काठमाडौं, २८ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनको लागि मंगलबार मध्यरातसम्म उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन कमिटीले अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकेको भए पनि उम्मेदवारी दर्ता गराउनको सङ्ख्या धेरै भएकोले राति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो ।
अनेरास्ववियुको अध्यक्षका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी परेको छ । कडरिया र पौडेले दुवै जना अहिलेको कमिटीका सचिव हुन् ।
पार्टी नेतृत्वले कडरियालाई अध्यक्ष तथा प्रकाश पौडेल र अञ्जना सिवाकोटीलाई उपाध्यक्ष, दीपक धामीलाई महासचिव र महासचिव आरती भट्टलाई उपमहासचिव सर्वसम्मत बनाउने गरी प्रस्ताव गरिएको थियो । तर पौडेल उपाध्यक्ष बन्न असहमत भएपछि अध्यक्षमा चुनाव हुन लागेको हो ।
अध्यक्षमा दुई जनाको मनोनयन दर्ता भएको छ भने अन्य सबै पदाधिकारीमा पनि निर्वाचन हुने भएको छ ।
मंगलबार राति अबेरसम्म मनोनयन दर्ता भएकोले बुधबार बिहान मात्र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको छ । त्यस पछि मतदान प्रक्रिया सुरु हुने छ ।
विद्युतीय मेसिनबाट मतदान हुने भयकोले मेसिनमा नाम सेट गर्न समय लाग्ने प्राविधिक टिमले जनाएको छ । नाम सेट गर्नको लागि चार/पाँच घण्टा समय लाग्ने बताइएको छ ।
राति अबेरै भए पनि बुधबार नै मतदानको काम सक्ने योजना रहेको अध्यक्ष मण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो । ‘मतदान गर्न राति भए पनि मेसिनमा हुने भएकोले तत्कालै परिणाम आउँछ, त्यसैले बुधबार नै सबै प्रक्रिया सक्ने योजना बनेको छ’, ढुङ्गेलले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्