जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार ००:२४

खाँडादेवी विकास कोषको बैठक : खाँडादेवी मन्दिरलाई थप व्यवस्थित गरिने 


रामेछाप, २९ जेठ । रामेछापको ऐतिहासिक खाँडादेवी मन्दिरको संरक्षण र व्यवस्थापनको लागि गठन भएको खाँडादेवी विकास कोषको नयाँ निर्वाचित समितिको तेस्रो बैठक सम्पन्न भएको छ ।

कोषका अध्यक्ष शेरबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकमा कोषका पदाधिकारी, सदस्य तथा सल्लाहकार समिति समेतको सहभागिता रहेको थियो । बैठकले साधारण सभाको खर्च अनुमोदन गर्नुका साथै मन्दिर परिसर व्यवस्थापन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ ।

कोषका अध्यक्ष शेरबहादुर तामाङका अनुसार बैठकले कोषाध्यक्षले प्रस्तुत गर्नुभएको खर्चको विवरण छलफल पछि स्वीकृत गरेको छ । बैठकले कोषका आजीवन सदस्यहरूको अभिलेखीकरणलाई व्यवस्थित गर्ने पनि निर्णय गरेको छ ।

मन्दिर परिसमा छाडा चौपाय छाड्न रोक लगाई बगैँचालाई व्यवस्थित बनाइने भएको छ । मन्दिरको पर्खालसँगै रहेको टहराहरूमा पूजाका सामान बाहेक अन्य सामान बिक्री गर्न पनि रोक लगाइने भएको छ ।

तामाङ समुदायका पुजारी रहेको सो मन्दिरमा पूजा गर्ने पुजारीहरूले बाहिर गएर मादक पदार्थ सेवन गरेको पाइएमा पुजारीबाट निष्कासन गर्ने निर्णय समेत बैठकले गरेको छ । मन्दिर सुरक्षाको लागि निर्माण भइरहेको प्रहरीको अस्थायी पोष्ट भवन निर्माण कार्य छिटो सम्पन्न गरी प्रहरीलाई बस्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

कोषको तेस्रो अधिवेशन पछि भक्तजनहरूले चढाएको नगद र गहनाहरूको अभिलेखीकरणको बारेमा पनि बैठकले निर्णय गरेको छ । खाँडादेवीलाई ऐतिहासिक शक्ति पीठ मानिन्छ । यो मन्दिरको वर्णन शिव पुराण र देवी भागवतमा पनि गरिएको पाइन्छ ।

मन्दिर व्यवस्थापन र संरक्षणको लागि २०७० सालमा स्थापना भएको खाँडादेवी विकास कोषले पुजारी व्यवस्थापन, बलि व्यवस्थापन, भक्तजहरुलाई दर्शनको व्यवस्था, मन्दिरको नियमित पूजा, संरचना निर्माण र संरक्षण, प्रचार प्रसार लगायतको काम गर्दै आएको छ ।

खाँडादेवी गाउँपालिका–२ र ७ को सिमानामा रहेको खाँडादेवी मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएका चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यसैले यो निक्कै पुरानो मन्दिर मानिन्छ ।

नेपाल एकीकरण गर्ने क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र सो लडाइँ जित्न खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ ।

दरबारबाट पठाइने पूजा खर्च विसं २००९ बाट दरबारले पठाउन छाडेपछि पुजारीहरूले आफैँले खर्च उठाएर सो पूजा गर्दै आएका थिए । अहिले खाँडादेवी विकास कोषले महानवमी र चैते दशैँमा सरकारी पूजा गर्दै आएको छ ।

विकास कोषकै पहलमा पुरातत्त्व विभागबाट मन्दिर र अन्य संरचनाहरू नयाँ बनाइएको छ । पुरातात्विक महत्त्व नखलबलिने गरी तरी संरचना बनाइएको हो ।

मन्दिरमा दर्शन गर्न देशभरबाट भक्तजनहरू आउने गर्दछन् । भारतबाट समेत दर्शनको लागि मानिसहरू आउने गर्दछन् । आफूले गरेको भाकल पुरा भए पछि पञ्चबली र पूजा लिएर यो मन्दिरमा मानिसहरू आउँछन् ।