काठमाडौं, असोज २२ । विजया दशमीको पावन अवसरमा सूर्यबिनायक नगरपालिकामा अन्तर वडा कप फुटवल प्रतियोगिताको आयोजना भइरहेको छ । पालिकाको वडा–७ स्थित मन्थली युवा क्लवद्वारा आयोजना गरेको फुटवल प्रतियोगिताको दोस्रो दिन आज आठवटा समुहबीच प्रतियोगिता भएको थियो । नगरपालिकाका दस वटै वडाबाट एक/एक र आयोजक टिमसहित गरी ११ वटा समुहबीच फुटवल प्रतियोगिता चलिरहेको छ ।
नगरपालिकाका प्रमुख बासुदेव थापाले घटस्थापनाको दिन फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उहाँले खेलको माध्यमबाट खेलाडीले देशको नाम चिनाउन सफल हुने भन्दै आफ्ना पालिकाभित्र फुटबल, बास्केट बललगायत अन्य खेलका लागि साथ सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । प्रतियोगिताको पहिलो दिन ६ खेल, दोस्रो दिन आठ खेल खेलिएको थियो ।
प्रतियोगिताको अन्तिम दिन सेमिफाइनल र फाइनल गरी ४ खेल खेलाइने आयोजक मन्थली क्लवका अध्यक्ष बबीराज कार्कीले बताउनुभयो । अन्तरवडा कप फुटवल खेलको उद्घाटन सत्रमा नगरपालिकाका उपप्रमुख जूना बस्नेत, वडा–७ का वडा अध्यक्ष रबिन्द्र सापकोटा, वडा–४ का अध्यक्ष उत्तम थापा र वडा–७ का सदस्य अर्जुन खतिवडालगायत स्थानिय बुद्धिजीवि, राजनीतिकर्मी, समाजसेवीलगायतले खेलको अवलोकन गरेर खेलाडीको हौसला बढाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्