जनता टाइम्स

२७ जेष्ठ २०८२, मंगलवार १०:४६

कसरी उठ्ला अब इतिहास बोकेको ठोस बजार !


नवराज पथिक 

रामेछाप, २७ जेठ । एक शताब्दी भन्दा पुरानो फलाम खानी, ऐतिहासिक मेगजिन अड्डा, नेवार समुदायको मौलिक व्यापारिक चहलपहल र विदेशी पर्यटकहरूको आवतजावतको इतिहास बोकेको रामेछापको ठोसे बजार अहिले आफ्नै खण्डहरमाथिबाट पुनर्जन्मको सपना देख्दै छ ।

पुरानो मौलिक इतिहास, विस्मृतिमा हराउँदै गएको मौलिकता र बदलिँदो समयको चपेटामा परेर खुम्चिँदै गएको यो बजार फेरि उठ्ने प्रयासमा छ ।

ठोसे बजारको व्यावसायिक इतिहास विक्रम संवत् १९२१ सालमा सुरु हुन्छ, जब तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको समयमा ठोसेको एकानफेदीमा फलाम उत्पादनसम्बन्धी मेगजिन अड्डा स्थापना गरियो । नेपालकै एक महत्त्वपूर्ण फलाम खानी र हतियार उत्पादन केन्द्रका रूपमा विकास भएको ठोसे त्यसबेला पूर्वी नेपालको आर्थिक केन्द्रजस्तै बनिसकेको थियो ।

एकानफेदी नजिकका १८ वटा फलाम खानीबाट निकालिएको धाउ ठोसेमा पगालेर फलाम बनाइन्थ्यो । त्यो फलामबाट दैनिक नौ नाल बन्दुक, घरेलु हतियार, खुकुरी, गल, कोदालो, हँसिया, घोडाको टाप, ताल्चा आदि बनाइन्थ्यो ।

विसं १९५० सालमा उक्त अड्डा एकानफेदीबाट ठोसे सारियो । त्यसपछि बजार झनै फस्टायो । बजारको मुख्य नेतृत्व स्थानीय डिट्ठा भक्तबहादुर कार्कीले गर्नुभयो, जसको पहलमा फलाम उत्पादन व्यवसायलाई थप विस्तार गरिएको थियो ।

फलाम खानी र मेगजिन अड्डामा सयौँ मजदुर काम गर्थे । ती मजदुरहरू, साथै व्यापारीहरू र उपभोक्ताहरूको भिडले गर्दा ठोसे बजार अत्यन्त व्यस्त रहने स्थान बनेको थियो ।

त्यो समयको फलामका हतियार उत्पादनले राजधानी दरबारसम्म पहुँच राख्थ्यो । ठोसेबाट बनाइएका सामग्रीहरू सुन्दरीजल हुँदै दरबार पु‍र्याइन्थे । दरबारबाटै स्वीकृति लिएर प्रयोगमा ल्याइने ती वस्तुहरूले ठोसे बजारको महत्त्व झनै बढाएको थियो । व्यवसाय मात्र होइन, त्यसबेला ठोसे सांस्कृतिक, प्रशासनिक र रणनीतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्थ्यो ।

तर, समय फेरियो । विसं १९६५ साल पछि मेगजिन अड्डाले बन्दुक बनाउन छाड्यो र घरेलु उपकरण उत्पादनमा सीमित रह्यो । फलाम खानी पनि सरकारी व्यवस्थापनमा सञ्चालन गर्न मुस्किल भयो ।

अन्ततः १९७३ सालमा खानी निजी ठेकेदारलाई दिइयो । प्रारम्भमा पूर्व ३ नम्बर क्षेत्रका साङ्गे लामाले खानीको जिम्मा लिनुभयो, तर उहाँले सञ्चालन गर्न नसकेपछि छ्योङ तामाङ र पछि बहिदार फत्यबहादुरले खानीको ठेक्का लिनुभयो ।

उहाँहरूले उत्पादन त गर्नुभयो, तर दीर्घकालीन योजना र संरक्षण अभावमा व्यवसाय बिस्तारै खुम्चियो । स्थानीयहरूबाट १ रुपियाँमा ६ धार्नी फलाम किन्दै ४ धार्नीको दरमा बेच्ने अभ्यासले समेत दीर्घकालीन व्यापारिक नोक्सानी रोक्न सकेन ।

