जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार ०७:३४

१०औँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छान्दै एमाले


काठमाडौं, कात्तिक २७ । नेकपा (एमाले) आज एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । वडा, नगररगाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०(१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरिसक्नु भएको छ । एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।

एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ। एमाले प्रचार विभागका अनुसार संगठित सदस्यको संख्या आठ लाख नाघिसकेको छ । एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन् ।