास साँक्षी छ ।
भौतिक रुपमा मरे वा मारिए पनि महापुरुषहरु कहिल्यै मर्दैनन । तर लघु पुरुषहरु भने बाँचे पनि मरेसरह हुन्छन । ऋषि आजाद सिन्धुलीको भिमानमा मारिए तर मार्नेहरु भिमान सम्झेर अहिले पनि आतंकित हुन्छन । जनताको प्रिय नेता यदु गौतमलाई क्रुरतापूर्वक मार्ने कायरहरु जल्लादका रुपमा जनताका बीचमा घृणित छन तर तिनै यदु गौतमका विचारका पछिपछि जल्लादहरु लाग्न बाध्य छन । सही मान्छेका फेलापरेको रत्नकार डाँका वाल्मीकी हुन्छ । तर दाहाल नेपाल जति सम्झाए बुझाए पनि शुद्धबुद्ध हुन सकेनन । सबै अङ्गुलीमाल सज्जन हुनसक्ता रहेनछन । त्यसैले ओली फोविया गस्त नरपशु वा मानवले सोचे हुन्छ । देशभक्त सन्तान मारे पनि मर्दैन । उसको मृत्यु हिमालझैँ गह्रुङ्गो हुन्छ । देशभक्त सन्तान मर्दा जनता मलामी जान्छ र देशले बरखी बार्छ । तर तिमी काग र कुकर झैँ मर्नेछौ, मरेका छौ । तिम्रो मृत्य कुखुराको प्वाँख झैँ हलुुुको हुन्छ । देशभक्त सन्तान मृत्युलाई पनि हर्दम चुनौति दिएर देश र जनताका लागि अग्रसर भइरहेको हुन्छ । तिमीजस्तो चमडी जोगाएर तुच्छ जीवन जिउँदैन । देशभक्तलाई ज्यान मार्ने तिम्रो धम्की तृण बराबर तुच्छ छ ।
जननेता मदन भण्डारीको इहलीला समाप्त पारे तर उहाँको सिद्धान्तलाई निमिट्यान्न पार्न सकेनन । भण्डारी जीवित हुँदा वा नहुँदा पनि कम्युनिस्ट नामका कलङ्कहरु उहाँको इष्र्या र डाहले जलिमर्थे र केही त अझै जलिरहेका छन । तर पार्टीको खुद्रे पसल चलाउन मदन र जबजको नाम नजपी तिनलाई धर भएन । जबजको च्याप्टर क्लोज गर्न उद्यत कम्युनिस्ट नामको एउटा जत्था जबजको नक्कली भजन कीर्तन गरिरहेको देखिन्छ । कतिपय सन्तानले पुर्खाको नाम बेचेर खाइजीविका गरेझैँ गर्न लागेका कथित केही कम्युनिस्टहरुले अब त लाज, घिन र सरम पनि पचाइसके जस्तो लाग्छ । जबजमै विद्याावरिधि गर्ने पुँगा पण्डित कमरेडले केही दिन अघि जबजको काम छैन भन्थे तर अहिले सिदासादा, भोलाभाला र सैद्धान्तिक न्यून चेतका कार्यकर्तालाई भ्रमित पार्न जबजकै स्वाँगे भजन गाइरहेका छन । मान्छेलाई मारेर उसको विचार मर्दैन ।
सैद्धान्तिक, वैचारिक, सांगठानिक तथा सिर्जनात्मक हुति, मति र गति नहुनेहरु प्रतिभाको शिखर व्यक्तित्व देखेर आफैँ जल्छन । देश र जनताको उत्थानमा एकरत्ति सोच र समझ नहुने लाछीहरु आफ्नै पिरले मरिच झैँ चाउरिन्छन । बारबार राजनीति र राजकीय नेतृत्वमा परीक्षित भएर पूरै असफल भएको नेता मौका पाए आकाश छुने डीङ हाँक्छ । आफू पार्टी प्रमुख हुँदा यति संगठित सदस्य संख्या बढोत्तरी भएको भनेर फुइँ हाक्नेहरु ओली नेतृत्वमा पार्टीले कायापलट भएको देखेर चकित पर्छन् । जुनकिरी झलमल्ल जून देखेर ङिच्च पर्छ ।
विरोधीहरुलाई मोदीले झैँ ओलीले कामैले जवाफ दिएर मुख टालिदिनु भएको छ । पार्टीको घोषणापत्र अनुसार म बनाउँछु मेरो धरहरा अन्तर्गत गगनचुम्बी धरहरा देखेर विरोधीहरु उच्च रक्त चापबाट ग्रसित हुनसक्छन ।
सिस्नु पानी नेपालले नेपालका मिडिया विदेशीका गुडिया भनेझैँ फेक मिडियाबाजीलाई समेत धुस्नो पार्ने गरी जनतासित अपिल गर्ने महान क्षमताका कारण विकास चरम विरोधी म्यान र मिडियाहरु ओलीदेखि अताल्लिएका छन । भारतीय प्रधानमन्त्री मोदीले भनेझैँ एक झुटलाई निमिट्यान्न पार्न जनताका सामु सही सूचना र विषय दसपटक भन्नुपर्छ । ओलीको सदावहार अस्वस्थ्य आलोचना मात्र गरिरहने एक प्रमुख मिडिया समूहको प्रशारण र प्रकाशन च्यानलहरुले सरकारले ल्याएको मेरो कित्ता कार्यक्रमको सराहना गर्दै सम्पादकीय नै लेखेको देखेर यस लेखकलाई उदेक लाग्यो । यसबाट एक दिन सत्यको पक्ष लिन बाध्य हुनुपर्ने रहेछ भन्न्ने बुझिन्छ ।