विसं १९८० सालमा सरकारले खानीको ठेक्का तोड्यो र सो व्यवसाय सरकारी स्तरमै बन्द गरियो । त्यसपछि स्थानीयहरूले व्यक्तिगत प्रयासमा फलाम निकाल्ने, सामान बनाउने क्रम चलाए पनि त्यो क्रम लामो समय टिक्न सकेन । खानीको व्यवसाय धराशायी बनेसँगै ठोसे बजारको जीवनशैलीमा समेत ठुलो परिवर्तन आयो ।

राजनीतिक उतारचढावले पनि ठोसे बजारको भविष्यमा आघात पुर्‍यायो। विसं २००७ सालमा कांग्रेसको जनमुक्ति सेनाले चार दिनसम्म मेगजिन अड्डा कब्जा गर्‍यो । कागजात जलाइदियो, संरचना भत्काइयो । त्यसपछि अड्डाको औपचारिक कामकाज नै बन्द भयो ।

२०२४ सालमा त्यहाँ बाँकी रहेका सरकारी सामग्रीहरू लिलाम गरिए । ठेकेदारले काम लाग्ने र लैजान मिल्ने सामान लग्यो । केही सामानहरू भने अझै पनि त्यहीँ छन्—इतिहासका मौन साक्षीझैँ ।

फलाम खानी बन्द भए पनि ठोसे बजारको साँघुरिएको आशामा सानो प्रकाशको झल्को फेरि देखिएको थियो–जब विदेशी पर्यटकहरू दोलखाको जिरी हुँदै सगरमाथा बेसक्याम्प जान ठोसे हुँदै हिँड्न थाले । पर्यटक आगमनले बजारमा चहलपहल बढायो । होटेल, लज, खाजा घरहरू खुले ।

केही समय ठोसेले फेरि आफ्नो पुरानो दिन फर्कने सङ्केत देखायो । तर त्यो खुसी लामो समय टिकेन । चुचुरेको शिवालयमा बनेको झोलुङ्गे पुलले नयाँ छोटो बाटो दिएको कारण पर्यटकहरू ठोसे नआई सिधा अर्को मार्ग लिन थाले । फलस्वरूप ठोसे फेरि सुनसान हुन थाल्यो ।

त्यसै क्रममा विसं २०७२ साल बैशाख १२ मा गोरखा केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गयो । त्यसको पराकम्पनको रूपमा बैशाख २९ गते गएको भूकम्पले ठोसे बजारलाई प्रहार गर्‍यो । त्यसबेला बचेखुचेका पुराना घरहरू पनि ढले । केही घर त पहिल्यै सुनसान भइसकेका थिए, भूकम्पपछि त बाँकी रहेका संरचनाहरू पनि भग्नावशेष बन्न पुगे । स्थानीय महेशलाल प्रधान भन्नुहुन्छ, ‘२०७२ सालको भूकम्पले त पुरानो बजारको अस्तित्व नै मेटाइदियो, अब त पुराना घर नै छैनन् भन्दा पनि हुन्छ ।’

पुरानो इतिहास गुमाउँदै गएको ठोसे बजार अहिले फेरि उठ्ने सपना देख्दै छ।  पुराना शैलीका घरहरू मेटिए पनि नयाँ पक्की घरहरू बन्न थालेका छन् । बजारमा पुनः केही व्यवसाय खुलेका छन् । होटेलहरू सञ्चालनमा छन्, स्थानीयहरू गाउँमै केही गर्न सकिन्छ भन्ने सोचका साथ घर फर्किन थालेका छन्। होटेल व्यवसायी गौतम श्रेष्ठ भन्नुहुन्छ, ‘पुराना घर सकिए, अब बिस्तारै नयाँ पक्की घरहरू बन्दै छन्, व्यापार व्यवसाय पहिलाको जस्तो छैन, तर हामी यो बजारलाई फेरि जगाउने प्रयास गर्दै छौँ।’

ठोसे बजारको पुनर्जागरण त्यति सजिलो भने छैन । पुरानो गौरव फर्काउन इतिहासको संरक्षण, पर्यटक मार्गको पुनः परिकल्पना, र स्थानीय उद्यमको प्रवर्द्धन आवश्यक छ । ठोसे बजार केवल भौतिक संरचना होइन, त्यो नेपालको ऐतिहासिक, औद्योगिक र सांस्कृतिक विरासतको जीवित प्रतीक हो । शताब्दीयौँ पुरानो त्यो इतिहासको गर्व फेरि जाग्नेछ वा अझै गहिरो विस्मृतिमा हराउनेछ—यो प्रश्न समयसँगै उत्तरित हुनेछ ।