जनता टाइम्स

२६ भाद्र २०७८, शनिबार ०९:४१

पृथ्वीको तापक्रम बृद्धिसँगै बढ्न थाल्यो जनावर र चराचुरुंगीको आकार, यस्तो छ कारण


सिड्नी, भदौ २६ । नयाँ वातावरण होस् वा नयाँ कार्यक्षेत्र जे भए पनि परिवर्तित परिस्थिति स्विकार्नु अस्थित्वको महत्वपूर्ण विशेषता हो । बढ्दो तापका कारण मान्छे मात्र होइन, जनावर र कुनैबेला बोटबिरुवा पनि अवस्थाअनुसार आफ्नो स्वभाव बदल्छन् । समग्रमा पर्यावरण नै परिवर्तन हुन्छ । वैज्ञानिकहरूको एउटा पछिल्लो अनुसन्धानले पनि यसलाई थप पुष्टि गरेको छ ।

अध्ययनअनुसार केही जनावरले आफ्नो आकार बदल्छन् र विश्वव्यापी तापमानसँगै उनीहरूको शरीरको अंग पनि वातावरण अनुकूलीत हुन्छन् । जस्तै, परिवर्तित वातावरणमा बाँच्नका लागि कुनै जनावरको पुच्छर लामो हुन्छ भने केही चराको चुच्चो तथा कानको संरचना बदलिन्छ ।

वैज्ञानिकका अनुसार शरीरको ताप प्रभावकारी ढंगले फाल्न चराचुरुंगी र जनावरका शरीरका अंगमा वृद्धि भइरहेको छ । जलवायु परिवर्तनले जनावरमा पनि अत्यधिक चुनौती थपेको अस्ट्रेलियाको डिकिन विश्वविद्यालयका प्राध्यापक सारा राइडिङ बताउँछिन् । ‘जनावरले पनि वातावरण परिवर्तन स्विकार्दै बाँच्नुपर्छ । छोटो समयमा नै यस्तो परिवर्तन देखिएको छ,’ उनी भन्छिन् ।

ट्रेन्ड्स इन इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित सो अध्ययनले आकार परिवर्तनका घटनामा जलवायुको ताप लुकेको हुन सक्ने यसअघिको अनुसन्धानलाई समीक्षासमेत गरेको छ । बढ्दो तापका कारण विशेषगरी चरामा यस्तो परिवर्तन देखिने यसअघिको अनुसन्धानले देखाएको थियो । अनुसन्धानकर्ताहरूको विश्लेषण चरा र पंक्षीको आकार र विशेषतासँग मिल्छ । जस्तै, सन् १८७१ पछि अस्ट्रेलियाको सुगाको औसत आकार चारदेखि दश प्रतिशतसम्म वृद्धि भएको थियो । बर्सेनि तापक्रममा वृद्धिसँगै आकार बढेको अनुसन्धानकर्ता बताउँछन् ।

उत्तर अमेरिकाका अन्य चराहरू जस्तै, काला आँखा भएको जुन्कोस, थ्रसेस र गालापागोसको पनि चुच्चोको आकार बढेको छ । त्यस्तै, गोलो पात जस्तो कान भएको चमेरो (राउन्ड लिफ ब्याट) को आकार बढेको छ । युरोपेली खरायोको कान झनै बढेको छ भने मास्क्ड स्रिउ प्रजातिको मुसोको पुच्छर र खुट्टा बढेको छ । तर, आकार परिवर्तनले जनावरहरू जलवायु परिवर्तसँग संघर्ष गरेको भन्ने अर्थ नलाग्ने राइडिङको भनाइ छ । न्यूज कारखाना