जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार ०८:०८

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो


काठमाडौं ।

भारतको मोतीहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)को लागतमा निर्माण भइरहेको पाइपलाइनको पहिलो चरणअन्तर्गत जमिन खनेर पाइप बिछ्याइएको हो । नेपाल आयल निगमले परियोजना कार्यान्वयन एकाइ स्थापना गरेर कामको सुपरिवेक्षण गरिरहेको छ । नेपाल आयल निगमका इन्जिनियर शरद पौडेलका अनुसार सबै पाइप बिछ्याइसकेर जडानको काम सुरु गरिएको छ । मोतीहारी–अमलेखगन्ज रुटमा ६९.९ किलोमिटरसम्म पाइप बिछ्याइएको छ । भारततर्फ मोतीहारीदेखि रक्सौलसम्म ३२.६५ किलोमिटर छ । त्यतापट्टि तीन महिनाअघि पाइप बिछ्याइसकिएको हो ।

नेपालतर्फ रक्सौलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिछ्याइएको छ । यसमध्ये पछिल्लो समय पथलैयादेखि अमलेखगन्जसम्मको ९ किलोमिटर खण्डमा जंगलको बीचैबीच पाइप बिछ्याइएको हो । नेपालतर्फ ३.६ किलोमिटरमा ड्रिलिङ गरेरसमेत पाइप राखिएको छ । परवानीपुरमा २ किलोमिटर र जितपुरमा १.६ किलोमिटर बजार क्षेत्रमा ८ देखी १६ मिटरसम्म जमिनुमनि ड्रिलिङ गरी पाइप बिछ्याइएको छ । बाँकी ठाउँमा सिमेन्टको क्यानल बनाएर पाइप राखिएको छ ।

इन्जिनियर पौडेलका अनुसार दुई पाइपलाई वेल्डिङ गरेर जडान गर्न थालिएको छ । जडान सकेपछि नटबल्टु कसेर पाइप तयार गर्ने उनले बताए । वेल्डिङ गरेर जोडिएको पाइपलाई रेडियो ग्राफी गरेर परीक्षण गरिन्छ । यसक्रममा दुवै पाइपको जोडिएको बिन्दुमा एक्सरे गरेर ठीक ढंगले जोडिए–नजोडिएको हेरिन्छ । त्यसपछि स्क्यान प्लास्ट गरेर पाइपमा वेल्डिङका क्रममा आउने खिया हटाइन्छ । ‘पाइपमा कतै पनि खिया हुनुहुँदैन, त्यसैले वेल्डिङका क्रममा आउन सक्ने खियालाई हटाएर चिल्लो स्टिल बनाइन्छ,’ उनले भने ।

सबै पाइप खियाप्रतिरोधी छन् । वेल्डिङ गरेको ठाउँमा खिया आउन नदिन पोलिथिन ल्यापिङ गर्ने पौडेलले बताए । ‘पोलिथिन ल्यापिङ गरेपछि खिया आउँदैन,’ उनले भने । पाइपलाइनको भित्री भाग पनि सफा गर्न थालिएको छ । भित्री भाग १० इन्च डायमिटरको छ । ‘पाइपको भित्री भागमा अटाउन सक्ने रबर हालेर मेसिनका माध्यमबाट फार्स दिई बाहिर निकाल्ने विधिबाट सफा गर्न थालिएको छ,’ उनले भने ।

आयल निगमले पाइपलाइन बिछ्याउने काम सकेपछि सञ्चालनको गृहकार्य अघि बढाएको छ । अहिले पाइपको सञ्चालन, मर्मत, सम्भारलगायतका विषयमा तालिम लिन निगमको एक टोली आइओसीको पाइपलाइनसम्बन्धी तालिम केन्द्र लखनउमा छ । दुई दिनअघि आइओसीको पाइपलाइन परियोजनाका कर्मचारी अमलेखगन्जसम्म आएर निरीक्षण गरी फर्केका छन् । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बिछ्याउने काम सकिएसँगै सञ्चालनका विषयमा भारतीय अधिकार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफलमा जुटेको जानकारी दिए ।