जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार १२:५१

कोभिड–१९ संक्रमण लक्षण देखिएको ७ दिन निकै जोखिमपूर्ण, यस्तो छ चिकित्सकको सुझाव


काठमाडौं, बैशाख २१ । नेपालमा नयाँ भेरिएन्टको कोभिड–१९ संक्रमण निकै घातक देखिएको छ । कोभिडको नयाँ ‘स्ट्रेन’ अत्यधिक संक्रामक हुने भएकाले युवा र बालबालिकालाई पनि गम्भीर असर गरेको छ ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार ‘नयाँ भेरिएन्ट उच्च संक्रामक भएकाले परिवारका सबै सदस्य, अफिसका कर्मचारी एकै पटक संक्रमित देखिएका छन । यसको मुख्य कारण युके भेरिएन्ट (बी.१.१.७) रहेको डा पौडेलले जानकारी दिनुभयो । अत्यन्त संक्रामक मानिएको भारतमा देखिएको डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७) नेपालमा समेत देखिइसकेको छ ।

अझ भारतमा देखिएको ट्रिपल म्युटेन्ट भेरिएन्ट (बी.१.६१८) समेत भित्रभित्रै फैलिरहेको हुन सक्ने यसक्षेत्रका विज्ञहरूको भनाई छ । कोरोनाको घातक रुप देखिएसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्रिपल म्युटेन्ट भेरिएन्टको अवस्था जान्न उत्तर प्रदेश, बंगाल, बिहारसँग सीमा जोडिएको ठाउँबाट ‘र्‍यान्डम’ नमुना संकलन गरी परीक्षण गर्ने तयारी अघि बढाएको छ ।

ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुर नेपालमा तीव्र गतिले जटिल लक्षणसहित फैलिरहेको कोभिडका कारण यूके र डबल म्युटेन्ट भेरिएन्ट रहेको बताउनु हुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोलाका अनुसार भने हाल देखिएको भेरिएन्ट १० देखि १ हजार गुणासम्म संक्रामक छ । कोभिड संक्रमणको दोस्रो लहरमा म्युटेन्ट भाइरसको नयाँ स्ट्रेन तीव्र गतिले फैलिइरहेको छ । यसको लक्षणसमेत फरक देखिएको छ । ‘अघिल्लो वर्ष युवा र बालबालिका जोगिएका थिए, यसपालि यो उमेर समूहसमेत सिकिस्त भएको छ,’ बाँस्तोलाले भन्नुभयो ।

भाइरसको नयाँ स्ट्रेनले शरीरमा आक्रमण गर्छ । रुघाखोकी पनि देखिन्छ । ज्वरो सात दिनभन्दा बढी रहने गरेको छ । सामान्य र कडा खोकी देखिए लामो समय रहन सक्छ । अत्यधिक सुक्खा खोकीले कसैकसैको खकारमा रगत जाने समस्या देखिने गरेको छ । टाउको र शरीरका मांसपेशी दुख्ने, छालामा एलर्जी आउने, शिथिलता, स्वाद वा गन्ध हराउने लक्षणसमेत देखिएको छ । कतिपयमा वाकवाकी र पखाला लाग्ने गर्छ भने कतिमा मुख सुक्खा हुने, घाँटी खसखसाउने, दुख्ने लक्षण देखिने गरेको छ ।

विश्वमा करिब आधाभन्दा बढी कोभिड संक्रमितमा ‘सोर थ्रोट’ देखिएको छ । डा. बाँस्तोलाका अनुसार ‘लक्षण देखिएको ६ देखि ७ दिनमा निमोनिया भएर सास फेर्न गाह्रो भई अस्पताल भर्ना हुने धेरै छन । ‘दुई दिन मन्द ज्वरो र खोकी देखिए पनि छैटौं दिनमा निमोनिया भइसकेको हुन्छ । लक्षण देखिएको ४–५ दिनभित्रै चिकित्सकको परामर्श लिन जानु अत्यावश्यक छ,’ बाँस्तोलाले भन्नुभयो । चिकित्सकहरूका अनुसार लक्षण देखिएको पहिलो ६–७ दिन अत्यन्त जोखिमपूर्ण समय हो । संक्रमणको शंका लागे पीसीआर परीक्षण गराइहाल्नुपर्छ । संक्रमित वा शंकास्पद व्यक्तिको शरीरमा अक्सिजनको मात्रा अक्सिमिटरले नियमित नाप्नुपर्छ । अक्सिजनको मात्रा ९४ भन्दा कम भए तुरुन्त स्वास्थ्य परामर्श लिनुपर्छ ।

स्वास्थ्य निकायमा लानुअघि बिरामीलाई घोप्टो सुताए फाइदाजनक हुन्छ । बिरामीको श्वासप्रश्वासको दर प्रतिमिनेट २४ पटकभन्दा बढी भयो भने चिकित्सकसँग परीक्षण गराउनुपर्ने चिकित्सकको भनाई छ । चित्सिकका अनुसार मध्यमस्तरको संक्रमण देखिएका बिरामीमा श्वासप्रश्वासको गति प्रतिमिनेट २४ पटकभन्दा बढी देखिन सक्छ भने शरीरमा अक्सिजनको मात्रा ९० देखि ९३ प्रतिशतभन्दा कम देखिन्छ । गम्भीर अवस्थामा श्वासप्रश्वासको दर प्रतिमिनेट ३० भन्दा बढी र अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम हुन सक्छ ।