बुटवल, २३ कात्तिक । नेकपा एमाले रुपन्देहीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा यही कात्तिक २७ गते एकसाथ महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया थाल्ने भएको छ । एमाले जिल्ला कमिटी रुपन्देहीको आज बुटवलमा बसेको सचिवालय बैठकले जिल्लाका १६ हजार ३१० जना पार्टी सदस्यको संलग्नतामा पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा दलित पार्टी सदस्यको हकमा जिल्लास्तरमा प्रतिनिधि छनौटको प्रक्रिया एकैसाथ अगाडि बढाउने निर्णय गरेको हो ।
सबै निर्वाचन क्षेत्रको तयारीका लागि जिल्ला सदस्य र पालिका पदाधिकारीसमेतको संयुक्त बैठक बसी निर्वाचन कमिटी गठन गर्ने र निर्वाचन केन्द्र तोक्नसमेत निर्देशन दिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिनुभयो । एमाले जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा पुष्पलाल स्मृति भवन बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लीला गिरीले मुलुकको सबैभन्दा सशक्त पार्टी एमाले हो भन्ने कुराको पुष्टि वडा र पालिका अधिवेशनले गरेको बताउनुभयो ।
तोकिएकै समयमा वडा र पालिका स्तरका कमिटीहरूका अधिकांश ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरी सभ्य र भव्य रूपमा अधिवेशन सम्पन्न गरेर पार्टी एकताबद्ध रहेको प्रमाणित भएको पनि उहाँले बताउनुभयो । उहाँले आगामी मुख्य कार्यभारका रूपमा महाधिवेशन सम्पन्न गर्नु र एमालेको आन्तरिक एकतालाई अझ मजबुत भएको प्रमाणित गरेर देखाउनुपर्ने बताउनुभयो ।
बैठकमा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज दधिराम न्यौपाने, सहइन्चार्ज एकराज विश्वकर्मालगायतले पनि बोल्नुभएको थियो । बैठकले बेमौसमी वर्षाका कारण रुपन्देहीमा धानबाली नष्ट भई किसानहरू मर्कामा परेकाले त्यसको यथार्थ विवरण संकलन गरी उचित राहत र क्षतिपूर्ति दिन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ ।
बैठकले प्रदेश कमिटीका सल्लाहकार दुर्गा उपाध्याय, प्रदेश कमिटी सचिव भूमिश्वर ढकालकी आमा गंगा तुलसा ढकाल, प्रदेश कमिटी सदस्य कुमार थापाकी श्रीमती खुमा बुढा र छोरी कृति थापा, जिल्ला निर्वाचन कमिटी सदस्य उमाकान्त बस्यालका बुवा जदुपति बस्याल, प्रदेश कमिटीका सल्लाहकार डोलेन्द्र जिआरकी श्रीमती देउकुमारी गहतराजको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्