काठमाडौं, जेठ २८ । नेपालले नेदरल्याण्डबिरुद्ध सनसनीपुर्ण जीत निकालेको छ । आईसिसी विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण जीत निकालेको हो ।
सिजनको चौथो खेल स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले अघिल्ला खेलको तुलनामा कम रन जोडेपनि नेदरल्याण्ड्समाथि १६ रनको सनसनीपूर्ण जीत निकाल्यो । नेपालले दिएको २३७ रन लक्ष्य पछ्याउन पेनाल्टीमा पाएको १० रनबाट स्कोर सुरु गरेको नेदरल्याण्ड्सका ब्याट्सम्यानहरू नेपाली बलरसामु निरीह बने ।
नेपाली बलरहरूले एकपछि अर्को विकेट लिइरहँदा नेदरल्याण्ड्सका एकपछि अर्का ब्याट्सम्यान क्रिजमा टिक्न खोजे पनि पेभेलियन फर्किनु पर्यो । पहिलो पारीमा ब्याटिङ गरेको नेपालले आरिफ शेखको ८४ रनको मद्दतमा नेदरल्याण्ड्सलाई मध्यम चुनौती दिएको थियो ।
नेपालका लागि आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३६ रन जोड्यो । नेपालका लागि आरिफले ८५ बलमा ७ चौका र दुई छक्का हान्दै सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । आरिफको यो वानडेतर्फ अहिलेसम्मकै उच्च स्कोर हो ।
यस्तै अर्का ब्याट्सम्यान भीम सार्कीले ३८ बलमा ३ चौकासहित ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रन बनाए । कप्तान रोहित र भीमलाई माइकल लेभिटले आउट गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रनमै आउट भए । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकासहित ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित बने ।
नेपालका ओपनर कुशल भुर्तेल १८ रनमा आउट भए । कुशलले १९ बलमा २ चौका हाने । दोस्रो विकेटका रुपमा १६ बल खेलेर अनिल साह २ रनमा आउट भए । बलिङतर्फ नेदरल्याण्ड्सका पल भानले ४ र लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिएका थिए । खेलमा नेदरल्याण्ड्सले १० रन पेनाल्टी पायो । यसो हुँदा जवाफी ब्याटिङको सुरुमै नेदरल्याण्ड्सले कुनै बल सामना नगरी १० रनबाट आफ्नो पारी सुरु गरेको थियो । नेदरल्याण्ड्सका ओपनर म्याक्स’ओ डोडले ३.२ ओभरमा जम्मा चार रन जोड्दा नेपालका बलर नन्दन यादवले ललित राजवंशीको हातबाट क्याचआउट गराए ।
अर्का ओपनर मिचेल लेभिट क्रिजमा ११.३ ओभरसम्म टिके पनि जम्मा २७ रन बनाउँदै सन्दीप लामिछानेलाई लेग विफोर विकेट दिए । ३६ रन जोडेका वेस्ली बारेसीलाई ललित राजवंशीले बसीर अहमदको हातबाट २०.२ ओभरमा क्याचआउट गराए । यस्तै २१.४ ओभरमा सन्दिप लामिछानेले जेच लियोनको लेग विफोर विकेट लिए । दोस्रो विकेटका रूपमा राजवंशीले ३०.१ ओभरमा नेदरल्याण्ड्सका स्कट इडवार्डको विकेट लिए । ४७ बलमा ३० रन जोडेर इडवार्ड पेभेलियन फर्किएका थिए ।
३१.६ ओभरमा लामिछानेले नेदरल्याण्ड्सको छैठौँ विकेट लिए । ३६ बलमा १७ रन जोडेका तेजा निदामनुरु सन्दीपको बलमा कप्तान रोहित पौडेलबाट क्याचआउट भएका थिए । ३९.३ ओभरमा २७ बल खेलेर २२ रन जोडेका नोह क्रोएजलाई कुशल भुर्तेलले लेग विफोर विकेट लिँदै आउट गरे । नेदरल्याण्ड्सले गुमाएको यो सातौँ विकेट थियो ।नन्दन यादवले ४६.२ ओभरमा रिओल्फ भान र ४६.६ ओभरमा कायल क्लेइनलाई आठौँ र नवौँ विकेटका रूपमा क्रमशः भीम सार्की र रोहित पौडेलबाट क्याचआउट गराए । भानले २२ बलमा १६ रन र क्लेइनले ४६ बलमा २५ रन जोडेका थिए ।
करन केसीले ४९.२ ओभरमा पाउल भानको विकेट लिँदै नेपालको जीत सुनिश्चित गरे । अन्तिम विकेट गुमाउँदा नेदरल्याण्ड्सले २२० रन मात्र जोड्न सक्यो । नेपालले मंगलबार ३ खेलाडी परिवर्तन गरेको थियो । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको ठाउँमा नन्दन यादव, बसिर अहमद र अनिल साहलाई खेलाइएको हो ।
नन्दनले वानडेमा डेब्यु गरे । उनले एक महिनाअघि टी–ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडीआई खेल्ने ४२औं खेलाडी भएका छन् । बसिरले वानडेमा पुनरागमन गरेका हुन् । बसिरले सन् २०२२ जुलाई १६ मा नामिबियाविरुद्ध ओडीआईमा देखिएका थिए ।
योसँगै नेपालले यस शृङ्खलाका ४ मध्ये ३ खेलमा जित निकालेको छ । लिग २ शृङ्खलामा नेपालको १६ खेलबाट १२ अङ्क भएको छ । नेपाल अहिले सातौँ स्थानमा छ । नेदरल्याण्ड्सको २३ खेल खेल्दा २६ अङ्क छ । जारी लिगको अन्तिम खेलमा जीत निकालेको नेपालले स्कटल्याण्डमै अब टी–२० सिरिज खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्