खुसी, खोकी, प्रेम र राजनैतिक अपराध धेरै दिन लुक्तैन । नभन्दै कम्युनिस्ट नामधारीहरुले भारतीय शाषक अनुकूल वा कन्फर्टेबल सरकार बनाउन खोजेको कुरा आम जनताका बीच खुलस्त भयो नै । तर यति गम्भीर विषयमा चर्चित भनाइएका लेखक, विश्लेषक तथा नागरिक अभियन्ताहरु उपर्युक्त खालका राष्ट्रविरोधी कृत्य र क्रियाकलापमा बारेमा चुपचाप देखिन्छन, मौन समर्थनमा छन । ओली सरकारले गरेका देश र जनहितका कामहरु देखे पनि नदेखेझैँ गर्नेहरु पनि छन । आँखा भए पनि लाटोकोसेराहरु दिनलाई देख्न सक्तैनन, उज्यालो सहन सक्तैनन । दुर्भावना र दुराशयका दासहरु कसैका पनि सकार देख्न चाहँदैनन । जाज्वल्यमान सूर्यसित आँखा जुधाउने गल्ती गर्नुहुँदैन । त्यसैले सूर्यको आगमन अघि नै टिलपिले ताराहरु टिक्न नसकेर भाग्छन । एउटा कुुनामा बसेर सूर्यको रिससभा गर्ने एउटा कुरा हो । आफूहरु सित देश र जनताका खातिर गर्ने केही न केही गर्ने ह्याउ नहुने र भेउ नपाउनेहरुले रुन्चे हाँसो हाँस्नुबाहेक अरु उपाय देखिँदैन । तागत र ल्यागत नहुनेहरु रिस खा आफू गरिरहन्छन ।
विकास निर्माणका नाममा पञ्चमीका पाइला सरह घिस्रिनेहरु ओली सरकारको विकासको बहुआयामिक द्रुततर गति देखेर मूच्र्छित बनेका छन, लिलिपुटहरु गगनचुम्बी धरहरा देखेर जल्दैछन, । यिनको बेलैमा चेत आएन भने यी आफैँ ढल्नेछन । अझ यस्ता भगुवा अगुवाका नेताका पछि लाग्नेहरु त एक दिन अवश्य सोत्तर हुनेछन । नवनिर्मित मनमोहक रानीपोखरी देखेर हिले भ्यागुताहरु रिसले आगो भएका छन । तिनीहरु सरकारलाई सराप्दै भए पनि मेलम्चीको पानी घड्काउँदैछन् । नेपाल र नेपाली हुनुमा गर्व गर्न नसक्ने, यसका मूल अभियन्ता पृथिवीनारायण शाह, सहअभियन्ता तथा सहिदहरुप्रति सकारात्मक सोच नराख्ने (अनैतिक) हरु प्रधानमन्त्रीलाई नैतिकताको पाठ पढाउँछन । देश र देशवासीको लामो समयदेखि मूच्र्छित सपनाहरु व्युँझिएको देख्न नसक्नेहरु कस्तो चरित्रका होलान ? विज्ञ पाठकले विचार गर्ने कुरा हो ।
बर्साैंदेखि हुलाकी सडक नबनाएर अलपत्र पार्दा चुइकक नबोल्नेहरु अहिले उक्त सडक निर्माण सम्पन्न हुनेक्रममा भएको देख्न सक्छन कि सक्तैनन् ? विराटनगरमा लामो समयदेखि अवस्थित भारतीय सैनिक क्याम्प हटाउन नक्नेहरु ओली सरकारले हटाएपछि अहिले के भन्छन ? सरकारको पहलमा सबै पार्टी एकताबद्ध भई चुच्चे नक्सा जारी भएको भोलिपल्ट नै प्रधानमन्त्रीलाई अवैधानिक र अनैतिक रुपमा अपदस्थ गर्न उद्यत कम्युनिस्ट नामका केही कलङ्कहरुबारे अलिकति बुद्धि र विवेक भएका बुद्धिजीवी के भन्छन ? प्रज्ञाको डवलीमा कथित नागरिक समाजको नाटक मञ्चन गर्ने अगुवाको बोलीवचन सुन्दा लाज नै लजाएको थियो ।
त्यसैले ओलीलाई भौतिक रुपमा समाप्त पार्ने दिउँसै सपना देख्नेहरुले अहिले नै सोचे हुन्छ । एउटा देश र जनताको छहारी बनेको नेतालाई छुन पनि अलि आँट बटुल । आगोसित जिस्किए खरानी भइन्छ । पहरासित जुधे कुहिनु खस्किन्छ, जुइनु चुडिन्छ । व्यक्ति क्षणभङ्गुर हुन्छ तर विचार त अजर अमर हुन्छ । जनताका सन्तान मारिए, सहीद भए तर तिनको सपना र जपना कहिल्यै मरेन । कालगतिले पनि मानिस मर्छ तर उसले देश र जनताका लागि गरेको योगदान कहिल्यै मर्दैन । आँखा त सबैसित हुन्छ तर दूरदर्शी दृष्टि र दृष्टिकोण सबैसित हुँदैन । त्यसैले कायरहरु ओलीदेखि भालि पनि अवश्य तर्सिने छन । तर ओलीजस्तै प्रभावशाली नभए पनि उहाँको छेउछेउ उभिन सक्ने दोयम नेता र नेताहरु देशले बत्ती बालेर खोजिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्