जनता टाइम्स

२७ जेष्ठ २०८२, मंगलवार १८:५४

न्याय परिषदले गर्यो सर्वोच्चमा तीन न्यायाधीश सिफारिश, वरिष्ठ अधिवक्तादेखि उच्चका मुख्य न्यायाधीशसम्म परे


काठमाडौं, जेठ २७ । सर्वोच्‍च अदालतमा तीन जना न्यायाधीश सिफारिस भएका छन । मंगलबार बसेको न्यायपरिषद बैठकले सर्वोच्चका लागि एक जना वरिष्ठ अधिवक्ता र दुई उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वाेच्चको न्यायाधीश सिफारिस गरेको हो।

न्यायपरिषदले दोलखा निवासी वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्‍यायाधीश शान्तिसिंह थापा सिफारिस गरेको हो । वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्‍च अदालतका बार अध्यक्ष समेत हुनुहुन्छ । यस्तै मुख्य न्‍यायाधीश पौडेल २०५० साउन १ गते र मुख्य न्यायाधीश थापा २०७० जेठ २७ गते न्याय सेवामा प्रवेश गर्नुभएको थियो ।

सर्वोच्च अदालतमा चारवटा न्यायाधीशको पद रिक्त थियो। अझै एक न्यायाधीशको पद रिक्त रहेको छ। सिफारिस भएसँगै अब उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ। सुनुवाइबाट अनुमोदन भए उहाँहरू सर्वोच्‍चका न्यायाधीशमा नियुक्त हुनुहुनेछ ।