जनता टाइम्स

२७ जेष्ठ २०८२, मंगलवार २२:३२

सामाजिक अन्यौलता, युवाको भ्रम र स्थानीय विकासको यात्रा 


ज्ञानकुमार श्रेष्ठ 

आजको हाम्रो समाजमा तथ्यगत विश्लेषणभन्दा बढी विवेकपूर्ण तर्क गर्नेहरू बिचमा ठुलो विभाजन देखिन्छ । यो विभाजनले धेरैलाई भ्रम र निराशाको अवस्थातर्फ धकेलिरहेको छ

कतिपयले नीति निर्माता र जनप्रतिनिधिहरू टुक्रा–टुक्रा भएर अल्झिएका छन् भन्ने प्रश्न उठाइरहेका छन् । के साँच्चै हाम्रा नीति निर्माता कहीँ कतै अलमलिइरहेका हौँ त ? हामीले आफ्ना जिम्मेवारीहरूलाई सही तरिकाले निभाइरहेका छैनौँ त ? यी प्रश्नहरू समाजमा सधैँ चलिरहने छन् ।

तथापि, हामीले विषयलाई तथ्य र प्रमाणमा आधारित भएर हेर्नै पर्दछ । जसले जनताको प्रतिनिधित्व गरेका छन् र कार्यकारी जिम्मेवारी सम्हालेका छन्, उनीहरूको नीति बनाउने कार्यक्रम, आयोजना सञ्चालन, प्रभाव मूल्याङ्कनबाट मात्रै नागरिकहरूले तिनीहरूको कामको सही मूल्याङ्कन गर्न सक्नेछन्।

धेरैजसो मानिसहरू असन्तुष्ट छन्। कोही भन्छन् देशमा केही भएन, केहीले भन्छन् जुन हुनु पर्ने थियो, त्यो भएन। यी असन्तुष्टिका स्वरहरू समाजमा छरपष्ट भइरहेका छन्। यस्ता आवाजहरूलाई बुझ्न जरुरी छ। तर कतिपयले गलत तरिकाले प्राप्त सम्पत्तिको दुरुपयोग गरेर सामाजिक सञ्जालमा गलत सूचना फैलाएर एक प्रकारको सामाजिक आतङ्क सिर्जना गरिरहेका छन्। विशेष गरी फेसबुक मार्फत विदेशमा बसेकाले युवालाई भ्रमित पार्न भ्रामक सन्देशहरू फैलाइरहेका छन् कि हाम्रो देश युरोप अमेरिका जस्तै हुनुपर्ने थियो र अहिले शासनमा रहेका नेताहरू नेतृत्व नै दोषी छन्। तर, यो कुरा नयाँ पुस्ताले बुझ्न आवश्यक छ कि हाम्रा पूर्वजहरू राणा शासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र पुनर्स्थापना र विकासको सन्दर्भमा कस्तो सङ्घर्ष गरी आएका थिए।

विदेशमा रहेका युवा र नयाँ पुस्ताले सायद यो इतिहास राम्ररी थाहा पाएका छैनन्। प्रजातन्त्र आएपछि मुलुकमा विकास र समृद्धि त भयो, तर त्यो क्रम अझै द्रुत र प्रभावकारी बन्नुपर्ने थियो। तर अहिलेको पुस्ता डिजिटल प्रविधिको जमाना टिकटक र फेसबुकमा रमाई रहेको छ। उनीहरूलाई पुराना पुस्ताका कठिनाइहरू बुझ्न मन छैन, पढ्न मन छैन। विज्ञान र प्रविधिको दुरुपयोग गरी विश्वका पुँजीवादी शक्तिहरूले नेपाली श्रमजीवी जनताको मूल्यलाई घटाउँदै छन्। नयाँ पुस्ता यस प्रविधिमा लत लागेर आफ्नो मस्तिष्कलाई सीमित बनाउँदै छ।

सामाजिक सञ्जाल र ‘डिजिटल भ्रम’को आतङ्क

अहिलेको युग सूचना प्रविधिको हो। तर प्रविधिको चरम दुरुपयोगले हाम्रो समाजमा ‘डिजिटल आतङ्क’ सृजना गरेको छ। खास गरी फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत यथार्थभन्दा टाढा रहेका नेपाली युवा-विशेष गरी वैदेशिक रोजगारमा रहेका-बिच नेपालको शासन व्यवस्था, नेतृत्व, र राजनीतिक इतिहासलाई विकृत रूपमा प्रस्तुत गर्ने कार्य व्यापक हुँदै गएको छ।

यी युवाहरूलाई थाहा छैन कि राणा शासनका बेला आम नेपाली जनताको अवस्था कस्तो थियो, वा पञ्चायती कालमा जनताको जीवनस्तर कहाँ उभिएको थियो। २०४६ सालको आन्दोलनपछिको प्रजातन्त्र पुनः स्थापनाबाट देशको विकासको गति कसरी अगाडि बढ्यो, त्यो इतिहास पढ्ने संस्कार पनि हराउँदै गएको छ। टिकटक हेर्ने पुस्ताले ‘विषादीरहित अन्न’ कसरी माटोमै फल्छ भनेर सोच्न छाडेका छन्। तर हामी अझै पनि माटोमा अमृत फलाउने श्रमजीवी जनताका सन्तान हौँ। पुँजीवादले त्यस श्रमलाई विस्थापित गर्न खोजिरहेको छ।

