काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्की दिँदै माओवादी कमजोर भए देश दुर्घटनामा पर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले संसद विघटन गरेर संविधान खारेज गर्ने ठूलो डिजाइन परास्त गरिएको भन्दै अहिले फेरि माओवादी कमजोर पार्ने षडयन्त्र भइरहेको बताउनुभयो । गरिब र मजदुरका निम्ति लडिरहेको प्रवृत्तिलाई अर्को प्रतिक्रान्तिकारी र प्रतिगामी प्रवृत्तिले सिध्याउन खोजिरहेको उहाँको भनाइ थियो ।
‘हामी एक नम्बर हुनुपर्छ । हुन्छौं । विरासत र एजेण्डाले हामी हुनुपर्छ । व्यक्तिगत स्वार्थका निम्ति होइन राष्ट्रका निम्ति हो भन्ने हामील देखाएका छौं,’ नेकपा एमालेको रिस गर्दै उहाँले भन्नुभयो, अहिले लडाइँ ठूलो हुनेवाला छ । कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरुले माओवादीलाई परास्त नगरि हुँदैन भन्ने छ । एमालेको कुम्भ मेला माओवादी र माओवादी नेतृत्व सिध्याउन हो ।’
दाहालले माओवादी मार्क्सवाद र विज्ञानको पक्षमा उभिनुपर्ने बताउनुभयो । देशलाई नै दुर्घटनामा पार्ने भन्दै उहाँले थप्नुभयो, ‘यो पक्षमा उभिएर देश बचाउने, यसमा नउभिए देश दुर्घटनामा पार्ने हो । यो कालखण्डमा माओवादी जागरुक र एकताबद्ध भएर अघि बढ्दा देश बच्ने हो । नत्र देश दुर्घटनामा पर्छ । संविधान र संघीयता खारेज हुन्छ । देश सामन्तवाद र अराजकतातिर जान्छ ।’
वैद्यको आलोचना
अध्यक्ष दाहालले नेकपा क्रान्तकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको पनि आलोचना गर्नुभयो । वैद्यले परिवर्तन भएर आए देशको स्वानिधता जोगाउन राजा ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिएपछि प्रचण्डले यो चानचुने कुरा नभएको टिप्पणी गर्नुभयो । ‘कोही हाम्रै साथीहरु समान्तवाद र साम्राज्यवाद आए हुन्थ्यो भन्दैछन् । यो सानो कुरा होइन । ठूलो कुरा छ । त्यसकारण देशलाई बचाउन र नयाँ चरणमा लैजान माओवादी बलियो हुनै पर्ने छ,’ उहाँले थप्नुभयो,‘हामीहरु सचेत नहुने हो भने देशमा दुर्घटना हुने सम्भावना छ । हामी लड्ने हो भने जित्ने निश्चित छ ।’













प्रतिक्रिया दिनुहोस्