डिजिटल लत र बालमस्तिष्कको विनाश

आज डेढ दुई वर्षका अबोध शिशुले आमाको दूध पिउँदाको समयमा मोबाइलमा रिल्स हेर्न थालिसकेको छ । आमाबुबाले बालबालिकालाई खाना खुवाउँदा कार्टुन र सर्ट रिल्स देखाएर ‘मनोरञ्जन’ गराइरहेका छन्। यसले बाल मस्तिष्कलाई एकोहोरो बनाइरहेको छ। यो गम्भीर विषय हो, जसप्रति आजको शिक्षित भनिएको वर्ग पनि विमुख देखिन्छ। यसरी हाम्रो समाज एक प्रकारको साम्राज्यवादी माया जालमा फसिरहेको छ।

वास्तवमा हाम्रो समाज र राजनीति असन्तुष्ट छ। हामी जनप्रतिनिधिहरूले पनि निर्ममतापूर्वक काम गर्नुपर्ने हुन्छ । साँच्चै जनप्रतिनिधिले केही नगरेकै हो त ? म, खाँडादेवी गाउँपालिकाको अध्यक्ष भएर तीन वर्षको कार्यकालमा गरेको आत्म समीक्षा प्रस्तुत गर्दै छु ।

कृषिमा आत्मनिर्भरता र चुनौतीहरू

खाने कुरा नभएको अवस्थामा मानिस बाँच्न सक्दैन । त्यो कुरा माटोमा फल्छ । हामीलाई पुर्खाले दिएको जमिनलाई जोगाएर फलाउनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ भन्ने मेरो विश्वास छ । यद्यपि, जलवायु परिवर्तन, बसाइसराइ, जटिल भू-नक्सा र पानीको कमीले कृषिमा उत्पादन लागत बढाएको छ। बजारसम्म पहुँच नपुगेका कारण किसानहरूलाई उचित मूल्य पनि पाउँदैनन् ।

म पहिलो वर्षदेखि नै कृषिलाई आत्मनिर्भर बनाउने प्रयासमा छु। ग्रामीण आर्थिक उद्यमशीलतालाई जनस्तरमा पुर्‍याउने र कम्तीमा एक हजार युवा किसानलाई व्यवसायी उत्पादनमा लगाउने योजना अघि बढाइरहेछु। यसका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत अनुदानसमेत प्राप्त भइसकेको छ।

वडा एक उद्यम कार्यक्रम अन्तर्गत २५ जना किसान मिलेर उद्यम गर्ने योजना अगाडि बढिरहेको छ। मेवाको सम्भावना देखेर मेवा प्रवर्धनमा जोड दिइएको छ। कृषकहरूलाई तरकारी र फलफूल उत्पादनमा प्राथमिकता दिनुपर्छ।

पशुपालनमा पनि नयाँ सोच राखिएको छ। हेफरसँग साझेदारीमा महिला किसानहरूको सहभागितामा बाख्रा पालनलाई व्यावसायिक स्वरूप दिन अनुदान नीति बनाइएको छ। अहिलेसम्म ५ सयभन्दा बढी खोर बनिसकेका छन् । त्यसमा बाख्राहरू पालन भइरहेका छन्। सिँचाइ समस्या रहे पनि थोपा सिँचाइ प्रविधि मार्फत उत्पादन विस्तार गर्ने प्रयास भइरहेको छ।

जलवायु परिवर्तनको प्रभावलाई कम गर्न आकाशे पानी सङ्कलन र पोखरी निर्माणको योजना अघि बढाइएको छ। तर जनताको सक्रियता सोचे जस्तो नहुँदा प्रभावकारिता सीमित भएको छ।

उद्यमशीलता र रोजगारी सिर्जना

खाद्यान्न, फलफूल, र पशुपालनसँग जोडिएको उत्पादनलाई व्यावसायिक रूपमा बजारमा पुर्‍याउने योजना सञ्चालनमा छ। स्थानीय युवाहरूलाई उद्यमी बनाउने पहलमा पनि लागिएको छ। उद्योग, जस्तै आलुचाको वाइन बनाउन प्रस्ताव गरिएको छ। विभिन्न सामाजिक संस्था मार्फत सिपमूलक तालिम दिइएको छ ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार क्षेत्रका चुनौतीहरूलाई समेत समेटेर काम गरिरहेको छु। स्वास्थ्य सेवा अझै कमजोर छ। चिकित्सकको अभाव छ। मोबाइल अस्पतालको योजनामा प्राविधिक र कानुनी समस्याले काम रोकिएको छ।

सडक निर्माणमा पनि नयाँ मेसिनरी किन्ने, रोलर र डोजर ल्याउने योजना छ। यसले सडक विस्तार र मर्मत सम्भारमा सहजता ल्याउनेछ।

शिक्षा र स्वास्थ्यमा सुधारको आशा

शिक्षामा सुधार आवश्यक छ। कक्षा आठको नतिजा सुधार्न ५ प्रतिशतबाट बाट ४८ प्रतिशतमा पुर्‍याइएको छ । अझ गुणस्तर सुधार्न पालिकाले राजनीतिक दबाब बिना काम गर्नुपर्ने अवस्था छ। गुणस्तरीय शिक्षा दिन आवासीय विद्यालय खोल्ने सोच छ। दलित, अल्पसङ्ख्यक, गरिब विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने प्रयास भइरहेका छन्।

अबको लक्ष्य हो-विद्यालयहरूको गुणस्तरिकरण। तल्लो तहमा इसिडी/एमजिएलएम प्रणाली लागू गरेर बोर्डिङ सरह बनाउने, माध्यमिक तहलाई आवासीय विद्यालयमा रूपान्तरण गर्ने, १०, ११ र १२ को शिक्षालाई पालिकाभित्र एउटै केन्द्रमा समेट्ने र त्यसको लागि छुट्टै सुविधा दिने। यसले गुणस्तर बढाउँछ, खर्च घटाउँछ। प्राथमिकतामा राखिएको आवासीय विद्यालय निर्माण योजना गत वर्ष साढे ३ करोडको ठेक्कामा अघि बढेको छ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी छ। गाउँमा सवारी र स्वास्थ्य सुविधा सीमित छन्। हाम्रो बस्ती अव्यवस्थित छ। सडक कच्ची छन्। चिकित्सक पुर्‍याउन गाह्रो छ। समाधानको उपाय हो–‘मोबाइल अस्पताल’। उपकरण, औषधि, चिकित्सकसहितको सवारी साधनबाट गाउँ गाउँमा सेवा दिने सोच राखिएको हो। तर कानुनी झन्झट र भुक्तानी समस्या समाधान नभएकाले योजना कार्यान्वयनमा आउन सकेन।

पूर्वाधार र सहरीकरण

पूर्वाधार निर्माणमा हाम्रो मुख्य चुनौती भनेकै दिगोपन हो। साना सडकहरूलाई चौडा गर्न एउटा डोजर छ तर रोलर छैन। डोजरको मर्मतपछि रोलर किन्ने निर्णय कार्यपालिकाबाट भइसकेको छ। यसै वर्ष रोलर प्रयोग गरेर माटो पिच गर्ने योजना कार्यान्वयनमा आउनेछ। अस्पताल निर्माण, सामुदायिक भवनको सजावट लगायतका योजना प्राथमिकतामा राखेर अघि बढाइएको छ।

समग्र सोच र निष्कर्ष

हामी जनप्रतिनिधिहरूले सकारात्मक सोचका साथ विकासका कामहरूलाई अगाडि बढाउनुपर्छ। आलोचना हुनु स्वाभाविक हो तर त्यस्तो आलोचना जसले विकासलाई अवरुद्ध गर्छ, त्यसलाई सही दिशामा लैजान जरुरी छ।

धेरै सञ्चारमाध्यमहरूले नकारात्मक पक्ष मात्र बढी प्रचार गर्दै सामाजिक अराजकता फैलाइरहेका छन्। यसले लोकतन्त्र र विकासलाई कमजोर बनाउँछ।

म आम नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्दछु, तथ्य र विवेकका आधारमा मात्र सत्य बुझ्ने प्रयास गरौँ। हाम्रो देशको विकासका लागि सबै मिलेर सकारात्मक भूमिका निर्वाह गरौँ।

म, खाँडादेवी गाउँपालिका अध्यक्षको हैसियतले तपाईँहरूको अमूल्य सुझाव र सल्लाहका लागि सदैव तयार छु । म अहिले खाँडादेवी गाउँपालिकाको अध्यक्षको भूमिकामा छु। प्रतिनिधित्वको मर्म बुझ्दै, कार्यान्वयनको जिम्मेवारी बोकेर, जनजीवनमा दिगो परिवर्तन ल्याउने यात्रामा छु। म आलोचना चाहन्छु, सुझाव चाहन्छु, बहस चाहन्छु, तर तर्कमा आधारित, तथ्यमा आधारित र समाधानमुखी हुनुपर्छ।

हाम्रा युवाहरू, हाम्रा सञ्चार कर्मी, हाम्रा शिक्षक, हाम्रा नागरिक-सबैको एकै लक्ष्य होस्–हाम्रो माटोमा फल्ने, हाम्रै पसिनाले खनजोत गरिने, हाम्रै श्रमबाट आत्मनिर्भर हुने देश बनाउने। हामीले चिनेको यथार्थलाई अरूले बनाएको भ्रमले विस्थापित नगरोस्।

(लेखक नेकपा एमालेबाट निर्वाचित रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष हुनुहुन्छ )